बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

२०७२ वैशाख १२, १३ र २९ का विनाशकारी भूकम्प र त्यसयता पटक–पटक भोग्नुपरेका पराकम्पनहरूका कारण सिंगो नेपाली समाज अकल्पनीय क्षति र पीडा भोग्न अभिशप्त छ । भूकम्पले करिब ८ लाख घर भत्किएका, ८ हजारभन्दा बढी विद्यालय भवनहरू क्षतिग्रस्त बनेका र खर्बौंको धनमाल एवम् राष्ट्रिय सम्पत्ति विनाश भएको अवस्था छ । नौ हजारको हाराहारीमा मानिसहरूले ज्यान गुमाउनुका साथै २२ हजारभन्दा बढी संख्यामा घाइते र अंगभंग भएर दुःख खेप्न बाध्य हुनुपरेको छ । विगत झन्डै एक शताब्दीयता यो नेपालीहरूले भोग्नुपरेको अत्यन्त ठूलो विपद् हो ।

हामीले आँट र हिम्मत गरेर राष्ट्रको नवनिर्माण गर्नसक्छौं, हामीले गर्न खोज्दा यो सम्भव छ । संकटको यस घडीमा पीडित जनसमुदायहरू कोही–कसैले एक्लो, असहाय र निरीह महसुस गर्न जरुरी छैन भन्ने दृष्टान्त यस अभियानमार्फत् हामीले प्रस्तुत गरेका छौं

भूकम्प आएलगत्तै प्रभावित जिल्ला, गाउँ र विभिन्न ठाउँहरूमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको खाँचो थियो । विपद्का अनुपातमा हाम्रो सरकारको पूर्व तयारी र व्यवस्थापन कमजोर सावित भयो । आफूलाई विपत्ति आइपर्दा पीडितजनले राजनीतिक दलहरू र तिनका नेता–कार्यकर्ताहरूप्रति आशाको नजरले हेर्नु एकदमै स्वभाविक थियो । राजनीतिक दल र तिनका नेता–कार्यकर्ताहरू स्वयम् पनि भूकम्प प्रभावित थिए ।

त्यसैले सुरु–सुरुमा राजनीतिक तहबाट पर्याप्त जिम्मेवारीबोध र भूमिका प्रदर्शन हुन नसकेको गुनासो पनि विद्यमान थियो । यद्यपि हाम्रो पार्टीले भूकम्पलगत्तै आमपंक्तिलाई उद्धारमा जुट्न आह्वान गर्नुका साथै पार्टी स्थायी कमिटीको आकस्मिक बैठक नै बसेर वैशाख १३ देखि नै उद्धार, राहत र पुनःस्थापनाको कामलाई व्यवस्थित, योजनाबद्ध र संस्थागतढंगले अघि बढाउने पहलकदमी लिएको सर्वविदितै छ । उद्धार र तत्कालीन राहतको काम प्रभावकारी बनाउन सरकारसमक्ष १० बुँदे राहतको प्याकेज घोषणाको सुझावका साथ हाम्रो पार्टीले पीडित जनताको दुःखमा मल्हमपट्टी गर्न अग्रसरता लिएको तथ्य जगजाहेर नै छ ।

राष्ट्रिय स्वयंसेवक परिचालन अभियान किन ?
भूकम्प प्रभावित र पीडितहरूलाई लक्षित गरी हाम्रो पार्टीले वैशाख २० गते १२ बुँदे प्रस्ताव पारित गरी संस्थागत रूपमा स्वयंसेवा र स्वयंसेवक परिचालनमा जोड दिएको थियो । यद्यपि यो काम हामीले सरकारको तर्फबाट संचालन गर्नुपर्ने र राष्ट्रिय झन्डा फहराउँदै पीडितजनलाई सघाउनुपर्ने पक्षमा सकेसम्म प्रयास गर्‍यौं । तर त्यसको औचित्य र महत्वलाई सरकारले समयमै स्वीकारेर अघि बढ्न सकेन र चुक्यो ।

जब सरकारको तर्फबाट यो काम अघि नबढ्ने प्रायः निश्चितजस्तै भयो, त्यतिञ्जेल हाम्रा निम्ति समेत अभियान सञ्चालन गर्न केही ढिलो भइसकेको थियो । वैशाख २२ देखि जेठको सुरुवातसम्मै हामीले यो अभियानलाई सरकारको नेतृत्वमा साझा राष्ट्रिय अभियान बनाउने प्रयत्न गरिरह्यौं, तर सम्भव भएन ।

यो अभियानअन्तर्गत ओखलढुंगा र सोलुखुम्बुका जनताले पीडा र दुःख खेप्दा सिरहा, सप्तरी, उदयपुर र इलामका सहयोगी हातहरू सेवामा पुगेका छन्, रामेछापबासीलाई आपत्–बिपद् पर्दा स्वयम् अविकासको दुश्चक्रमा पिल्सिरहेका कर्णालीबासीहरू निकै लामो दूरी पार गरी सहयोग गर्न पुग्नुभएको छ, ताप्लेजुङ–झापाका नेता–कार्यकर्ताहरूले भक्तपुरका दुःख र समस्यामा परेका व्यक्तिहरूलाई सघाउनुभएको छ ।

तत्पश्चात् हाम्रो पार्टीले ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’ सञ्चालनको निर्णय गरी वैशाख २२ मा गठित स्वयंसेवक परिचालन समितिको विस्तार गरेर जेठ ३ गते राष्ट्रिय स्वयंसेवक परिचालन कमिटी गठन गर्‍यो । जेठ ७ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरी १० गते भृकुटीमण्डप, काठमाडौंको यही स्थानबाट हामीले १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा केन्द्रीकृत रूपमा स्वयंसेवक टोलीहरू बिदाई गर्‍यौं । पछि ८ जिल्लाका १५ निर्वाचन क्षेत्रहरूमा थप गरी हाम्रो अभियान २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रहरूमा विस्तार भयो ।

त्यसैबीच ताप्लेजुङका केही गाविसहरूमा आएको भीषण पहिरोका पीडितहरूका निम्ति तत्काल परिचालित स्वयंसेवक टोलीले प्रभावित गाउँहरूमै पुगेर उद्धार र राहत वितरणको कार्य गरेको छ । यसरी राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत २६ जिल्लाका ७७ निर्वाचन क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको निम्ति हामीले एक महिना लामो स्वयंसेवा र जनसहयोगको गौरवशाली कार्य गरेका छौं । समकालीन नेपाली राजनीति र हाम्रो पार्टीको आफ्नै इतिहासमा यस अभियानले बेग्लै महत्व राख्दछ । यसको अमीट छाप र प्रभाव समग्र भूकम्प पीडितहरूले अनुभव र आत्मसात् गरिरहनुभएको छ ।

पूँजीवादी उपभोक्तावादी बनिरहेको नेपाली समाजले यसका निर्दयी परिणामहरू सँगसँगै खेपिरहेको छ । विपद्को घडीमा समेत पीडितहरूलाई राहत पुर्‍याउने होइन, उल्टै आहत पार्ने, आफ्ना तुच्छ स्वार्थहरूका लागि ठगी, कालोबजारी, भ्रष्टाचार र कृत्रिम अभाव सिर्जना गर्न पछि नपर्ने रवैयासमेत यसबीचमा नदेखिएका होइनन्

यस अभियानको सिलसिलामा हामीले युवा संघ नेपाल उपत्यकाका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुमायौं । हामी उहाँप्रति सम्मान र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै, पाँच दर्जनभन्दा बढी स्वयंसेवकहरू कार्यक्षेत्रमा जोखिमपूर्ण काम गर्दा गम्भीर घाइते हुनुभएको छ । हामी उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

नवनिर्माणको आधारशीला
हाम्रो अभियान भूकम्पपीडित जनसमुदायको लागि छानो, मानो र न्यानोको अस्थायी प्रबन्ध मिलाउन सञ्चालन भएको विदितै छ । ‘नेपाली योजना, अन्तर्राष्ट्रिय साथः राज्यको नेतृत्व हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ अभियान सञ्चालनसम्बन्धी छुट्टै निर्देशिका नै जारी गरेर हामी यो विशेष स्वयम्सेवामा जुटेका थियौं ।

विगत एक महिनाको कामलाई फर्केर हेर्दा हाम्रा स्वयंसेवकहरूको खटन अथक, अनुकरणीय र निरन्तर मात्रै रहेन, प्रभावित क्षेत्रभरि मैदानमा हाम्रो पार्टी सबैका लागि पे्ररक र अग्रणीजस्तै दृष्टान्त बन्न सफल भएको छ ।

हामीले अस्थायी घर, टहरा, विद्यालय भवन आदिको निर्माणमा जोड दिंदादिंदै हाम्रा स्वयंसेवकहरूले थुप्रै उच्च जोखिमयुक्त धराप हटाउने, भग्नावशेष सफाई गर्ने, अबरुद्ध बाटो खुलाउने, विद्यालयहरूलाई पठनपाठनयोग्य बनाउने, सामुदायिक भवन, आमा समूह, गाविस भवन र स्वास्थ्यचौकीहरू सञ्चालनयोग्य बनाउनेजस्ता उदाहरणीय कामहरू गर्नुभएको छ ।

ऐतिहासिक-पुरातात्विक र विश्व सम्पदा सूचीका पर्यटकीय गन्तव्यहरू स्वयम्भुनाथ, बसन्तपुर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बटुकभैरव, बुंगमतीआदि स्थानमा हाम्रा स्वयंसेवकहरूले धेरैपटक र महत्वपूर्ण योगदान गर्नुभएको छ । सबभन्दा धेरै जोखिमयुक्त संरचना हटाउने र भत्काउने काममा विशेषतः काठमाडौं, ललितपुर र भक्तपुरमा खटिनुभएका स्वयंसेवकहरूले अतुलनीय श्रमदान गर्नुभएको छ । अन्य जिल्लाहरूमा यो अभियान जनताको अस्थायी घर र विद्यालय भवन निर्माणमा बढी केन्द्रित भएको छ ।

यसरी हाम्रो यो अभियान पुनःनिर्माण र नवनिर्माणको महत्वपूर्ण सहयोगी बनेको छ । यस अभियानकै क्रममा हामीले प्रभावित क्षेत्रहरूमा उल्लेख्य परिमाणमा खाद्यान्न र त्रिपाल पुर्‍याउनुका साथै स्वास्थ्य शिविर सञ्चालन गर्ने र शैक्षिक सामग्रीहरू पुर्‍याउने काम पनि गरेका छौं । अभियानको क्रममा एक हजारभन्दा बढी शिक्षक, स्वास्थ्यकर्मी र मनोपरामर्शकर्मीहरूले भूकम्प प्रभावित जिल्लाका विद्यालयहरूमा मनोपरामर्श सेवा प्रदान गर्नुभएको छ ।

यसबाट विद्यालयहरूमा नियमित पठनपाठनको वातावरण व्यवस्थित गर्न तथा विद्यार्थी र शिक्षकहरूलाई अध्ययन-अध्यापनमा केन्द्रित गराउन महत्वपूर्ण सहयोग पुगेको छ । समग्रमा यस अभियानको अवधिमा नयाँ अस्थायी घर २७,२७१ वटा निर्माण गरिएको छ, जोखिमयुक्त २२,६३० घरको भग्नावशेष हटाएर सफाई गरिएको छ । १,०१३ वटा विद्यालय-क्याम्पसहरूका अस्थायी भवन बनाइएको छ ।

यीमध्ये कतिपय संरचना त धेरै लामो समयसम्म काम लाग्ने स्थायी प्रकृतिका जस्ता छन् । मठ, मन्दिर र ऐतिहासिक स्थलहरूमा सफाई गरी भग्नावशेष हटाउने काम गरेर हामीले एकातिर हाम्रा पुर्खाहरूको पौरखका प्रतीकहरूको संरक्षण, संबद्र्धन र पुरातात्विक सम्पदाहरूको महत्वलाई आत्मसात् गरेका छौं । साथसाथै नेपाली संरचनाहरूको ऐतिहासिक मौलिकतालाई जोगाएर नेपालीहरूले आफै बनाउनुपर्छ, जो नेपालको पहिचान, गौरव र पर्यटन प्रबद्र्धनका आधारस्तम्भहरू हुन् भन्ने सन्देशसमेत प्रवाह गरेका छौं ।

देशका प्रमुख पर्यटकीय गन्तव्यहरू हनुमानढोका–ठमेल, लुम्बिनी, जनकपुर, पोखरा, स्वर्गद्वारी, हलेसी आदिमा ‘विशेष पर्यटन प्रबद्र्धन कार्यक्रम’ सञ्चालन गरेर हामीले यस अभियानको क्रममा ‘नेपाल पर्यटकहरूका लागि सुरक्षित छ, हाम्रा गन्तव्यहरू खुला छन्’ भन्ने उद्घोषसमेत गरेका छौं ।

जनस्तरमा परस्पर सहयोग : सुदृढ राष्ट्रिय एकता
यो अभियानअन्तर्गत ओखलढुंगा र सोलुखुम्बुका जनताले पीडा र दुःख खेप्दा सिरहा, सप्तरी, उदयपुर र इलामका सहयोगी हातहरू सेवामा पुगेका छन्, रामेछापबासीलाई आपत्–बिपद् पर्दा स्वयम् अविकासको दुश्चक्रमा पिल्सिरहेका कर्णालीबासीहरू निकै लामो दूरी पार गरी सहयोग गर्न पुग्नुभएको छ, ताप्लेजुङ–झापाका नेता–कार्यकर्ताहरूले भक्तपुरका दुःख र समस्यामा परेका व्यक्तिहरूलाई सघाउनुभएको छ ।
राप्ती र भेरीका स्वयंसेवकहरू सिन्धुपाल्चोक र दोलखाका अत्यन्त आहत मनहरूमा विश्वास, ऊर्जा र उत्साह भर्न सक्रिय र समर्पित हुनुभएको छ । लुम्बिनीका कमरेडहरूले धादिङको विकट क्षेत्र नं. १ र रसुवाका बस्तीहरूमा पुगेर पीडितजनको सेवा गर्नुभएको छ । यहीक्रममा कोशी र कैलालीका सहृदयी मनहरूले धादिङबासीका टुट्न लागेका मनमा आशा, विश्वास र भरोसा भर्नुभएको छ ।

कञ्चनपुरबाट नुवाकोट पुगेर तथा रौतहट, धनुषा, महोत्तरी र सर्लाहीका मित्रहरू सिन्धुली र मकवानपुरका बस्तीहरूमा पुगेर नवनिर्माणको पक्षमा आशाको दियो बाल्ने काम गर्नुभयो । कास्कीबाट गोरखा तथा सुगम चितवन र मकवानपुरबाट विकट चितवन र मकवानपुरमा पुगेर स्वयंसेवकहरू अहोरात्र खट्नुभयो । जनस्तरको यो पारस्परिक सहयोग र सम्मान नै हाम्रो सुदृढ राष्ट्रिय एकताको आधार हो । यो तथ्य र दृष्टान्त हाम्रा स्वयंसेवकहरूले आफ्नो व्यवहारमा नै प्रस्तुत गर्नुभएको छ । स्वयंसेवकहरू परिचालित जिल्ला, क्षेत्र र गाउँका स्थानीय पार्टी कमिटी र कमरेडहरूले यसक्रममा गर्नुभएको योगदान उल्लेखनीय रहेको छ ।

पूँजीवादी उपभोक्तावादी बनिरहेको नेपाली समाजले यसका निर्दयी परिणामहरू सँगसँगै खेपिरहेको छ । विपद्को घडीमा समेत पीडितहरूलाई राहत पुर्‍याउने होइन, उल्टै आहत पार्ने, आफ्ना तुच्छ स्वार्थहरूका लागि ठगी, कालोबजारी, भ्रष्टाचार र कृत्रिम अभाव सिर्जना गर्न पछि नपर्ने रवैयासमेत यसबीचमा नदेखिएका होइनन् । तर हाम्रा स्वयंसेवकहरूले आफ्ना व्यक्तिगत र पारिवारिक समस्याहरूलाई पन्छाएर निरन्तर एक महिना जनसेवा गर्नु चानचुने काम कदापि होइन ।

यसक्रममा पार्टीको उच्च नेतृत्व तहमा रहनुभएका नेता कमरेडहरू, पूर्व मन्त्री र पूर्व सांसद तथा बहालवाला मन्त्री र सभासद्हरूले समेत श्रमदानको अनुकरणीय अगुवाई गर्नुभएको छ । कैयौं पाको उमेरका कमरेडहरूले पनि निरन्तर श्रम गर्नुभएको छ । कयौं विद्यार्थीहरूले पढाई र परीक्षासमेत छोडेर स्वयंसेवा गर्नुभएको छ, महिलाहरू आफैं जोखिमयुक्त घर भत्काएर नयाँ निर्माणमा अग्रसर बन्नुभएको छ ।

उत्पीडनको विभेद खेप्न बाध्य समुदायका स्वयम्सेवक कमरेडहरूले सामूहिक रुपमा कथित उपल्लो भनिने जातका पीडितहरूका घर बनाउन र उपल्लो जाति भनिएका व्यक्तिहरूले उत्पीडित समुदायका भूकम्प पीडितहरूको घर बसोबास मिलाउन सहयोग पुर्‍याई उच्च मानवीय व्यवहार प्रदर्शन गर्नुभएको छ । यसबाट परम्परागत रूपमा रहिआएको सामाजिक विभेदका पर्खालहरू तोड्न एकहदसम्म सम्भव भएको छ ।

श्रमिकहरूले काठमाडौं र काभे्रमा अस्थायी र व्यवस्थित बसोबासको उदाहरण नै प्रस्तुत गर्ने गरी काम गर्नुभएको छ । पेशाकर्मीहरूले बिहानभरि श्रमदान गरेर दिउँसो कार्यालयको कामसमेत भ्याउनुभएको छ र शनिवार वा बिदाको दिनसमेत पूरै स्वयंसेवामा लगाउनुभएको छ । युवा, बुद्धिजीवी, किसान, कलाकर्मी, स्वास्थ्यकर्मी, कानुन व्यवसायी र सम्पर्क कमिटीहरूमा आबद्ध कमरेडहरूले पार्टीको यस अभियानलाई सफल र सार्थक तुल्याउन प्रशंसनीय योगदान गर्नुभएको छ ।

यसरी दैनिक १४ सयभन्दा बढी स्थानमा करिब २९ हजारको हाराहारीमा स्वयंसेवकहरू परिचालित हुनुभयो । हजारौं अस्थायी संरचना बनाउन हामीले जुन श्रमशक्ति, साधनस्रोत र सामथ्र्य लगाएका छौं, यसले जनसमुदायमा बेग्लै उत्साह, आशा, विश्वास र भरोसा जागृत गरेको छ । यसबाट ‘नेपाली मन, नेपाली धन र नेपाली परिश्रम’बाट राष्ट्र निर्माण सम्भव छ भन्ने हाम्रो विश्वासलाई अझ मजबुत बनाएको छ ।
हामीले आँट र हिम्मत गरेर राष्ट्रको नवनिर्माण गर्नसक्छौं, हामीले गर्न खोज्दा यो सम्भव छ । संकटको यस घडीमा पीडित जनसमुदायहरू कोही–कसैले एक्लो, असहाय र निरीह महसुस गर्न जरुरी छैन भन्ने दृष्टान्त यस अभियानमार्फत् हामीले प्रस्तुत गरेका छौं । सुत्केरी, एकल महिला, बृद्धबृद्धा, अपाङ्ग, बिपन्न, अल्पसंख्यक र दलित समुदायका हजारौं जनसमुदायलगायतका आहत मनलाई हाम्रो उपस्थितिले राहत पुर्‍याएको छ र जनतालाई अत्यन्त भावुक र उत्साहित बनाएको छ ।

यसो गरिरहँदा हामीले पार्टी–पार्टीबीचको प्रतिस्पर्धाको विद्यमन सीमा तोडेर काम गरेका छौं । हिमाल, पहाड र तराईका बीच भावनात्मक एकताको कडी जोडेका छौं । विपद्को सामना हामीले आपसमा विवाद गरेर होइन, परस्परमा एकजुट भएर मात्रै गर्न सक्दछौं भन्ने दृष्टान्त प्रस्तुत गरेका छौं । सामूहिक भावना, साझा प्रयास, एकता र समाजवादी कार्यशैलीका कतिपय झलक व्यवहारमा प्रस्तुत गर्नसमेत यस अभियानले बल पुर्‍याएको छ ।

केही महत्वपूर्ण उपलब्धि
– भूकम्पपछि जनतामा उत्पन्न निराशा, विरोध, आक्रोश र परनिर्भरताका कतिपय प्रवृत्तिहरू हटाई पीडितहरूलाई आत्मनिर्भर बन्न, समस्याको समाधान आपसमा मिलेर गर्न र आफ्नो काम आफैंले गरेर संकटको सामना गर्नुपर्छ भन्ने स्वावलम्बी भावना अभिवृद्धि गर्नुका साथै आम पीडितजनमा आसा एवं विश्वास बढाएको छ ।

– संकटको सामना एकताबद्ध प्रयासबाट मात्रै सम्भव छ भन्ने दृष्टान्त देशभित्र आधारभूत तहदेखि नै सिर्जना र प्रवाह गर्न सम्भव भएको छ ।
– पार्टीभित्रका कतिपय मनमुटाव तथा प्यानलगत निर्वाचन परिणामका प्रभाव र असरहरू पार्टीमा छँदै थिए । यसले एक हदसम्म गुटगत भावना र प्यानलगत निर्वाचनको ‘ह्याङ्ओभर’लाई मेटाएर पार्टी भावना, हार्दिकता र सुदृढ एकता कायम गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ । पार्टीपंक्तिको साझा प्रयास र एकताबेगर यस अभियानको यो शानदार सफलता सम्भवै थिएन र फेरि पनि हुनेछैन भन्ने कुरा पुष्टि गरेको छ ।

– विद्यमान राजनीतिक दलहरू, तिनको नेतृत्व र राजनीतिक कार्यकर्ताहरूप्रति जनताको तहमा फैलाउन खोजिएको द्वेष र अफवाहको अन्त्य गरी जनगुनासोलाई हटाउन तथा आकर्षण, विश्वास र भरोसा बढाउन महत्वपूर्ण योगदान पुगेको छ । यसले नेकपा (एमाले)प्रतिको जनविश्वासलाई थप बृद्धि गरेको छ ।
-विपद्को बेला कोही एमाले, कोही कांगे्रस, एमाओवादी वा अरु कोही नभएर सबै नेपाली हौं र सबै मिलेर एक–अर्कालाई मद्दत गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ । कयौं ठाउँमाा सेना, प्रहरी र स्काउटका टोलीले हाम्रा स्वयंसेवकहरूसँगै अस्थायी बसोवास व्यवस्थित गर्ने काममा सहकार्य गरेका छन् । केही स्थानमा नेपाली कांगे्रस, एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी) विप्लव समूहसँग पनि कार्यस्थलमा हाम्रो सहकार्य भएको छ । यसले राजनीतिक दलहरू बीच विद्यमान आपसी असमझदारीलाई हटाएर विश्वासको वातावरण निर्माण गर्न मद्दत पुगेको छ ।
– कहिल्यै शारीरिक श्रम नगरेका व्यक्तिहरूसमेत यो अभियानमा सहभागी भएर अथकरूपमा स्वयंसेवा गर्नुभएको छ । यसले हाम्रो पंक्तिलाई श्रमप्रति उच्च सम्मान गर्न, स्वयम् श्रममा सहभागी बन्न र आधारभूत तहका जनताको बीचमा समर्पित हुन थप पे्ररित गरेको छ ।
सचिव, नेकपा एमाले
(नेकपा एमाले राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको विहिबार गरिएको समापन कार्यक्रममा संयोजक विष्टद्धारा प्रस्तुत प्रतिबेदनको सम्पादित अंश)

तपाईको प्रतिक्रिया