शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

जापानको दोश्रो ठूलो शहर ओसाकामा रहेका नेपालीहरुले हिजो बिजया दशमीका दिन धुमधामसंग दशैं मनाएका छन् । उनीहरुले नवदर्गा भवानीको पूजाआराधना गरी प्रसादकोरुपमा टीका, जमरा र प्रसाद ग्रहण गर्दै रमाईलो र हर्षोल्लासपूर्ण वातावरणमा दशैं मनाएका हुन् ।

दिनभरको कार्यब्यस्ततापछि साँझ भेला भएका ओसाकाबासी नेपालीहरुले आपसमा शुभकामना आदान प्रदान गरी मान्यजनबाट टीका, जमरा र आशिरबाद ग्रहण गरेका थिए ।

निधारभरि राताम्मे टीका र जमरामा सजिएका नेपालीहरु दशैंजन्य परिकारसहितको रात्रीभोजमा रमाएका थिए । ओसाकास्थित सुरज रेष्टुरेन्ट र देवी रेष्टुरेन्टको ब्यवस्थापनमा खसीको मासु, चिउरालगायतका दशैंजन्य बिभिन्न नेपाली परिकारहरु रहेको रात्रीभोजमा सहभागीहरु नेपालमै रहेको अनुभूति गरेका थिए ।

सो अवसरमा प्रस्तुत गरिएको नेपाली सँस्कृति झल्काउने साँगीतिक कार्यक्रममा सहभागीहरु नाचगान गरी बिहानसम्मै रमाईलो गरेका थिए ।

यसअघि कार्यक्रमका संयोजक ब्यवसायी तुल्सीराम खरेलले सहभागीहरुलाई हार्दिक स्वागत गर्नुकासाथै बडा दशैंको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त दशैं कार्यक्रममा ओसाका क्षेत्रमा रहेका उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

बिदेशमा रहेर पनि आफ्नो चाडपर्व, सँस्कार र नेपालीपनको निरन्तरता दिदैं ओसाकामा रहेका नेपालीहरुले हरेक बर्ष यसैगरी दशैंलगायत बिभिन्न नेपाली पर्वहरु मनाउँदै आएका छन् ।

फोटो फिचर हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया