बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

सक्रिय राजनीतिमा होमिएको धेरै वर्षपछि म क्याबिनेट मन्त्री भएँ । यो मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो जस्तो लाग्छ । काम गर्दागर्दै प्रमोसन भएर ‘फुल मन्त्री’ भएँ । विसं २०३६ वैशाखमा प्रमोसन भएलगत्तै म जेनेभा, स्विजरल्यान्ड गएँ । जेनेभाबाट फर्केपछि द्रुत गतिमा काम गर्दागर्दै जनमतसंग्रश घोषणा भयो । त्यसपछि हामीले मन्त्री पद छोड्यौं । म ‘फूल मन्त्री’ भएर जम्मा ४५ दिन मात्र रहें ।

स्वास्थ्य मन्त्री भएकै बखत राजा वीरेन्द्रको धनकुटा सवारी भएको बेलामा एउटा रोचन घटना छ । मैले एउटा बँदेल पैदलै नोलमा बोकाएर सरकारका हजुरमा चढाउन लगेँ । उक्त बँदेललाई त्यहाँस्थित तत्कालीन शाही नेपाली सेनाले स्वीकार पनि गर्‍यो । एकदिन साँझ श्री ५ बाट पटाङ्गीनीमा डिनर बक्सेको थियो । उक्त डिनरमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु सबै संलग्न थियौं । डिनर सरु भएपछि दरबारका स्वास्थ्य मामिला हेर्ने सचिव सुरेन्द्रमान जोशीले मैले चढाएको बँदेलतर्फ इङ्गीत गदै ‘सरकार ! यो बँदेलमा त इन्सेफलाइटिस रोगको लक्षण सुरु भएको जस्तो छ, तसर्थ यसको मासु खानु हुँदैन’ भने । त्यहाँ उपस्थित डा. दिनेशनाथ गंगोलले समेत सचिवको स्वरमा स्वर मिलाउँदै ‘हो हो’ भनेपछि मलाई आपत् आइलाग्यो ।

मैले श्री ५ समक्ष पनि बोल्न पाउँ सरकार ! भनेर जाहेर गरें । श्री ५ बाट मलाई आफ्नो कुरा राख्न हुकुम भएपछि मैले “देशमा इन्सेफलाइटिस समाप्त भइसक्यो । यो बँदेल इन्सेफलाइटिस लागेको क्षेत्रको पनि होइन । हामीले सरकारका तर्फबाट पनि मुलुकमा इन्सेफलाइटिस समप्त भइसकेको वक्तव्य जारी गरिसकेको छौं सरकार ! शंका लागेमा परीक्षण गर्दा फरक पर्दैन” भनेर जाहेर गरे‌ं । त्यसपछि श्री ५ बाट “लावतीले ल्याएको बँदेललाई झुल ओढाएर राख्नु । बँदेललाई लामखुट्टेले टोक्न पाएन भने इन्सेफलाइटिसबाट डराउनु पर्दैन” हुकुम भयो ।

डिनर सकिएपछि प्रधानमन्त्री कीर्तिनिधि विष्ट र मन्त्री खड्गबहादुर सिंहले आश्चर्य प्रकट गर्दै तपाईं त ठूलो आँट गरेर श्री ५ समक्ष आफ्नो कुरा जाहेर गर्नुभयो । तपाईं आँटी हुनुहुँदोरहेछ भन्नुभयो । पछि सो बँदेलको मासु सबैले खायौं । फिर्ति सवारी हुनुअगाडिको भोजमा पनि श्री ५ बाट “तिमीले ल्याएको बँदेलको मासु हो यो” भन्दै देखाइबक्यो ।

पद्मसुन्दर लावतीको केही समयअघि प्रकाशित पुस्तक ‘मेरो देश मेरो परिवेश’बाट । लावतीको चार दिनअघि निधन भएको छ ।

तपाईको प्रतिक्रिया