शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो- आइतबार टोकियोमा १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले महिला दिवसको अवसरमा समस्त महिला दिदिबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै महिला सशक्तिकरणको अभियानमा आयोजकहरुको प्रयासको सह्राना र सफलताको कामना गर्नुभयो । उहाँले नेपाली महिलाहरुको सशक्तिकरणका लागि बिगतमा जापानमा भएका योगदानहरुलाई पनि बिर्सन नमिल्ने भएकोले ती सबैलाई समेट्दै अभियानलाई अगाडि बढाईनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बिशेष अतिथि दूतावासका उपनियोग प्रमुख तापस अधिकारीले पनि महिला दिवसको उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको थियो ।

बिभिन्न संघसंस्थामा आबद्ध सक्रिय महिलाहरु रहेको संयुक्त आयोजक समितिको आयोजनामा भएको १०२ औं श्रमिक महिला दिवस समारोहमा महिला श्रष्टाहरुले नारी बेदना र नारी चेतनाका बिषयमा केन्द्रित सिर्जनाहरु वाचन गरेका थिए भने महिला कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रौनकता प्रदान गरेका थिए ।

NDF जापानकी अध्यक्षसमेत रहेकी आयोजक समितिकी संयोजक सिर्जना काफ्लेको सभापतित्वमा भएको सो समारोहमा नारी कुञ्ज जापानकी अध्यक्षसमेत रहेकी नारी सञ्जाल डट कमकी छक्कू उदासीले स्वागत भाषणसहित आफ्ना सिर्जना वाचन गर्नुका साथै राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । यसैगरी चट्टकुमारी पुनले थाली नृत्य गरेकी थिईन् भने उदघोषिकासमेत रहेकी भगवती उप्रेती र राधिका सापकोटाले नारी जागरण सम्बन्धि गीत प्रस्तुत गरेकी थिईन् । यसैगरी अनिता गुरुङ, जीवन अर्याल, पवित्रा अर्याल र तारा आले मगरलगायतका महिला श्रष्टाहरुले आ-आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रममा विभिन्न वक्ताहरुले महिला सशक्तिकरणको आन्दोलनमा जापानका महिलाहरु पनि संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । जापानका नेपाली महिलाहरु बिभिन्न कालखण्डमा बिभिन्नरुपले सक्रिय हुँदै आएको भएपनि त्यसले निरन्तरता पाउन नसकेको सन्दर्भमा आजको महिला दिवसले महिलाहरु निरन्तर क्रियाशील रहन उर्जा प्रदान गरोस् भन्ने कामना गरे । साथै उनीहरुले जापानका महिलाहरु कुनै न कुनै रुपमा संगठित भएर महिला हकहित र अधिकारका लागि सशक्तिकरणको अभियानमा सक्रिय रहिरहनुपर्ने र त्यसका लागि आ-आफु संलग्न संघसंस्थाबाट सक्दो सहयोग र सहकार्य रहने प्रतिबद्धता पनि जाहेर गरेका थिए ।

यसरी आ-आफ्नो धारणासहित शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा एनआरएन आईसीसीका सदस्य अरुणकुमार श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन, एनडिएफ जापानका प्रतिनिधि अर्जुन अधिकारी, आईएनसिजेका अध्यक्ष शालिकराम भण्डारी, नेसाजका उपाध्यक्ष जीवक बज्राचार्य, नेपाली जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, एनआरएन जापानका सल्लाहकार महेश श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापा, प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, एनआरएन जापानका महासचिव डा. राजेन्द्र पराजुली, एनडिएफ कान्तोका अध्यक्ष देवीलाल भण्डारी, सितार समाजकी अध्यक्ष सुष्मा ओमाता, एनआरएन आईसीसीका लागि जापान महिला प्रतिनिधि डा. नम्रता पाण्डेलगायतका थिए ।

कार्यक्रमको समापन मन्तब्यमा सभाकी सभापति सिर्जना काफ्लेले महिला हत्या, हिंसा र अत्याचारको बिरुद्धमा आवाज बुलन्द गर्न र महिला सशक्तिकरणको अभियानलाई अगाडि बढाउन जापानका नेपाली महिलाहरु पनि संगठित हुनुपर्ने आवश्यकता महशुस गर्दै श्रमिक महिला दिवस कार्यक्रममार्फत महिला दिदिबहिनीहरुलाई समेट्ने प्रयास शुरु गरिएको विचार ब्यक्त गरिन् । “महिला आन्दोलनलाई अगाडि बढाउन जापानमा हामी महिलाहरु कुनै न कुनै रुपमा संगठित हुन आवश्यक छ, हामी आपसमा गोलबन्द हुँदै हाम्रा आवाजहरुलाई बुलन्द गर्न चाहान्छौं, यसका लागि यहाँका सबै संघसंस्था, दूतावास र समस्त महिला तथा पुरुषहरुको सहयोग र सहकार्यको अपेक्षा गरेका छौं । महिला चेतना र सशक्तिकरणको अभियानलाई हामी जारी राख्ने छौं, यो हाम्रो पहिलो प्रयास मात्र हो” – काफ्लेले भनिन् ।

महिला दिवस समारोहको प्रारम्भमा गत बर्ष मार्च ११ को महाभूकम्प तथा सुनामीमा परी ज्यान गुमाउने हजारौं ज्ञात-अज्ञात आत्माहरुको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण पनि गरिएको थियो ।

हरेक क्षेत्रमा समान अवसर र उचित वातावरणको निर्माण गरी महिला हकहित र अधिकारका लागि क्रियाशील रहँदै महिला एकताको बिकास गर्न बिश्वभरिका महिलाहरुले मार्च ८ का दिन श्रमिक महिला दिवस मनाईदैं आइएको सन्दर्भमा जापानमा पनि आज अन्तरराष्ट्रिय महिला दिवस मनाईएको हो । स्मरणरहोस्, जापानमा महिला दिवस मनाईएको भने यो पहिलोचोटी हो ।

जापानमा नेपाली महिलाहरु संगठित भएर आफ्नो हक हित र अधिकारका साथै महिला सशक्तिकरणका लागि क्रियाशील रहने जमर्को विगतमा पनि नभएको भने होइन । केहि बर्ष अगाडि गठित दिदिबहिनी समाजले नेपाली समुदायमा केहि कार्यक्रमहरु प्रस्तुत गर्दै महिलाहरु संगठित गर्ने प्रयास गरेको भएता पनि पछिल्ला बर्षहरुमा खासै सक्रियता देखाएको छैन । यसैगरी गत बर्ष मात्रै बिभिन्न संघसंस्थाहरुमा आबद्ध सक्रिय महिलाहरुको संलग्नता रहेको साझा महिला मञ्चकोरुपमा नारी कुञ्ज जापानको गठन गरी नेपाली नारीहरुको महान पर्व तीज कार्यक्रम तामझामकासाथ सम्पन्न गरेको सबैको सामु छर्लङ्ग छ । लगत्तै आज महिला दिवस कार्यक्रमबाट उत्साहित हुँदै महिलाअगुवाहरु फेरि अर्को महिला सँस्था स्थापना गर्नेतर्फ गृहकार्य गर्न थालेको चर्चा छ । यद्यपि, यहाँका अनुभवी तथा भुक्तभोगीहरु भने भईरहेका सँस्थाहरुलाई मलजल गरेर कमीकमजोरी र त्रुटीहरु सच्याउँदै सबैलाई समेटेर पुन सक्रिय गराउने तर्फ लाग्नु नै बुध्दीमानी हुने बताउँछन् । ***

 

 

 

तस्विरहरुः सन्दीप ढुंगाना

 

 

तपाईको प्रतिक्रिया