काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले आगामी शुक्रवारसम्म भूकम्पबाट विस्थापित भएकाहरुको पुनःस्थापनाको कार्यक्रम सरकारलाई बुझाउने बताउनुभएको छ ।
राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले मनसुन आउनु अघि नै अस्थायी बासस्थानको ब्यवस्था गर्न लागिएको उल्लेख गर्दै भन्नुभयो, ‘पछि पनि प्रयोग गर्न मिल्ने स्थानीय साधन स्रोतको प्रयोग गरी १०-१२ हजार रुपैयामा बन्ने अस्थायी बासस्थान बनाउने योजनामा छौ ।’
साक्षात्कारमा डा. पोखरेलले अहिले सबै सहयोगी विदेशी विज्ञहरुसँग बसेर आफूहरुले भावी योजनाको विषयमा छलफल गरिरहेको र यसलाई विदेशीहरुले पनि सरहाना गरेको भन्दै अहिलेलाई यातायातको ब्यवस्था भएको ठाँउमा जस्ता पाता र नपुगेका ठाँउमा टेन्टको ब्यवस्था गर्ने योजना भएको जानकारी दिनुभयो ।
दशैतिर मात्र स्थायी संरचना निर्माणको योजना तयार हुने भन्दै जेठभित्रमा दिर्घकालिन खाँका बनाएर अन्तर्राष्ट्रिय समूदायलाई खाँका दिएर सोही जेठ मसान्तसम्ममा दातृ निकायहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले सरकारले राहत र उध्दारमा आफ्नै तयार र क्षमताले भ्याए भन्दा बढी काम गरेको दावी गर्दै यो पीडा अवसर भएकोले यसलाई शिक्षाको रुपमा लिएर अगामि तयारी गर्नु पर्ने आवश्यकता औल्याँउनुभयो । ***