सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउँछ ।

जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ । स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन् । तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् । जापानमा सन् १९८४ देखि प्रत्येक पाँच/पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ ।

सन् १९७३ मा खाली घरहरूको सङ्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ ।

अकिया अर्थात् खाली घर
जापानमा जनसंख्याको अधिकांश हिस्सा सहरमा बस्दछ र पछिल्ला केही वर्षदेखि त्यहाँ सम्पत्तिको क्षेत्रमा मन्दी छाएको छ । फलतः जापानमा लाखौं घरहरु खाली भइरहेका छन् ।

आयुमी सुगिमोटो जापानको अकिता विश्वविद्यालयमा ग्रामीण जनजीवनका बारेमा पढाउँछिन् । उनी अकितो प्रान्तमा बस्दछिन् जहाँ मान्छे बस्न छाडेका घरहरुको संख्या अन्यत्रको तुलनामा अधिक छ र खाली घरहरुको संख्या लगातार बढिरहेको छ ।

आयुमी सुगिमोटोका अनुसार यस्ता खाली छाडिएका घरहरुलाई जापानी भाषामा अकिया भनिन्छ । उनी भन्छिन्-म जब कार्यालय गइरहेकी हुन्छु प्रायः यस्ता धेरै अकियाहरु बाटोमा देखिन्छन् । अकियाहरु चिन्न निकै सजिलो छ, किनकि ती घरहरुको झ्यालको काँच तथा ढोकाहरु प्रायः फुटेका हुन्छन् र हालत पनि खराब हुन्छ ।

वास्तवमा खाली छाडिएका घरहरुका पछाडि आर्थिक कारण रहेको छ । सुगिमोटो भन्छिन्- जुन जमिनमा घर बनेका हुन्छन् त्यसमा करमा सहुलियत मिल्छ । त्यसैले घरधनीहरु घर भत्काएर जमिन खाली गराउन चाहँदैनन् । कर बढी तिर्नु नपरोस् भन्नकै लागि घर भत्काउनुको साटो खाली छाडिदिनु घरधनीका लागि फाइदाजनक हुन्छ ।

यसको अर्को कारण पनि छ । यस्ता धेरै भवनहरु वर्षौं पुराना हुन्छन् र त्यहाँ बस्नेहरुका सम्झना त्यससँग जोडिएका हुन्छन् । त्यसैले उनीहरुले त्यस्ता घर नभत्काइकन राख्दछन् । यसका साथै यो धार्मिक आस्थाको मुद्दा पनि हो ।

सुगिमोटो भन्छिन्, ‘यी घरहरुमा मानिसहरुले आफ्ना पुर्खाका सरसामानहरु सजाएर राखेका हुन्छन् जसलाई उनीहरु आफ्ना पुर्खाको बौद्ध अवतार पनि भन्दछन् । साथै पुर्खाहरुको आत्मा अकियामा बस्ने मान्यता पनि रहेको छ ।’

अकियाको संख्या बढ्नुमा ग्रामीण क्षेत्रमा रोजगारीको कमी समेत एउटा प्रमुख कारण रहेको उनी बताउँछिन् । ग्रामीण क्षेत्रमा रोजगार तथा उच्च शिक्षाको पर्याप्त अवसर छैन । त्यसैले युवापुस्ता टोक्यो तथा ओसाका जस्ता ठूला सहरतर्फ आकर्षिक भैरहेका छन् । सुगिमोटोका अनुसार अकिया घरहरुमा जंगली जनावरहरु समेत बस्ने गरेका छन् ।

कहिलेकाहीँ भारी हिमपात तथा आँधीका बेला मक्किएका ती काठे घरहरु छिमेकीको घरमाथि ढल्ने घटना पनि हुने गरेको पाइन्छ । यस्ता खाली घरहरु भत्काएर जमिन खाली गराउनका लागि सरकारले सम्बन्धित घरधनीसँग अनुमति लिनुपर्दछ । जुन निकै मुस्किल काम हो, किनकि घरधनीहरु आफ्नो नयाँ ठेगाना जानकारी नगराइकन पुरानो घर छाडेका हुन्छन् ।

कतिपय ठाउँमा प्रशासनले यी खाली घरहरुमा क्याफे, पर्यटक आवास तथा पसलहरुमा परिणत गर्ने काम पनि गरेको छ । तर त्यस्तो कदमले पनि समस्या समाधान भएको छैन । सुगिमोटो भन्छिन्- मानिसहरुलाई जति घर आवश्यक छ, अकियाको संख्या त्यसभन्दा पनि धेरै छ । कतिपय भवनहरु त यतिधेरै पुरानो भैसकेका छन् कि त्यसको मर्मत वा जिर्णोद्धार गर्न पनि कठिन छ ।

जन्मदर घट्नुसँग खाली भैरहेका घरको समस्याको के सम्बन्ध छ ?
बेलायतको ब्रिस्टल विश्वविद्यालयमा सामाजिक नीतशिास्त्रका प्राध्यापक मिसा इजुहारा भन्छिन्- पहिले तिनपुस्ता सम्म संयुक्त परिवारमा एकसाथ बस्दथे, जसका कारण घरको विरासत सजिलैसँगै नयाँ पुस्तामा सुम्पिइन्थ्यो र घरको पनि हेरचाह हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि आर्थिक पुनरुत्थानको क्रममा मानिसहरुले सहर गएर बस्न सुरु गरे र उही नै आफ्नो घर बनाए । जसका कारण दुवै पुस्ता विस्तारै छुट्टाछुट्टै बस्न थाले ।

संयुक्त परिवार छाडेर सहरमा बस्दा परिवारको स्रोतसाधन कम भयो र पुरानो पुस्तौनी घरको हेरचाहलाई बेवास्ता गरियो । इजुहाराका अनुसार अहिले परिवारको आकार सानो भैरहेको छ । उदाहरणको रुपमा ७० को दशकमा आधा परिवार यस्ता थिए जोसँग आफ्ना बच्चा थिए । अनि १४ प्रतिशत संयुक्त परिवार थिए जसमा तीन पुस्ता एकसाथ बस्दथे । अहिले पनि कुल परिवारमा ३८ प्रतिशत यस्ता परिवार छन् जसमा केवल एक वा दुई मानिस मात्रै सँगै बस्दछन् । यी मानिसहरुको पनि मृत्यु भएपछि वा घर छाडेर अन्यत्र गएपछि ती घर खाली हुन्छन् अर्थात् अकिया बन्दछन् ।

घट्दो जनसंख्याको कारणबाट नयाँ भवनहरुको माग पनि घट्नेछ । यस प्रकार खाली भएका घरहरुको समस्या स्वभाविक तरिकाबाट नै समाधान हुनेछ ।

तपाईको प्रतिक्रिया