सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

दुबई– युएईस्थित कार्यरत नेपालीहरुका लागि आई पर्ने समस्याहरुका समाधान तथा अन्य विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएको २५ बर्ष लामो इतिहास कायम गर्न सफल भएको संस्था नेपाली समाज युएईको अध्यक्ष पदमा चन्द्रप्रसाद सापकोटा निर्वाचित हुनु भएको छ । गएको २९ मे शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा भएको नेपाली समाज युएईको १२ औ महाधिवेशनमा सापकोटा निर्वाचित हुनुभएको हो ।

उक्त महाधिवेशनको प्रमुख अतिथिमा नेपाली समाज युएईको पूर्व अध्यक्ष याम तमु रहनुभएको थियो भने महाधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कार्कीले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा चन्द्रप्रसाद सापकोटा रहनुुभएको हो ।

दुई चरणमा विभाजित गरिएको महाधिवेशनलाई पहिलो चरण गोपाल कंडेल र दोस्रो चरणलाई डिआर गुरुङले संचालन गर्नुभएको थियो । नेपालमा आएको विनाशकारी महाभूकम्पमा भएको सम्पूर्ण मृतकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली तथा नेपाली राष्ट्रिय गानबाट महाधिवेशनलाई औपचारिक रुपमा थालनी गरिएको थियो । निवर्तमान उपाध्यक्ष भिम अधिकारीको शुभकामना लगत्तै निवर्तमान उपाध्यक्ष चन्द्रबिक्रम सारु मगरले २ बर्षे कार्यप्रतिवेदन पढेर सुनाएका थिए ।

नेपाली समाज युएईको १२ औं महाधिवेनलाई स्वच्छ र शान्त तरिकाबाट निर्वाचन गराउका लागि कृष्ण पौडेलको संयोजकत्वमा गोपाल कंडेल, श्याम पोखरेल, टिका दत्त र त्रिलोचन कोईराला रहेको एउटा ५ सदस्यीय निर्वाचन समिति समेत बनाएको थियो । त्यसैगरी युएईमा क्रियाशिल २० संस्थाबाट आएको पार्षदहरुको सहभागितामा चुनिने अध्यक्ष निर्वाचन निर्णायक मण्डलमा डिआर गुरुङ, चित्र केसी, प्रकाश कोईराला, हेमन्त पौडेल र कृष्ण पौडेललाई राखिएको थियो ।

जम्मा ९ पदका लागि उम्मेदवारी परेकामध्ये अध्यक्षको पदमा चन्द्रप्रसाद सापकोटा, बिदुर रावत र कृष्ण न्यौपाने रहेका थिए भने क्रमशः पार्षद अध्यक्षको पदमा उपेन्द्र राना मगर उपाध्यक्षको पदमा दीपा पाण्डे, राम मोक्तान र कृष्ण न्यौपाने कोषाध्यक्षको पदमा नरेन्द्र गिरी सहकोषाध्यक्षको पदमा जगत क्षेत्री र कृष्ण पौडेल महासचिवमा मणि भुर्तेल सचिवमा सुरज भित्रीकोटी, बलराम कुईकेल र मानबहादुर महतोले निर्वाचन समितिमा उम्मेदवारीका लागि नाम दर्ता गराउनुभएको थियो ।

महाधिवेशनका निर्वाचन समितिले आगामी दुई बर्षे कार्यकालका लागि अन्य पदहरु पछि थप्नेगरी ९ पदलाई निर्वाचित गरेको छ । जसमा क्रमशः यस प्रकार रहेको छ, अध्यक्षमा चन्द्रप्रसाद सापकोटा, पार्षद अध्यक्षमा उपेन्द्र राना मगर, उपाध्यक्षमा दीपा पाण्डे, कृष्ण न्यौपाने र राम मोक्तान निर्वाचित भएको छ भने कोषाध्यक्षमा नरेन्द्र गिरी, सहकोषाध्यक्षमा कृष्ण पौडेल, महासचिवमा मणि भुर्तेल, सचिवमा सुरज भित्रीकोटी निर्वाचित हुनुभएको छ ।
सोही अवसर पारेर थुमबे हस्पिटलद्धारा गत १ मे शुक्रबारका दिन दुबईमा निःशुल्क हेल्थ चेकअप क्याम्पियनमा सहयोग गर्ने व्यक्तिहरुलाई समाजसेवी सालिक सुवेदी तथा उपस्थित अतिथिहरुद्धारा संयुक्त रुपमा प्रमाणपत्र बितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया