बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

पृष्ठभूमि
नेपालीहरु कामको खोजीमा परदेश जाने चलन सुरु भएको सयौं वर्ष भैसक्यो । आधिकारिक रुपमा अरनीको चीन जाने क्रमबाट सुरु भएको यो क्रम पछि तिब्बत र भुटानमा समेत विस्तार भयो । सैनिक प्रयोजनको रुपमा भने नेपाल-अंग्रेज युद्ध पछि बलभद्र कुँवर पन्जाब नरेश रणजित सिंहको सेनामा भर्ति भएर सैनिक सेवामा काम गरेका थिए तर त्यो व्यक्तिगत रुपमा थियो । पछि राणा शासनमा वीर शमशेरको पालाबाट अंग्रेजको लागि भनेर गोर्खा भर्ति शुरु भए पछि नेपालीहरु औपचारिक रुपमा पहिलो पटक अरु देशको लागि पनि सैनिक सेवामा प्रवेश गर्न थाले । यो क्रम २००७ प्रजातन्त्र आएको ६५ वर्ष भैसक्दा पनि अझैं सम्म पनि कायमै छ- भारत र बेलायतको गोर्खा भर्तीको रुपमा । २०२८ सालमा बैदेशिक रोजगारक्स्स लागि भनेर श्रम बिभागको स्थापना र २०४२ मा बैदेशिक रोजगार ऐन जारी भएपछि नेपालीहरु भारत बाहेक अन्य देशमा पनि गैर-सैनिक रोजगार प्रयोजनको लागि विदेश जाने क्रम सुरु भयो । यो सिलसिला २०४६को राजनैतिक परिवर्तन पछि झन् बढ्यो, माओबादी हिंसात्मक बिद्रोहले गर्दा बाक्लियो भने २०६२-६३ को परिवर्तनले पनि स्थिरता, विकास र जीविकोपार्जनको भरपर्दो निकास दिन नसक्नाले झनै झाँगिएको वर्तमान अवस्था छ ।

विदेश गन्तब्य र बिप्रेषण
भारतसँग रहेको खुला सीमाको सम्बन्धले गर्दा उताका मानिस यता अनि यताका उता कामको खोजिमा जाने क्रम चलिरहेको छ । कुनै आधिकारिक तथ्यांक लिने व्यवस्था नभएकोले यति नै संख्यामा भारतमा नेपालीहरु काम गरेको भन्न सकिने स्थिति छैन यद्धपि लाखौंको संख्यामा रहेको अनुमान गरिन्छ । मध्य-पूर्वका देशहरुमा तेलले ल्याएको बिक्रमको २०४० पछिको तीब्र विकासले गर्दा आवश्यक लाखौं सस्तो कामदारहरुको आपूर्ति जरुरी थियो । स्वदेशमा नै राम्रो जागिर र तलवको अवसर नपाएकाहरु मौकाको पर्खाई थिए । सरकारी पहल बिना नै नेपालीहरु उता जाने क्रम सुरु भयो र आज नेपालीहरुको एक प्रमुख गन्तब्य रहदै आएको छ । मध्य-पूर्वमा नेपालीहरु मुख्यतः साउदी अरेविया, कतार, युएइ आदी देशहरुमा रहेका छन् भने नेपाल सुहाउँदो हावापानी भएको मलेसिया पनि अहिले प्रमुख गन्तब्य बनेको छ । यी बाहेक पूर्वी एसियाली देशहरु कोरिया र जापान पनि आकर्षक कमाई हुने देशहरुमा पर्छन् । यहुदी मुलुक इजरायल बाहेक मध्य-पूर्वका देशहरु र मलेसियामा अधिकांश नेपालीहरु ज्यादै थोरै तलबमा काम गरिराखेका छन् ।

विप्रेषणप्रतिको आकर्षण
विप्रेषणको योगदान नेपालीहरुको घरमा धेरै पहिले देखि नै धेरै-थोरै रहदै आएको थियो । समाजमा जन्मजात धनी बाहेकका वीचमा लाहुरेहरुको अरु भन्दा अलिक माथि आर्थिक स्थिति भएको बिप्रेषणको कारणले पनि हो । यहि मुख्यः कारणले गर्दा लाहुरे भर्ति प्रतिको आकर्षण गाँउ घरमा अझैं पनि छ ।
विश्व ब्यापिकरणले गर्दा देशको सीमा भत्कियो । सीप र योग्यता चलायमान बस्तु सरह भए । लाखौं नेपालीहरु भारत बाहेकका देशमा कामको सिलसिलामा पुगेका छन् । कमाएको केहि रकम बचाएर आफ्नो घर परिवारको लागि पनि पठाउने गरेका छन् । सुरु-सुरुमा हुण्डी मार्फत पैसा पठाए पनि पछि बैकिंग च्यानलबाट पठाउन थाले पछि अर्थतन्त्रमा यसले गरेको योगदान अधिकारिक रुपमा थाहा हुन आयो । कुल गार्हस्थ उत्पादन (GDP) मा हाल यसको अंश अहिले २५% भन्दा बढी छ । २०७० सालमा मात्रै ३०० अरब भन्दा बढी रकम नेपाल भित्रियो । नेपालको गरिबी ४०% बाट २५ % मा घट्नुको एक प्रमुख कारण बिप्रेषण पनि हो । यहि कारणले गर्दा मुलुक चरम राजनीतिक अस्तव्यस्तता र १० बर्षे हत्या हिंसाले ग्रस्त वीच गुज्रदा पनि देश टाट पल्टिन बाट बचेको हो ।

विप्रेषण र घरबार
पुरानो नेपाली उखान नै अनुसार पनि विवाहितले घर जोड्न र बच्चा पाउन सक्ने हुनुपर्छ । त्यसमाथि आवासले मानिसलाई बस्ने ओत मात्र नभई ठूलो मानसिक सन्तुष्टी पनि दिन्छ । यसको पुष्टी नेपाल राष्ट्र बैंकको सन् २००८ को अध्ययनले पनि देखाएको छ । विदेशबाट पठाएको झन्डै ५०% बिप्रेषण रकम घरबार जोड्नमा नै खर्च गरिएको पाइएको छ ।
नेपाल विविध प्राकृतिक प्रकोपहरु मध्ये भूकम्पीय उच्च जोखिम भएको मुलुक हो । करिब ८०-१०० को विचमा निक्कै ठूलो भूकम्पको अनुमान पहिले देखि नै गरिएकै थियो । १९९० सालको महाभूकम्प गएको झण्डै ८२ वर्ष पछि आएको २०७२ सालको महाभूकम्पले गर्दा लाखौं घरहरु गाँउ-सहर दुवै तिर भत्किए । हजारौं मानिसहरुको दुःखद मृत्यु र घाइते भएको खबर सुन्नुपरयो । धेरैको निधन कमजोर घरको भत्काईबाट नै भएको छ । दुःख गरेर बर्षौ लगाएर बनाएको घर भूकम्पको एक ठूलो झड्काले धुलिसात भयो । यसका विविध कारणहरु मध्ये एक प्रमुख कारण त घरहरु भूकम्प प्रतिरोधी नबन्नाले हो । २०४५ सालको भूकम्प पछि ठाउँ अनुसारको प्रतिरोधी घर बनुन भन्ने अभिप्रायले नेपाल सरकारबाट केहि नमुना चित्रहरु पनि बनाइएको थियो तर त्यसको उचित प्रचार प्रसारको अभाव, आवश्यक उच्च निर्माण सामग्रीको सहज उपलब्धता र सुपरिवेक्षणमा लापरवाही जस्ता कारणहरुले गर्दा सोचे जस्तो प्रभाव हुन् सकेन ।

निष्कर्ष
घर परिवार, आफ्नो थात-थलो र संस्कृति जस्ता धेरै कुरा छोडेर मुलुक बाहिर लाखौं प्रवासी नेपाली दाजुभाई दिदिबहिनिहरु हुनुहुन्छ । भविष्यको मिठो सपनालाई बिपना बनाउन दिन-रात नभनी अनकौं दुःख, कष्ट र हण्डर खाएर सकि-नसकी बचाएको रकमको उचित प्रयोग गर्नु अति जरुरी छ । जब सम्म यो चेतना हामी प्रवासी नेपालीलाई पुरयाउन सक्दैनौ तबसम्म हामी अनि हाम्रो परिवार सुरक्षीत हुन सक्दैन । व्यक्ति आफ्नो अनुहार क्रिम पाउडर लगाएर राम्रो र बलियो त देख्न सक्छ तर उसको काबिलपन त रोगको महामारी लागेको बेला उ बच्न सक्छ कि सक्दैन भन्ने कुराले निर्भर गर्छ । ठिक त्यस्तै गरि हामी बाहिरी रुपले राम्रो घर त बनाँउला तर तबसम्म आफू सुरक्षीत छु भन्न सक्दैनौ जबसम्म भूकम्प जस्ता विपदमा हाम्रा घर भत्किदैनन् । सरकारले रोजगारी दिन सकेन भनेर हामी आफ्नो ब्यवस्ता गर्न आफू नै तम्सिए जस्तै आफ्नो मिहिनेतले कमाएको रकमले बनाएको घर बलियो, आरामदायी र सुरक्षित बनाउन पनि आफैं अगाडि सर्नुपर्ने बेला आएको छ । यसका लागि उचित स्थानमा उचित तवरले राम्रो निर्माण सामग्रीको उपयोग गरी प्राविधिकको सरसल्लाहमा बनाउनु नै उचित हुन्छ । प्रवासी नेपालीहरुलाई यसबारेमा सचेत बनाई समुन्नत र सुरक्षित बस्ती निर्माण गर्नका लागि वैज्ञानिक, मिडिया, र सामाजिक अभियन्ताहरु सक्रियतापूर्वक लाग्नुपर्ने हुन्छ । सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो कोशिश गरौं । असंभव त के नै छ र !

(लेखक सहरी योजनाबिद हुनुहुन्छ, उहाँले जापानबाट भूकम्प सम्बन्धी विषयमा डक्टररेट गर्नुभएको छ)

तपाईको प्रतिक्रिया