Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – पछिल्लो समय जापान जान चाहने नेपालीहरूको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । चाहे विद्यार्थी भिसा होस् वा वर्किङ भिसा, जापान पुग्ने नेपालीहरूको लहर नै लागेको छ । तर कामदारका रूपमा जापान जानका लागि लिइने भाषा परीक्षाको पारदर्शितामाथि भने गम्भीर प्रश्न उठेको छ ।

यो परीक्षा जाइका अलुमनाई एसोसिएसन नेपाल (जान)ले सञ्चालन गर्दै आएको छ । धेरैजसो परीक्षार्थीले बारम्बार प्रयास गर्दा पनि परीक्षा पास गर्न नसकेको र यसले उनीहरूको समय र खर्च दुवैमा थप बोझ परेको गुनासो गरेका छन् । सरकारले जानलाई १४ वर्षअघि जापान जाने कामदारका लागि भाषा परीक्षा सञ्चालन गर्ने अधिकार दिएको थियो । यसले पाँचौँ तहको जापानी भाषा परीक्षा सञ्चालन गर्दै आएको छ, जुन जापान जानुअघि कामदारहरूले पास गर्नैपर्ने बाध्यता हो । तर, परीक्षार्थीहरू पटक-पटक असफल हुने गरेको तथ्यले यो प्रक्रियाप्रति शंका पैदा गरेको छ ।

वैदेशिक रोजगार विभागका अधिकारीहरूले परीक्षार्थीहरू पाँच पटकसम्म फेल भएको घटनालाई यस समस्याको प्रमाणका रूपमा उल्लेख गरेका छन् । परीक्षामा फेल भएका कारण भिसा प्राप्त गरेका कामदारहरू पनि जापान जान नपाएको गुनासो व्यापक छ । जानले सञ्चालन गर्ने परीक्षाको प्रक्रियामा पारदर्शिताको अभाव रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । उनका अनुसार यसले कामदारहरूको भविष्यमा अनावश्यक संकट निम्त्याएको छ ।

भाषा परीक्षाको पारदर्शिताका विषयमा परीक्षार्थीले प्रश्न उठाउने गरेको उनले बताए । ‘जापान जाने कामदारको संख्या बढ्दो छ । भाषा परीक्षामा फेल हुँदा भिसा लागेका कामदार पनि रोकिँदै आएका छन्,’ महासचिव भुर्तेलले भने, ‘व्यवसायीहरूले अन्य संस्थालाई पनि भाषा परीक्षा सञ्चालन गर्ने अनुमति दिनुपर्ने माग गरेका छन्, ताकि प्रतिस्पर्धात्मक र पारदर्शी वातावरण सिर्जना होस् ।’

परीक्षामा फेल भएका कामदारहरूले पुनः परीक्षा दिनका लागि १५ दिनसम्म कुर्नुपर्ने बाध्यता छ, जुन जापानी नियमसँग मेल खाँदैन । जापानमा फेल भएमा तीन दिनभित्र पुनः परीक्षा दिने प्रावधान भए पनि नेपालमा यो व्यवस्था लागू नगरिँदा परीक्षार्थीहरू समयको ठूलो खेर खर्च गर्न बाध्य छन् । भिसा लागिसकेपछि तीन महिनाभित्र जापान पुग्नुपर्ने प्रावधान छ, तर भाषा परीक्षामा असफलताले गर्दा कामदारहरूले आफ्ना यात्रा योजना र काम गर्ने अवसर गुमाउनुपरेको छ ।

यो पनि : नेपाल सरकारको ढिलासुस्तीका कारण जापानले जिट्कोमार्फत कामदार नल्याउने खतरा बढ्‌यो

जानका अध्यक्ष रामचन्द्र भुसालले भने परीक्षा सञ्चालनमा कुनै पनि खोट नरहेको र यसले सरकारी मापदण्डको पूर्ण पालना गरेको दाबी गरेका छन् । उनका अनुसार जानले परीक्षार्थीलाई निःशुल्क पुनः परीक्षा दिनेसम्मको सुविधा उपलब्ध गराउँदै आएको छ । ‘परीक्षार्थीको कमजोरीकै कारण असफल हुने गर्छन्,’ उनले भने, ‘हाम्रो संस्था दक्ष भाषा शिक्षकहरूसँग काम गर्दै आएको छ र परीक्षा पूर्ण रूपमा पारदर्शी छ ।’

जापानी भाषा परीक्षाका लागि जानलाई एकपटकमा ३ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । जापानी भाषा परीक्षामा मासिक दुई सयभन्दा बढी नेपाली सहभागी हुने गरेको विभागले जनाएको छ । यसरी लिने परीक्षामा एकपटकमा ६० प्रतिशत उत्तीर्ण हुन्छन् । बाँकी ४० प्रतिशत परीक्षार्थी फेल हुने गरेको म्यानपावर व्यवसायी बताउँछन् । वैदेशिक रोजगार व्यवसाय संघका महासचिव भुर्तेलले भने, ‘सरकारले यो संस्थामाथि गम्भीर निगरानी गर्नुपर्छ । जानका कारण कतिपय भिसा लागेका नेपाली कामदार जापान उड्न पाएका छैन ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया