आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाल-जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो ।

जापानका विदेशमन्त्री कामिकावा योकोको आइतबार भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बहुपक्षीयताको मार्गमा अग्रसर गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा बहुपक्षीयता दर्साउने जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति, विकास साझेदारी, जनमैत्री सम्बन्ध र नेपालको विकासशील यात्रालगायतका विविध विषयमा भएको छलफलले अब दुई देशको सम्बन्धको आयाम बहुपक्षीयतातर्फ लम्किएको सन्देश दिएको हो । बहुपक्षीय यात्रामा जापानले नेपाललाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता विदेशमन्त्री योकोले जनाउनु भएको छ ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष योकोले शिष्टाचार भेट गर्ने क्रममा बहुपक्षीयताको ज्वलन्त विषय रहेको विश्वव्यापी जलवायु परिवर्तनको मार नेपालका हिमालमा गम्भीर रूपमा परेको राष्ट्रपति पौडेलले औँल्याए । उनले अत्यधिक तापक्रम र कार्बन उत्सर्जनबाट पग्लँदै गरेको हिमालका कारण पृथ्वीको सुरक्षा चुनौती बढेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा गम्भीर भइदिन आग्रह गरेका हुन् ।

जापानका विदेशमन्त्री कामिकावा योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि अत्यन्तै चिन्तित रहेको स्पष्ट पार्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको जानकारी गराइन् ।

आर्थिक-सामाजिक विकासमा थप सहयोग गर्ने
यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा द्विपक्षीय हित, आर्थिक तथा समाजिक सहकार्य तथा नयाँ सम्भावित साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल-जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले गर्दै आएको सहयोगको सराहना गरे । नेपालले लिएको विकास लक्ष्य पछ्याउँदै पछिल्लो समय ठुला पूर्वाधार निर्माणमा जापानको महìवपूर्ण रहेको भन्दै त्यस क्रममा नेपालको पूर्वाधार एवं आर्थिक-सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार प्रकट गरे । जवाफमा विदेशमन्त्री योकोले नेपाल-जापानबिचको सौहार्दपूर्ण र समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाएर लैजाने विश्वास दिलाइन् ।सम्बन्ध थप सुदृढ बनाइने
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तथा जापानका विदेशमन्त्री कामिकावा योकोसहित दुई देशको उच्चस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार नै द्विपक्षीय छलफल भएको छ । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा दुई द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिको भूमिका विस्तार गर्न सकिने सम्भावना रहेको दुई नेतृत्वले स्वीकार गरे । सडक पूर्वाधार विकासमा सुरुङ प्रविधिको सुरुवात गर्न नेपालको प्रमुख परियोजनामा जापानको सहयोग सन्तोषजनक रहेको समीक्षा भयो ।

सन् २०२६ मा नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइने भएकाले सो कोसेढुङ्गाको वर्षलाई उच्चस्तरीय आदानप्रदान र विभिन्न कार्यक्रमका साथ मनाउनुपर्नेमा दुई नतेृत्वले सहमति जनाए ।

नेपाल-जापानबीचको ऐतिहासिक सम्बन्ध
जापानी बौद्ध भिक्षु रेभ एकाई कावागुची पहिलोपटक सन् १८९९ मा तिब्बत जाने क्रममा पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा नेपाल आएका थिए । उनले नेपाललाई चिनाउने र लुम्बिनीको महत्त्व जापानी जनतालाई आफ्ना लेख र प्रकाशनमार्फत उजागर गरेका थिए । नेपालमा राणा शासनकालमा सन् १९०२ देखि १९०५ सम्ममा ८ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए, जसले गर्दा नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक हुन थालेका थिए ।

पछिल्लो समय तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखि ५ सम्म जापानको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पनि सन् २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरेका थिए । त्यसैगरी जापानका तर्फबाट पछिल्लो समय विदेशमन्त्री तारो कोनोले सन् २०१९ जनवरी ९ र १० मा नेपालको भ्रमण गरेका थिए । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । नेपाली समुदाय जापानमा छैटौँ ठूलो विदेशी समुदाय हो ।

हरेक वर्ष हजारौँ नेपाली विद्यार्थी उच्च शिक्षा र जापानी भाषा अध्ययन गर्न जापान जाने गर्छन्। नेपाली विद्यार्थीको विदेश अध्ययनका लागि जापान दोस्रो सबैभन्दा मनपर्ने गन्तव्य हो । हाल जापानमा एक लाख ७० हजारभन्दा बढी नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार-व्यवसायको सिलसिलामा रहेका बताइएको छ । नेपाल जापानी पर्यटकका लागि आकर्षक गन्तव्य पनि हो । लुम्बिनी, हिमालय, सदियौं पुरानो परम्परा र सांस्कृतिक कलाकृति, मन्दिर र नेपाली जनताको मिलनसार शैली जापानी पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । सन् २०१५ सेप्टेम्बरमा दुई प्रख्यात युनेस्को विश्व सम्पदा स्थल लुम्बिनी र जापानको कोयासानबीच भगिनी सहरको सम्बन्ध स्थापित भएको थियो ।आर्थिक सहयोग तथा व्यापार र लगानी बढ्दो
जापानले सन् १९५४ देखि नै नेपालको सामाजिक-आर्थिक विकासमा योगदान गर्दै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगको रूपमा सहयोग गर्दै आएको छ ।

जापानले नेपालको शान्ति र लोकतन्त्रको प्रवर्धनमा पनि सहयोग गर्दै आएको छ । जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्छन् । जापानले नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउँदै आएको छ । यस योजनाअन्तर्गत तनहुँ जलविद्युत आयोजना, नागढुङ्गा सुरुङमार्ग, खानेपानी सुधारलगायतका आयोजना सञ्चालित छन् ।

मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडीएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । जापान सरकारले कोलम्बो योजनामा सामेल भएदेखि सन् १९५४ नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम दिन थालेको हो । नेपालमा सन् २०१५ को भूकम्पपछि जापान सरकार र जनताले स्वस्फूर्त सहयोग गरेका थिए । जापान सरकारले नेपालको पुनःनिर्माणका लागि रु २६ अर्ब अनुदान दिने घोषणा गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जापानी विदेशमन्त्रीको भम्रणका अवसरमा नेपालका लगानी सम्भावित क्षेत्र जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायतमा जापानको लगानी आर्कषित गर्न थप पहल गर्नुपर्ने सुझाव दिए । साथै उनले काम र अध्ययनका लागि नेपाली विद्यार्थी जापान गइरहेको सन्दर्भमा जापानमा हाल वृद्ध जनसंख्या धेरै भएकाल दक्ष जनशक्ति पठाउन सके थप लाभ हुने धारणा समेत व्यक्त गरे । जापान नेपालको एक महत्वपूर्ण व्यापारिक साझेदार हो ।

नेपालबाट जापानतर्फ हुने प्रमुख निर्यातमा पस्मिना उत्पादन, तयारी पोशाक, ऊनीका सामान, गलैँचा, हस्तकला, नेपाली कागज र कागजका सामान, छालाका सामान, चाँदीका सामान र गरगहना छन् । जापानबाट नेपालको प्रमुख आयातमा सवारी साधन तथा पार्टपुर्जा, इलेक्ट्रोनिक सामान, मेसिनरी तथा उपकरण, फलाम तथा स्टिलका उत्पादन, फोटोग्राफिक सामान, चिकित्सा उपकरण र कपडा पर्दछन् । जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रमुख स्रोत देश हो ।

तपाईको प्रतिक्रिया