बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

ठूलो भूकम्प र त्यसपछिका एक पछि अर्को भूकम्पका धक्काहरुको निरन्तरको त्रासदीले नेपाली जनमानस, खासगरी, सबैभन्दा प्रभावित क्षेत्रका जनता यतिबेला अत्यन्तै आक्रान्त छन् । यद्यपि २०७२ बैशाख १२ गते आएको भूकम्पले तत्काल जे जति मानवीय र भौतिक क्षति पुर्‍यायो त्यसपछि भूकम्पको म्याग्निच्यूट (मात्रा), गति र क्षति पनि बिस्तारै कम हुँदै गएको महसुश गरिंदैे थियो । तर बैशाख २९ गते एकाएक पुनः आएको अर्को ठूलो (६.८ रेक्टर स्केल, ७.३ म्याग्निच्यूट) को भूकम्पले सम्हालिदै जान थालेको नेपाली जनताको मन मस्तिष्कलाई फेरि नराम्रोसँग झस्कायो र बिथोलिदियो । अब पल पल यस्तै त्रासद चुनाैती हाम्रो नियती रहेछ भन्ने कुराले सबैलाई त्राही त्राही बनायो र यद्यपि बनाइरहेको छ । मानिसहरु सन्त्रास र कोलाहलपूर्ण अबस्थाबाट गुज्रिरहेका छन् । बैशाख २९ गते यता उपत्यका र अन्य प्रभावित क्षेत्रका सबै घर परिवारबाट बाहिर सडक र सुरक्षित स्थानतिर लाग्न थालेका छन् । बैशाख १२ गते पछि काठमाण्डौ उपत्यकाबाट आ-आफ्नो जिल्लातिर लागेका मानिसहरु पुनः काठमाण्डौ फर्किने जुन क्रम शुरु भएको थियो त्यो पनि रोकिएको छ । बरु उपत्यकाबाट बाहिरिने क्रम पुनः शुरु भएको छ । वास्तवमा महाभूकम्पको यो महाबिपत्तीले सबैलाई त्राही त्राही बनाइरहेको छ ।

बैशाख २९ गते दोश्रो ठूलो भूकम्पनको धक्काले सबैभन्दा बढी क्षति दोलखा, सिन्धुपाल्चोक, रामेछाप रसुवा लगायत पूर्वका जिल्लाहरुमा पुर्‍याएको छ । तराईका जिल्लाहरुमा समेत देशका पूर्व पश्चिमका सबै जिल्लामा भूकम्पको यो धक्का महासुश गरिएको र त्रास फैलिएको देखियो । ठूलो भूकम्पपछि त्यसको ‘आफ्टर सक’ (पराकम्पन) जान्छ र त्यो क्रमशः कम हुँदै जान्छ भन्ने जुन कुरा बिज्ञहरुले बताइरहेका थिए त्यसलाई घट्दो पराकम्पनका बीच एकाएक १७ दिन पछि आएको अर्को ठूलो भूकम्पको धक्काले बिज्ञहरु समेतमाथि मानिसहरुले सन्देह गर्न थाले । यद्यपि उनीहरुले बारम्बार भूकम्पको पूर्वानुमान गर्न सकिने कुनै बैज्ञानिक आधार र प्रबिधिको बिकास भएको छैन भन्ने कुरा दोहोर्‍याइरहेका हुन् र दोहोर्‍याइ रहेकाछन् । उनीहरु पनि ‘आफ्टर सक’ पछि आउने धक्काहरु घट्ने बढ्ने झण्डै पहिले आएको ठूलो भूकम्पको नजिक पुग्न खोज्ने स्थितिले भूकम्पको अहिलेसम्मको अध्ययन मात्र पर्याप्त रहेनछ, यसको थप अध्ययन, अनुसन्धान र तथ्य संकलन गर्नुपर्ने रहेछ भन्ने निष्कर्शमा पुग्न थालेका छन् । बैशाख १२ गतेपछि बैशाख २९ गते आएको अर्को ठूलो भूकम्प ‘पराकम्पन’ मात्रै हो कि अर्को ठूलो भूकम्प आएको हो भन्ने कुरा नै अहिले ठूलो जिज्ञासा र गम्भीर अनुसन्धानको महत्वपूर्ण बिषयवस्तु बनेको छ । हुन त बैशाख १२ का दिन आएको भूकम्प जत्रो स्केल र म्याग्निच्यूटको भूकम्प त्यसपछि नआएको हुँदा त्यो पराकम्पनकै ठूलो रुप हो भन्ने तर्क पनि छ तर पराकम्पन घट्दो क्रममा हुनुपर्नेमा त्यो बीचमा जसरी एकास्सी बढ्न गयो त्यसले गर्दा यसलाई अर्को भूकम्पको धक्का नै भनिनुपर्छ भन्ने तर्क पनि छ । तर यी दुबै तर्कलाई पुष्टी गर्ने बिश्वसनीय आधारको कसैले दाबी गर्न सकेको छैन । पहिलो भूकम्प आएकै क्षेत्रमा त्यो भन्दा कम म्याग्निच्यूटका भूकम्पहरु आइरहेकोले त्यसलाई पराकम्पनकै रुपमा लिनुपर्ने बिज्ञहरुको भनाइ भने दोहोरिई रहेको छ ।

यो भूकम्पले एउटा कुरा भने अहिले अरु सबै कुराभन्दा बढी स्पष्ट पारेको छ । त्यो के भने हाम्रो देश नेपाल बिश्वमै ठूलो भूकम्पीय क्षेत्रमा रहेको र बिश्वका त्यस्ता क्षेत्रहरुमध्ये नेपाल ११ औं त्यस्तो क्षेत्रमा परेको कुरा लामो समयदेखि बिज्ञहरुले बताउँदै आएकाहुन् । त्यसैले यस्ता भूकम्पहरु बारम्बार आइरहने स्थिति छ । तर यो स्पष्ट चेतावनीप्रति राज्य, समाज र सर्वसाधारणले लिनुपर्ने आवश्यक सावधानी र तयारीको अभावले अकल्पनीय क्षति हुँदोरहेछ भन्ने कुराको भने यस पटक पहिले पहिलेभन्दा बढी राम्रोसँग प्रष्ट भएको छ । देशको यस्तो जोखिमपूर्ण अवस्थितिले हाम्रा सबै आवास, निवास, बिद्यालय, अस्पताल, कार्यालय र सार्वजनिक स्थलहरु भूकम्प प्रतिरोधी या भूकम्प-मैत्री बनाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउने र क्षति नै भएको खण्डमा पनि अत्यन्तै कम गराउने बाटो हामीले अनिवार्य र अपरिहार्य लिनुपर्ने आवश्यकता बन्न पुगेको छ । यसको लागि जमीनको अवस्थिति, भू-बनोट, माटोको संरचना सबै कुरा हेरेर सामुदायिक निवासहरु बनाउन पर्ने, प्रत्येक गाबिस, नगरपालिका, उप-नगर तथा महानगरपालिकाहरुमा जनसंख्याका आधारमा भूकम्प प्रतिरोधी उद्धार तथा अस्थाई बसोबास भवन निर्माण गरिनुपर्ने जस्ता प्रभावकारी उपाय अबलम्बन गरिनु अब अपरिहार्य भएको छ । यसो गर्न सकेमा मात्र क्षति न्यून गराउन, आपद बिपदमा परेकाहरुलाई तत्काल अस्थायी बसोबास र उपचार समेत गराउने सहज हुने र राज्यले संकटको बेला साँच्चै नै जनताको जीउधनको रक्षा गर्ने अधिकतम प्रयत्न गर्ने रहेछ भन्ने कुराको पनि सुनिश्चितता हुनेछ । त्यसैले अब सरकारले नब निर्माण र पुननिर्माणको कुरा गरिरहँदा यो कुरामा गम्भीररुपमा ध्यान दिनु र कदम चाल्नु सर्बोपरी आवश्यकता छ ।

बैकल्पिक यातायात रोप-वे, केवल कार, जलाशययुक्त जल बिद्युत परियोजना (जसबाट बिद्युत, सुरक्षित पिउने पानी, सिचाई सुविधा, जल यातायात र र्‍याफ्टिङको पनि ब्यवस्था एकमुस्ट परियोजनाको बिकास गर्न सकिन्छ) बिकल्प रोज्नु पनि आज हाम्रा लागि अत्यावश्यक भएको छ । भूकम्पको यो भयावह चुनौतीबाट त्राण पाउने र नेपालको नब निर्माणको अवसरकोरुपमा यसलाई उपयोग गरेर शक्तिशाली नयाँ नेपाल बनाउने हो भने हाम्रो आगामी महासंकल्पको बाटो यही हो र यही मात्र हो । यिनै कुराका आधारमा बाहृय सहयोगको प्राथकिमता पनि पहिल्याउनु पर्दछ । अहिले हामी नेपालीले भोगिरहेको महाबिपत्तिमा निस्वार्थ सहयोग गर्ने र सहयोग गर्न तत्पर रहेका राष्ट्र, समुदाय र सामाजिक संघ संस्थाहरुप्रति हामी निश्चय नै आभारी र कृतज्ञ रहनै पर्दछ । अनि तिनले बिपत्तीको पीडाबाट पार पाउन गरेको सबै प्रकारका सहयोगको शत प्रतिशत सदुपयोग गर्ने कुरालाई अधिकतम कडाईकासाथ पालना गरिनै पर्दछ । त्यसैले प्रष्ट र पारदर्शी किसिमले हाम्रा भौतिक क्षतिहरुको परिपूर्ति गर्ने ठोस वस्तुगत योजना र तिनको कार्यान्वयन गर्ने दृढ राष्ट्रिय संकल्पकासाथ अघि बढ्ने बातावरण बनाउनु आजका सर्बोपरी आवश्यकता हो । जे जस्तो आवश्यकता पनि परिपूर्ति गर्न राष्ट्र समुदायहरु सहयोगी बन्ने इच्छा जाहेर गरिरहेको बेला हचुवाको भरमा प्रस्तुत हुनुहुदैन । तत्कालीन र दीर्घकालीन योजनाकासाथ बिशवसनीय अग्रसरता देखाउनुपर्दछ । बिना योजना जो हात सो साथ गर्ने अहिलेसम्मको गलत प्रबृत्ति रहेसम्म राष्ट्रिय एकता र पुनर्निर्माण पनि दोहोर्‍याइरहने निर्जीव शब्द मात्रमा सीमित रहन जाने कुरा निश्चित छ । महाबिपत्तिबाट त्राण पाउन सम्बद्ध सबैको ध्यान यस दिशामा केन्द्रित होस् र गम्भीरतम चुनौतीलाई साच्चै अवसरमा फेर्ने सार्थक प्रयास सबैतिरबाट हुन सकोस् !***

तपाईको प्रतिक्रिया