Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टी प्रतिकूल अवस्थामा पनि सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेकाले ठूला परिवर्तनको नेतृत्व गर्न सफल भएको बताउनुभएको छ । नेपाली काँग्रेस १३औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो महाधिवेशनले समयको हाँकलाई लैजान सक्ने पार्टीको नीति र कार्यक्रम बनाउनुपर्छ, संस्थापक नेताको नाम भजाएरमात्र जनताले काँग्रेसलाई पत्याउँदैनन ।”
राजनीतिक परिवर्तनलाई दीर्घकालीन बनाउन देशको साधन र स्रोतलाई उपयोग गरेर आर्थिक क्रान्ति गरिनुपर्नेमा उहाँको जोड थियो । विसं २०४६ को परिवर्तनपछि आन्दोलनका कमाण्डर गणेशमान सिंहले पनि खुलामञ्चबाटै आर्थिक क्रान्तिबाट जनताको जीवनस्तर सुध्रिएमात्र परिवर्तनले संस्थागत रुप लिनसक्ने बताउनुभएको थियो । उखान टुक्काले देशका समस्या समाधान हुन नसक्ने प्रमाणित भएकाले मुलुक चलाउन सक्ने नीति महाधिवेशनले निर्माण गर्ने महामन्त्री सिंहको भनाइ थियो ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनौतीपूर्ण अवस्थाबाट मुलुक गुज्रिएकाले त्यसको सामना गर्ने नीति निर्माण गर्न महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो । “गिरिजाप्रसाद कोइरालाको कार्यदिशाबाट दिगो शान्ति र सुशील कोइरालाको कार्यदिशाबाट देशले संविधान पाएकाले त्यसलाई संस्थागत गर्ने कार्यदिशा यो महाधिवेशनले पारित गर्नुपर्छ”–उहाँले भन्नुभयो ।
सङ्कीर्ण चित्तले नेपाल बन्न नसक्ने भएकाले सबै मिलेर जाने गरी नीति निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो । “पार्टीको सोच र शैलीलाई समीक्षा गर्ने दिन आएको छ, यी विषयमा महाधिवेशनले मूल्याङ्कन गर्न सक्नुपर्छ”– उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया