शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपाली राजदूतावास टोकियो जापानले आइतवार एक समारोहको आयोजना गरी जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको बिदाई गर्नुकासाथै दशैं भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो समारोहमा आफ्नो चार बर्षो कार्यकाल पूरा गरी स्वदेश फ़र्कन लाग्नुभएका राजदूत डा. तामाङको बिदाई गरियो । राजदूत डा. योञ्जन र उहाँकी धर्मपत्नी मीना तामाङलाई दूतावासका उपनियोग प्रमुख डा. दर्गाबहादुर सुबेदी क्षेत्री र उहाँकी धर्मपत्नीले खादा तथा फूलको गुच्छाले बिदाई गर्नुभएको थियो । सो अवसरमा राजदूत दम्पतीलाई जापानबासी बिभिन्न क्षेत्रका नेपालीहरुले पनि बिदाई गरेका थिए ।

यसअघि समारोहमा बोल्दै उपनियोग प्रमुख डा. सुबेदी क्षेत्रीले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्नुभयो । उहाँले राजदूत डा. तामाङको कार्यकालको समिक्षा गर्दै बिगत चार बर्षमा नेपाल र जापान दूवै देशमा बिद्यमान अत्यन्तै राजनैतिक तरल अवस्थामा पनि जापानबाट नेपालका लागि हुने सहयोग, सदभाव र सदासयतामा कुनै कमी आउन नदिनु नै राजदूत डा. तामाङको कार्यकाल सफल रहेको प्रमाण भएको बिचार ब्यक्त गर्नुभयो । उहाँले उक्त अवधिमा दूवै देशमा बिभिन्न खालका दैवीप्रकोपजन्य घटना घटेको, नेपालमा ५, ५ जना प्रधानमन्त्री र परराष्ट्रमन्त्री र जापानमा ५ जना प्रधानमन्त्री र ६ जना परराष्ट्रमन्त्री फेरिएका जस्ता अनिश्चित अवस्थामा पनि राजदूत डा. तामाङले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिदैं आगामी दिनहरुमा पनि उहाँको अनुभव र कार्यकुशलतालाई मुलुकको हित हुने कार्यमा उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी बिदाई तथा दशैं समारोहमा बोल्दै राजदूत डा. तामाङले बडा दशैले नेपालीहरुमा सामाजिक, साँस्कृतिक र भौगोलिक एकताको सन्देश प्रबाह गर्ने हुँदा यो पर्व सदियौंदेखि नेपाली समाजमा महत्वपूर्ण पर्वकोरुपमा मनाईदै आएको बिचार ब्यक्त गर्नुभयो ।उहाँले दशैं पर्वको बिशेषताबारे चर्चा गर्दै यो पर्व कुनै एकल धर्म, जाती र सम्प्रदायको मात्र नभएर सबै नेपालीको साझा पर्व भएको र सोहीअनुरुप मनाईदै आएको बिचार ब्यक्त गर्दै यस अवसरमा सबै नेपाली दाजुभाई तथा दिदिबहिनी, जापानी मित्रहरु सबैमा हार्दिक शुभकामना ब्यक्त गर्नुभयो । उहाँले नेपाल र जापान दूवै मुलुकमा बिद्यमान बिषम परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्नका लागि बिभिन्न ढंगले सहयोग गर्ने सबैप्रति हार्दिक धन्यबाद ब्यक्त गर्दै जापानमा सिकेका, भोगेका र अनुभव गरेका सकारात्मक कुराहरुलाई मुलुक निर्माणमा उपयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

राजदूत निवास नाकामेगुरो टोकियोमा भएको सो कार्यक्रममा जापानमा रहेको नेपाली समुदायका बिभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने उल्लेख्य नेपाली तथा जापानीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माया नेपाली संगीत संस्थाको संयोजनमा जापानी कलाकारहरुले नेपाली सँस्कृति झल्काउने बिभिन्न खालका नृत्य प्रस्तुत गरेर मनारञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन तथा भाषानुवाद जिज्ञानकुमार थापाले गरेका थिए । औपचारिक समारोह पछि कार्यक्रम रात्रीभोजमा परिणत भएको थियो ।***




 

तपाईको प्रतिक्रिया