शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं- नेपाल प्रहरीले आउँदो हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउन पोलिग्राफिक टेष्ट प्रविधि सुरु गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान पद्धतिलाई बैज्ञानिक बनाउन पोलिग्राफ मेसिन प्रयोग गर्न लागेको जानकारी दिए । ‘अपराध अनुसन्धानलाई बैज्ञानिक र प्रमाणमुखी बनाउने हाम्रो प्रयास जारी रहनेछ । भर्खरैमात्र बैज्ञानिक साधन प्रयोगमा महत्वपूर्ण फड्को मारेका छौं । त्यो भनेको झुठो बोलेको पत्ता लगाउने यन्त्रका रुपमा पोलिग्राफको प्रयोग,’ उनले भने, ‘यसलाई सञ्चालन गर्न हामीले तालिम सञ्चालन गरिसकेका छौं । आगामी हप्तादेखि विभिन्न प्रहरी कार्यालयहरुमा अभियुक्तहरुले पोलिग्राफिक परीक्षणबाट गुज्रनुपर्ने अबस्था सिर्जना गरेका छौं ।’

यो प्रबिधिलाई पहिलो चरणमा केन्द्र्रीय अनुसन्धान ब्युरो सीआईबी र अपराध अनुसन्धान महाशाखामा प्रयोग गर्ने र आवश्यकता हेरेर देशका अरु ठाउँमा पनि लैजान सकिने प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए । अमेरिकी सरकारले नेपाललाई १० वटा पोलिग्राफ मेसिन उपलब्ध गराएको थियो ।

यसलाई सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी अधिकृतहरुलाई तालिम दिइसकेको प्रवक्ता केसीले जानकारी दिए । युरोप तथा अमेरीकी मुलुकबाट सुरुवात भएको पोलिग्राफ मेसिनको माध्यमबाट अनुसन्धान गर्ने पद्धति सुरुवात गर्ने नेपाल दक्षिण एसियामा सबैभन्दा पछिल्लो मुलुक हो । दक्षिण एसियाका अरु सबै देशमा पोलिग्राफ मेसिनबाट अनुसन्धान गर्ने पद्धति सञ्चालन भइसकेको छ ।

तपाईको प्रतिक्रिया