समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीहरूलाई नेपालका ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन्।
भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) को उद्घाटन गर्दै उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनका लागि उदार नीति अपनाएको बताइन्। मन्त्री राणाले नेपालमा लगानीका लागि अनुकूल वातावरण तयार भएको र उच्च प्रतिफलको सम्भावना रहेको उल्लेख गरिन्। नेपालले ‘बीबी माइनस’ (डबल बी माइनस) क्रेडिट रेटिङ प्राप्त गर्दै लगानी प्रोत्साहनका लागि आकर्षक नीतिहरू लागू गरिरहेको जानकारी गराइन्।
उनले नेपाल–भारत सम्बन्धलाई आर्थिक क्षेत्रसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन्। मन्त्री राणाले दुई देशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै, यो सम्बन्ध कागजी सम्झौताभन्दा पर र दुई देशका जनताको हृदयबाट जोडिएको बताइन्। साथै, उनले दक्षिण एशियामा नेपाल–भारत सम्बन्धलाई क्षेत्रीय सहकार्यका लागि एक उदाहरणीय मोडेलको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरिन्।