बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

OM Bahadur Gurungबैशाख १२ को महाभूकम्पले नेपाल मात्र होइन सारा संसारलाई नै हल्लायो । संसारमै बिरलै भेटिने पर्यटकीय महत्व बोकेका घना गाउं, प्राचिन कालका ऐतिहासिक धरोहरहरु, संसारकै उच्च चुचुरो फुटाल्नुदेखि नेपाल कै उच्च धरहरा ध्वस्त बनायो । पुगेन भनेर पटक पटक आएको पराकम्पनले अलि अलि बांकी रहेको पनि पुन: खण्डहरमा परिणत गरायो । हजारौको प्राण पखेरु उडायो, हजारौलाई जिउनु न मर्नु बनायो । बांच्नेले बांचेर पनि के गर्नु भन्ने बनायो । यसले पारेका असरहरुको कुनै लेखाजोखा नै छैन, अनन्तकालसम्म रहने छ । भूकम्प अझै पनि आईरहेको छ, कहिलेसम्म आउने हो ? के भएको हो ? के हुने हो ? कसैले अत्तोपत्तो पाएका छैनन । न त राज्य र सरकारमा बस्नेले नै केहि गर्न सके न केहि भन्न नै सके । ज जसले जे जे जाने त्यहि गरे बांकी भगवानको भरोसा गरिरहे ।

बिदेशीले राहत लिएर उद्दार गर्न ढोका, ढोका आउंदासम्म सरकार भने इन्तु न चिन्तु देखियो ? देश-बिदेशबाट सरकारी, गैर सरकारी उद्दार तथा राहत सामाग्रीको ओइरो सुरु भयो । यतिका देशी-बिदेशी ब्यक्ति र संघ संस्थाले राहत बांडेका छन, कसैले गन्नसम्म भ्याएका छैनन । सरकारका बहालवालाहरुका कुरा सुन्दा झन त्यस्तै ? यतिका उद्दार दस्ता ? स्वयमसेवक त्यस्तै ? मानौ घाईतेलाई त काख काखमा राखेर तेल लगाइदिए पनि पुगेको होला ? राहत सामाग्रीले भकारी भरिएर राख्ने ठाउं नहोला ? गाउं-गाउंमा, ठाउँ-ठाउँमा ठूलठूला अन्न भण्डार पो बनाउन अर्को समस्या थपियो होला ? अनि राहत बांड्न जाने संस्थाले पालो नै नपाएर सिडिओलाई पालो मिलाउदै हम्मेहम्मे होला ? राहत-उद्दार गर्ने जहाज र चपरले एयरपोर्ट र आकाश नै जाम ? राहतको सामान बोक्ने गाडिको मुग्लिनसम्मै लाईन होला भने झैँ लाग्छ । होला नि त भन्यो सुत्यो, बिहान उठ्यो समाचार सुन्यो, सोसियल मिडियामा हेरयो उद्दार भएन ? राहत पाइएन ? सहयोग पाइएन ? कोहि पनि आएनन् ?

देश बिदेशमा रहेका नेपालीहरु स्वतस्फुर्त राहत र उद्दारमा जुटे । सदा झैं यतिबेला पनि गैर आवासीय नेपालीले ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने नारा अझ सार्थक गरेर देखाए दिए, कतिपय ठाउंहरुमा सबैभन्दा पहिले आफै पुगेर राहत वितरण गरे, मातृभूमिले पुकारेको बेला हाजिर भए । अझै मिसन बांकि नै छ । राहतको ओइरो लागिरहेको छ । कसैले सेल्फीका लागि गरे, कसैले रहरले गरे, कसैले करले गरे । दिने मनहरु र गर्ने हातहरु सबैलाई साधुबादछ । सुरक्षा फौजले आफ्नो पहुंच र बलबुताले भ्याएसम्म गरे सलाम छ सबैलाई । तर सरकार र माथिल्लो निकाय प्रमुख भने रमिते बन्यो । समयमा दिनुपर्ने जानकारीसम्म पनि कमी भयो, होहल्ला हल्लामा कोलाहल भयो स्वास फेर्न पनि गाह्रो बनायो । तर यतिका स्वयमसेवक र राहत उद्दार सामाग्रीहरु आएको छ, अरु त केहि होइन तर सरकारले बेलैमा तादाम्यता मात्र मिलाईदिएको भए पनि अलि चांडो उद्दार हुन्थ्यो एकजना भने पनि मर्नबाट बच्न सक्थ्यो होला । सबै पीडितले पुग्नेगरी गांस पाउने थिए । कतै पाएको पाई ? कतै बाड्न नसकेर कुहिएर पुर्नुपर्ने अवस्था त, कतै एक चिम्टी नुनसम्म नपुगेको अवस्था । यस्तो त्रासदीमा केहिदिन नसके पनि आवाज दिएर एकमुठी पानी मात्र पिलाउन सकेको भए भगवाननै आएको ठान्नेथिएहोला जनता  कठैवरा !

नेता भनाउंदाहरु पर सरेका स्त्री झै कुना पसे, जब जनता स्वत:स्फुर्त बाहिर निस्किएर आए अनि राज्य, सरकार र नेता खोज्न थाले तब बल्ल दुला दुलाबाट चियाउन थाले, हिम्मत गरेर जनतामा जाने साहस कसैले गरेनन । मसान फाल्न गए झै झारो टारे । कति ठाउंमा झपारे कति ठाउंमा लखेटिए । बिचरा सुशील दाइको त के कुरा कठैबरा ! गृहमन्त्रीज्यू जस्तो मान्छेले दिएको अन्तर्वार्ता हेर्दा धिक्कार छ तिनलाई ! यस्तो संबेदनशिल बेलामा के गर्ने ? के बोल्ने ? के नबोल्ने ? मानौ महको प्रहशनमा पनि त्यति हांस्न पाइदैन ।

देशमा अर्को रमिता सुरु भएको छ, यस्तो विपत्तिको बेलामा कसलाई के को धन्दा भने झै नेताहरु सरकार फेर्नेतिर लाग्दैछन। राष्ट्रिय बिपात्तिको बेला सबै दल र नेताहरु एक हुनु त राम्रै कुरा हो तर के यिनीहरुमा चेत पलाएकै हो त ? साच्चै यिनीहरु सच्चिएको हो त ? नत्र यिनलाई न लाज छ, न डर छ, न धक नै छ फ़ेरि पनि यिनी भन्दा हाम्रो अर्को बिकल्प पनि छैन। नेपाली जनताले यिनका पछि लागेर पटक पटक आन्दोलन गरे कहिले राणाको बिरुद्द, कहिले राजाको बिरुद्द ! हजारौ सपुतको रगतले मातृभूमि भिझाए। बलिदान गरे तर नेताको स्वार्थ पुरा गरिदिनु बाहेक जनताले के पाए ? अकालमा पुरिएर मर्दा पनि रीतिरिवाजअनुसार मृत्युसंस्कार सम्म पाएनन । कुर्सी र सत्ताको खेल बाहेक आखिर कसैले केहि गरेनन । सरकारमा जाउं, मिलिजुली खाउं, जतिसक्दो आफ्नो मान्छे भर्ती गर, गाउंदेखि सिंहदरवारसम्म हरेक ठाउंमा दलका भागबण्डा र कोटा ? जसले सक्छ उसैले कमाउ भने झैं छ । केहि भा’छ ? जनतालाइ मुर्ख बनाई आंखोमा छारो हाल्ने काम बाहेक ? जुन दलका नेतालाइ हेर्दा पनि सबै लेण्डुप दोर्जे जस्तै लाग्ने । जनताको टाउकोले थेगी नसक्नु ऋण बोकाई दोश्रो पटक संबिधान सभाको निर्वाचन गराएर संबिधान बनाउन जिम्मेवारी लिएका मुख्य दलहरु आ-आफ्नै खेलमा मग्न छन। सबै कुरा अड्केको सत्ता र शक्तिको बांडफांड नै हो भन्ने बुझ्न गाह्रो छैन । न त जिम्मेवारीको बोध छ ? न बोलीको ठेगान नै ? अनि जनताले कसरी विश्वास गर्ने ? कसरि बुझ्ने ? तपाइको पार्टीलाई ? अनि तपाईलाई ? अनि कहिलेसम्म भोगिरहने यो सब ? सबैलाई धेरै भोगियो, फुर्ति नगर, छोड तिम्रा कुरा, सुन हाम्रा कुरा अब एउटा बिकास देऊ, बिकास ।

नेपालले बिगतका पटक पटकका बिपत्तिबाट कहिले पाठ सिकेन ? एउटा राज्यले बिपत्ति परेको बेला अति भन्दा अति न्यूनतम तयारीसम्म पनि गर्न सकेन । तर नेपालले हाइटीको महाबिनाशकारी भूकम्पबाट सिक्नुपर्ने पाठ धेरै छन । नेपालको तुलनामा लाखौको संख्यामा मुल्यांकन नै गर्न नसकिने गरी धनजनको क्षति ब्यहोरेको हाईटीमा संसारभरिबाटै राहत र नगदको ओइरो लाग्यो तर त्यहांका नेता र सरकारले उचित ब्यबस्थापन गर्न सकेको भए आज बिश्वको ध्वस्त भएपछिको बिकास भएको देशहरुको रुपमा जापान जस्तै नाम अगाडि आउंथ्यो । तर बिडम्बना आफ्नै कमजोरीले गर्दा  दातृराष्ट्रले दिएका रकमहरु फिर्ता हुंदै गएं । पुनर्निर्माण र बिकास त कुरै छोडौ खान नपाएर मर्ने संख्या बढ्दै गयो, लासमाथि लास अनि हैजाले झन भन्दा झन् बिकराल बन्दै गयो र आजसम्म पनि त्यस्तै खण्डहर बनेर रह्यो । आजसम्मका कार्यशैलीलाई हेर्दा नेपालमा पनि यस्ता कमजोरी नहोलान भन्न सकिन्न, त्यसैले यसरी आएको सानो ठूलो सहयोग किन नहोस सहि सदुपयोग होस ।

भूकम्पले पारेका दृश्य र अदृश्य असरको लेखाजोखा गरेर सकिने अवस्था नै छैन तर यसको दिर्घकालिन समाधानका लागि चरणबद्द बैज्ञानिक समाधानका उपायहरु खोजिनुपर्दछ अब विभिन्न तहतप्काका नागरिकहरुले आ-आफ्नो सामर्थ्य अनुसारको जिम्मेवारी पुरा गर्नुपर्दछ । अहिले तुरुन्तै एक गास र बास व्यवस्था गर्नुपर्ने होला, घाइतेहरुलाई मल्हम लगाउनुपर्ने होला तर त्यो भन्दा पनि अर्को पाटो भनेको बिछोडिएका परिवारहरुका लागि सहानुभूति र साहसको जरुरी छ । टुटेका मनहरुलाई हिम्मत दिन जरुरी छ र उनीहरुलाई यो समाजमा फेरि उभ्याउन जरुरी छ । हामी फेरी उठ्न जरुरी छ । यो हामी सबैको पींडा हो भनेर सबैले आत्मासाथ गरेर हातेमालो गरिनु जरुरी छ ।

सबै पींडा उस्तै हो तर भौगोलिक हिसाबले धेरै फरक यस मानेमा छौ, नेपाल प्रशस्त सम्भावना रहेको र अथाह श्रोत र साधन भएको देश हो । हामी अहिले पनि कृषिमा निर्भर हुन सक्छौ । नेपालमा संसारमै नपाइने जडिबुटी छन् । नदिनाला, झरना संसारकै अग्ला हिमालहरु छन अरु केहि गर्न नसके पनि हस्पिटालिटी इण्डष्ट्रिजलाई मात्र अलिकति मात्रै व्यवसायिक तरिकाले सोच्ने हो र त्यसको वातावरण बनाउने हो भने हाम्रो रोजीरोटी चल्ने मात्र नभएर यो इण्डष्ट्रिजमा मान्छे नपुगेर बिदेशबाट कामदार मगाउन पर्ने अवस्था आउन सक्छ । देशको मुख्य आयको स्रोत नै यहि बन्न सक्छ । त्यसैले हामी बिदेशी राहतको मात्र आशा गरेर बसिरहनु पर्दैन । हामीमा साहस छ, सामर्थ्य छ र हामी गर्न सक्छौ । देशका धरोहरहरु भत्किए पनि हामी भत्किएका छैनौ, हाम्रो हिम्मत भत्किएको छैन ।

महाभूकम्पका कारण हामीले धेरै गुमायौं । यो विनासकारी भूकम्पको पीडा एउटा शक्तिको रुपमा बदलियोस । यो एउटा अवसरमा बदलियोस । नेताहरुले आजसम्म गरेका गल्ती कमि कमजोरीहरुलाई प्रायश्चित गर्ने अवसरको रुपमा लिऊन् र पुनर्निर्माण संग संगै एउटा पूर्णसंबिधान दिन सकून् । यो दु:ख र शोकलाई तपाई हाम्रो शक्तिमा बदल्न सक्नुपर्दछ । हाम्रो एकतामा बदल्नु सक्नुपर्दछ अनि मात्र साचो अर्थमा हजारौं दिवंगत आत्माहरुले शान्ति र सम्मान पाउने छन् ।  ****

(एनआरएन जापानका निवर्तमान अध्यक्षसमेत रहेका लेखक गुरुङ एनआरएन आइसीसीका सदस्य हुन्)

तपाईको प्रतिक्रिया