आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

JB Shahi 1एनआरएन जापानको आगामी कार्यकाल (२०१५-२०१७) को लागि चुनावको मिति नजिकिंदैं जाँदा अर्थात निर्वाचनको तालिका पनि आईसकेको अवस्थामा म एउटा सामान्य गैरआबासीय नेपालीको नाताले यसको चहल पहललाई बडो उक्सुकताका साथ हेरिरहेको छु । बिभिन्न मिडिया र खासगरी सामाजिक सञ्जालहरुमा चर्चा परिचर्चा बाक्लिएका छन् । यसले मलाई के लाग्छ भने केही हदसम्म भए पनि हामी र हाम्रो सामाजमा सोच, र्इच्छा, अभिब्यक्ति र मुल्याङ्कनमा परिबर्तन आएको छ । जापानको अति ब्यस्त दैनिकीमा पनि कुनै न कुनै माध्यमबाट यस्ता बहस र छलफलमा हामी नेपाली जोडिएका छौ जुन अहिलेको परिबर्तनशील सामाज वा दुनियाँमा सक्रिय सहभागिता भन्दा फरक नपर्ला, तथापि संख्यात्मक हिसाबले यो अति न्यून किन नहोस ।

माथि भनिएझैं आगामी चुनाव, यसका प्रतिस्पर्धी भनौं या समग्र एनआरएन अभियानका बारेमा हरेक ब्यक्तिका आ-आफ्नै बुझाई, बिचार, मुल्याङ्कन र बिश्लेषण भएजस्तै मेरो पनि ब्यक्तिगत बुझाई, धारणा र बिचारलाई जापानबासी सर्बसाधारण गैरआवासीय नेपालीहरुलाई केन्द्रमा राखी सकारात्मक ढंगले ब्यक्त गर्न गईरहेको छु ।

सर्बप्रथम त एनआरएन अभियानको कुरा गर्दा सन् २००५ को २० जनवरी देखि २३ जनवरी सम्म कतारको दोहामा भएको पहिलो एनआरएनए क्षेत्रीय सम्मेलन र २३ औं आइसीसी बैठकको झट्ट याद आउँछ जतिबेला म एक सामाजिक संस्थाको तर्फबाट सो सम्मेलनमा सहभागी हुने अवसर पाएको थिएँ । तत्पश्चात ‘नेपालीका लागी नेपाली’ भन्ने नाराका साथ स्थापना भएको एनआरएनको उद्देश्य खास गरी सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरु र नेपालीहरुका स्थानीय संघसंस्थाहरुबीच समन्वय र सहकार्य गदै उनीहरुको हक र हितका लागि अभिभावकीय भूमिका निभाउनुका साथै अन्य बिभिन्न माध्यमबाट नेपाल र नेपालीको बिकास र उन्नतीका लागी महत्वपूर्ण भूमिका निभाउनु हो भन्ने बुझेको थिएँ । सन् २००५ बाट २०१५ सम्म आईपुग्दासम्म पनि मलाई एनआरएनको सबैभन्दा पहिलो र प्रमुख उद्देश्य पनि यही हो भन्ने लागेको छ ।

यहाँनेर विचारणीय कुरो के भने एनसीसी जापानको आगामी कार्यकालका प्रत्यासीहरुका एजेण्डा, मुद्दा या प्रतिबद्धताहरु एनआरएनको उद्देश्य अनुरुप आएका छन् या छैनन् त्यो महत्वपूर्ण पक्ष हो । सामान्य भाषामा भन्नुपर्दा म जस्ता सामान्य ४५, ५० हजार गैरआवासीय नेपालीहरुको एनआरएनप्रतिको अपेक्षा उनीहरुका प्रतिबद्धतामा कति समेटिए वा समेटिएनन् अर्थात उनीहरुका मुद्धा सम्बोधन भएका छन कि छैनन् भन्ने हो । यसको अर्थ यो हैन कि एनआरएन जापानले ४५, ५० हजार नेपालीको चौकीदारी गरिराखोस् मेरो मतलव यो हो कि यहाँका हजारौं नेपालीहरुको अभिभावकीय भूमिका निभाउनका लागि कमसेकम तिनीहरुका सामान्य कुरामा पनि ख्याल गरोस् भन्ने हो ।
केहि दिन अगाडि मात्र मैले जापानका एक जना अग्रजले यसै सम्बन्धमा लेखेको बिश्लेषणात्मक लेख पढेको थिए जसमा सुरुवातीकाल देखिको एनआरएन जापान र यसको नेतृत्वकर्ताको गहन बिश्लेषण गरिएको थियो । सांगठानिकरुपमा संस्थालाई स्थापित गर्न र बिस्तार गर्न यसका अभियान्ताहरुले निकै मिहेनत गरिएको भए पनि बास्तवमै जापानमा रहेका सर्बसाधारण नेपालीहरुका समस्या सम्बोधन गर्न उल्लेखनीय कार्य भएको देखिदैन । त्यसैले अहिले पनि उम्मेदवारहरुले अगाडि सारेका मुद्दाहरु कतै गौण त छैनन्, कतै आगामी कार्यकालको नेतृत्व पनि ठुला कार्य गर्ने सपनामा बास्तविक धरातललाई भुलेर फेरी एकपटक सफल नेतृत्व बन्नबाट चुक्ने त हैन भन्ने हो ।
एनआरएन जापान मात्र नभएर एनआरएन गठन भएका हरेक देशका एनसीसीहरुको सबैभन्दा ठुलो चुनौती भनेको त्यहाँ रहेका सर्बसाधारण गैरआवासीय नेपालीका लागि ठोस कार्य गर्न नसक्नु, उनीहरुमा रहेको संस्थाप्रतिको सोचमा परिवर्तन ल्याउन नसक्नु र संस्थामा आबद्द गराउन नसक्नु रहेको छ । त्यही चुनौती एनआरएन जापानमा पनि रहेको मैले महशुस गरेको छु । त्यसैको परिणाम नै हो ४५, ५० हजार नेपालीहरु रहेको जापानमा मुश्किलले ४ हजार ३ सयको संख्यामा सदस्य सीमित हुनुको विडम्वना ।

समाजमा परिबर्तन ल्याउन अथवा समाजको सोचमा परिबर्तन ल्याउन स-साना काम गर्दै र सुल्झाउदै ठुला कार्यको आधार खडा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तसर्थ आगामी नेतृत्वले केही सामान्य तर महत्वपूर्ण पक्षलाई अति नै गम्भीररुपले लिनुपर्ने मैले ठानेको छु । जस्तै हाल जापानमा ५० हजारको हाराहारीमा रहेको नेपाली सामुदाय मध्य कतिजनालाई गैरआवासीय नेपाली संघ के हो ? यो संस्थाले के गर्दछ ? यसका उदेश्य के के हुन् ? आम जनमानसमा यो संस्थाप्रतिको धारणा कस्तो छ ? यति ठुलो समुदायको बास्तविक समस्या चुनौती के कस्ता छन् र यो संस्थाबाट यहाँको समुदायले के कस्ता अपेक्षा राख्दछन् ? यिनै महत्वपूर्ण पक्षलाई गहनरुपमा लिन जरुरी छ । सामान्य लागे पनि शायद महत्वपूर्ण पाटो यिनै हुन् जसलाई गम्भीररुपले लिन नसक्दा वा कार्यान्वयन गर्ने संयन्त्र नहुँदा दशकभन्दा पुरानो संस्थामा करिव ४ हजारभन्दा बढि नेपालीको पहुँच नरहेको देखिन्छ । संस्थाप्रतिको धारणा, सोचाई र बिचारमा सकारात्मक सोंच पैदा गर्न नसक्नु र केही सीमित ब्यक्ति वा समुहमा निर्भर रहनु, एनआरएन जस्तो मुल संस्था सबैको साझा संस्था हुन नसक्नु, संस्थाको आर्थिक पक्ष साह्रै कमजोर हुनु, अन्य संघसंस्थाहरुसंग पर्याप्त समन्वय नहुनु जस्ता कमिकमजोरीहरुलाई आत्मसाथ गर्दै आगामी नेतृत्वले सर्बप्रथम यिनै समस्या समाधानका उपायहरु खोज्न जरुरी छ । एनआरएन जापानको आगामी कार्यकालका लागि आउने टिमले जापानबासी सर्बसाधारण नेपालीहरुलाई लक्षित गरी आफ्नो कार्यकालमा कमसेकम करिव ४० देखि ५० प्रतिशत नेपालीलाई एनआरएन जापानमा आबद्द गराउन सक्नुपर्दछ । त्यसका लागि अहिलेसम्मकै सफल कार्यकाल बनाउँछु भन्ने दृढ सोंच, बिचार र ईच्छाशक्तिका साथ कुनै वर्ग, क्षेत्र-भेग, जाति, धर्म, बर्ण, लिंग, पार्टी र ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सबैभन्दा ठुलो र राम्रो एनसीसी बनाउने प्रण गर्नुपर्दछ । जसले गर्दा जापानले एउटा अलगै इतिहास रच्न सकोस् र स्वदेशमा लगानी भित्र्याउने, पर्यटन तथा साँस्कृतिक प्रबर्धन गरी मुलुकको समृद्धिमा टेवा पुर्‍याउने लगायतका एनआरएनको उदेश्यमा प्रत्यक्ष सघाउ पुगोस् । त्यसैले एनआरएन अभियानका यस प्रकारका क्रियाकलापमा जति धेरै गैरआवासीय नेपालीहरुको सहभागीता बढाउन सक्यो त्यति नै नेपाल र नेपालीको भलो हुने कुरालाई मनन गर्दै सदस्यता वितरण प्रणालीलाई बैज्ञानिक, ब्यवहारिक र सरलीकृत गराउन आगामी नेतृत्वले बेलैमा योजनाबद्ध ढंगले लाग्नुपर्ने देखिन्छ ।*****

तपाईको प्रतिक्रिया