बिहिबार, आषाढ १६, २०७९
Thursday, June 30, 2022

 बागलुङ जिल्लाको पुरानो सदरमुकामको नाम हो, गलकोट । गलकोटलाई प्राचीन समयमा एउटा चौवीसे राज्यअन्तर्गतको शक्तिशाली राज्यका नामबाट पनि चिनिन्थ्यो । वर्तमान समयमा यही क्षेत्रले १६ वटा गाविसको प्रतिनिधित्व गर्दछ । यिनै १६ गाविसको बीचमा १०३९३ फिट उचाइमा रहेको पहाडको चुचुरोको नाम हो घुम्टे । यही घुम्टे पहाडको चुचुरोमा २०७० सालको अन्त्मि दिन चैत्र ३० र नयाँ वर्ष २०७१ सालको पहिलो दिन वैशाख १ गते गरी दुई दिनसम्म घुम्टे लालीगुराँस महोत्सव सम्पन्न हुँदै छ । यस महोत्सवको मूल उद्देश्य पनि घुम्टे पहाडमा फुल्ने लालीगुराँसलाई राष्ट्रिय स्तरमा चिनाउनु र गलकोट क्षेत्रको पर्यटकीय सम्भावनाको विकास गर्नु रहेको छ । घुम्टेलाई राष्ट्रिय स्तरमा चिनाउन र यही लालीगुराँस महोत्सवलाई सफल पार्न गत फागुन महिनामा काठमाडौंदेखि पोखरा हुँदै घुम्टेको धुरीसम्म युवाहरुले साहसिक साइकल यात्रा समेत पूरा गरिसकेका थिए ।

नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको केन्द्रविन्दु गलकोट हो । गलकोटको पनि केन्द्रविन्दु घुम्टे हो । बागलुङलाई चिनाउने आधारभूत पहिचान भनेकै झलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी, डाली सोली, स्लेट खानी, असाला माछा आदि हुन् । यी सबै प्राकृतिक सम्पदाहरु गलकोटमा पाइन्छन् । गलकोटलाई जल, जडीबुटी, जनघनत्व, जंगल र उर्वर जमिन भएको भूखण्ड भनेर चिन्दा पनि फरक पर्दैन । यत्तिमात्र नभइ गलकोटलाई सबैभन्दा स्वादिलो माछा पाइने ठाउँ, स्लेटको खानी भएको ठाउँ, निगालो र बाँसका अनेक डाली, सोली, डेली, नाङ्लो आदि र दारका ठेकी, चौठी, आरी, पाथी, धुपौरो, भुट्नेरो आदि बस्तु पाइने क्ष्ँेत्रका रुपमा पनि चिनिन्छ । यसका अतिरिक्त गलकोटमा धान, मकै, गहु, जौ, उवा, फापर, लटे, जुनेलो, काउनो, सिलम, भाङ्गो, भट्टमास आदि खाद्य बालीको उत्पादन हुन्छ । यी उत्पादित वस्तु पनि पर्यटकीय आकर्षणका वस्तु हुन सक्छन् ।

पर्यटन व्यवसाय र त्यसको पर्यटकीय सम्भावनालाई त्यो ठाउँको ऐतिहासिक पृष्ठभूमिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गलकोटको ऐतिहासिक पृष्टभूमिलाई अवलोकन गर्दा प्राचीन समयदेखि नेपाल एकीकररण पूर्व(जगतबम मल्लको समय वि.स.१८४४) को अवधिसम्म यो एउटा चौबीसे राज्यहरु मध्येको एक शक्तिशाली राज्यको नामले परिचित थियो भने पञ्चायती व्यवस्थाको सुरु हुनुपूर्व (राजा भरतबम मल्लको समय २०१७ सम्म) यो एउटा रजौटाअन्तर्गतको स्वतन्त्र राज्य थियो । भरत बमकै समयमा त्यहाँका केही व्यक्तिहरुको आपसी खिचातानीले गर्दा २०१९ सालतिर जिल्ला प्रशासन कार्यालय समेत त्यहाँबाट कालीण्डकीको किनार बागलुङ बजारमा सारियो भने २०४६ सालको परिवर्तनसँगै गलकोट क्षेत्रलाई पनि तीन वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । यो विभाजनले गलकोटलाई क्षतविक्षत पारे पनि यसको भौगोलिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय महत्व भने अझै यथावत रहेको छ ।

गलकोट एउटा विविध प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी क्षेत्र हो । यहाँ विविध जाति, पेशा, धर्म र संस्कार बोकेका मानिसहरु बसोबास गर्दछन् । २०१७ सालसम्म पनि यो एउटा छुट्टै राज्यको अभ्यास गरेको ठाउँ हुनाले पनि यसको आप्mनै मौलिक संस्कृति हुनु स्वभाविकै हो । गलकोटका विशेष जातिहरुमा क्षत्री, ब्राह्मण, जनजातिहरु र तथाकथित दलित वर्ग हुन् । यहाँका मुख्य चाडहरुमा वैशाखे बुद्धपूर्णिमा, उभौली, उँधौली, असारे, साउने सक्रान्ति, कृष्णअष्टमी, जनैपूर्णिमा, तिज, दशैं, तिहार, ठुली एकादशी, कात्तिके, पुसेपन्ध्र, माघेसक्रान्ति, फागुपूर्णिमा आदि हुन् । त्यसै गरी मुख्य लोकगीत र नृत्यहरुमा झाम्रे (यानीमाया, नानीलै, सालैजो, विनासाले, घुम्टे साइला, चुड्का), सोरठी, भैलो, ख्याली, भजन, रत्यौली, गोविचन, लाखेनाच, घाटुनाच, सरायोनाच, गाइनेगीत, जोगीनृत्य, खुकुरीनाच, भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने, धामीओख्खा आदि हुन् । त्यसै गरी बाजाहरुमा नौमती बाजा, माचुङ्गा, मुरली, मादल, डम्फु, खैजडी, मुजुरा, घाँघर आदि हुन् । विशेष गरी पाण्डव खानी जहाँ पुन मगरहरु बसोबास गर्दछन्, त्यहाँ घाटु, ठाडो सोरठी र झाम्रेले प्रसिद्धि कमाएको ठाउँ हो भने मल्म नौमती बाज, लस्के सोरठी र लोक भजनमा ख्याति खमाएको ठाउँ हो । त्यसै गरी हटिया हरिचौर लाखे, जोगीनाच, सरायोनाच, गाइनेगीत, खुकुरी नाच आदिमा प्रसिद्धि कमाएका ठाउँ हुन् । तारा र अर्गल जहाँ तरामी मगरहरु बसोबास गर्दछन्, त्यहाँ गोविचन गीत लगायत भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने नृत्यहरु पाइन्छन् । यी लोकसंस्कृतिहरु आआप्mनो संस्कार अनुरुप मनाइन्छन् । यसको पनि पर्यटकीय प्रवद्र्धनमा आप्mनै महत्व हुन्छ ।

घुम्टेको यो लालीगुराँस महोत्सव मनोरञ्जनका लागि मात्र नभइ धार्मिक पर्यटनका दृष्टिले पनि उत्तकै महत्वपूर्ण देखिन्छ । जुन समयदेखि गलकोटमा बसोबास गर्न थालियो, त्यसै समयदेखिनै गलकोट घुम्टेमा बालसिद्ध र कालभैरवको थान (मन्दिर) स्थापना गरी पूजा गर्न थालिएको अनुमान गर्न सकिन्छ । घुम्टेमा कृत्रिम सजिसजाउ र झकिझकाउ मन्दिर नभए पनि प्राकृतिक रुपमा दुईवटा चुचुरा छन्, जुन एउटा उत्तरतर्फ फर्किएको मामा सिद्धको मन्दिर र अर्को दक्षिण तर्फ फर्किएको भान्जा कालभैरवको मूर्ति भनी पूजा गर्ने चलन छ । यिनै सिद्ध र भैरवको पूजा गर्नाले व्यक्तिगत मनोकांक्षा पूरा हुनुका साथै बाली सप्रने र समयमा पानीको वर्षाउ हुनुका साथै अन्य दैवी प्रकोपको न्युनीकरण हुन्छ भन्ने जनविश्वासले गर्दा व्यक्तिगत रुपमा सिद्ध–भैरवको भाकल गर्नुका साथै थानमा घण्टा, त्रिशुल, ध्वजा चढाउने र पूजापाठ लगाउने चलन पनि छ । यिनै सिद्ध–भैरवप्रतिको आस्थाले गर्दा गलकोटका प्रायः गाउ“हरुमा वर्षको दुई पटक सिद्ध, वाली र पानीकोे सामूहिक पूजा गर्ने चलन पनि व्याप्तछ । मामा वालसिद्ध ब्रामण हुनाले धूप, धजा, खिर र रोट चढाएर पूजा गरिन्छ भने भान्जा कालभैरव क्षत्रिय हुनाले उनलाई पाठाहरु वली चढाएर वा परेवा उडाएर पूजा गर्ने चलन छ । व्यक्तिगत रुपमा पनि प्रत्येक वर्ष बैशाखे चण्डी पूर्णिमा वा बुद्ध जयन्तीको अघिल्लो (चतुर्दशीका) दिन यिनै सिद्ध–भैरवका भक्तजन वा दर्शनार्थीहरुको घुम्टेमा ठुलो घुइँचो लाग्छ । घुम्टे मेलामा केवल सिद्ध भैरवका भक्तजनहरु मात्र नभइ, वैसालु युवायुवतीहरु, जो वैसालु नसामा मात्तिन र जीवनभरि पारिवारिक बन्धनमा बाँधिने वाचा गर्न पनि त्यस दिन त्यहाँ जाने पुरानो चलन हो । अन्य मानिसहरु टुनामुना र झारफुक गर्ने लामा–वैद्य एवम् पशुपतिको दर्शन सिद्राको व्यापार (निगाला काट्ने, रुपासाग, खिरमला साग, कुरिलो, ढका आदि बन तरकारी खोज्ने, झाडुलगाउने कुचेटो खोज्ने, वर्ष दिनलाई पुग्ने घरायसी औषधि खोज्ने) आदि उद्देश्यले पनि त्यस दिन घुम्टेमा पुगेका हुन्छन् । सोही दिन घुम्टेको दर्शन गरी आ–आङ्खनो उद्देश्य पूरा गरेपछि कोही बेलुकानै घर फर्किन्छन् भने कोही घुम्टेबाट सिधै तल पर्ने पाण्डवखानीको सिद्धथाने मेलामा झर्दछन्, जहाँ रातभरि बाजा–गाजा र झाम्रेको खालमा रात गुजारेपछि भोलिपल्ट पूर्णिमाको दिन पाण्डवखानीको काभ्रे मेला (घाटुनृत्य) मा सहभागी भएर तीन दिनपछि घर फर्किने परम्परित चलन हो । यी धार्मिक र सांस्कृतिक पर्वका कारणले पनि गलकोटमा पर्यटकीय सम्भावना प्रचुर रहेको देखिन्छ ।

गलकोट घुम्टेका मुख्य पर्यटकीय पर्यवलोकनका दृश्यहरु भनेका सिद्ध र भैरवका थान, सानो घुम्टे, सिद्धेश्वरको गुफा, राम्चे ओठार, गोठथरी, बुलाहा बाबाको आश्रम (जहाँ आजभन्दा करिव ७५ वर्ष पहिले ठूलो सप्ताहा लगाइएको थियो र यसका भग्नावशेषहरु अद्यापि अवलोकन गर्न सकिन्छ), भीमसेन लौरी, दमाहा ढुङ्गा, दह पानी, टोड्के पानी, नाङ्गेभीर, पैराको सोतो, शालीग्राम पत्थर, हात्तीसँुढे चट्टान, हिउँका गल्छी, घोरल–मृगका बथान आदि यहाँका धार्मिक र पर्यटकीय दृश्यहरु हुन् भने घुम्टेबाट देखिने गलकोटकै मुख्य दृश्यहरुमा गलकोटे राजदरवार, हरिचौर बजार, गाइघाटे छहरो, गाजाको दह, गौदी र दरम खोलाका झण्डै एक दर्जन झलुङ्गे पुलहरु, हटिया बजार, मजुवाको फाँट, ठूलोकोट, टक्सार बजार, भुजुङ्गे स्लेटखानी र अन्य पहाडका चुचुराहरु, छाँगा, छहरा, गुफा र ढुङ्गे घरहरु हुन् । घुम्टेकै चुचुरोभन्दा केही तल रहेको शालीग्राममा टाँसिएर रहेका स–साना शीलापत्थरहरु पनि यसका आकर्षक दृश्य हुन् । यी शीला केवल शक्तिशाली लामाहरुले मात्र सिद्धको सिद्धिप्राप्त गरेपछि छुटाएर लग्न सक्छन् भन्ने विश्वास छ, जुन सर्वसाधरणले छुटाएर लैजान सक्दैननन् । यी प्राकृतिक सौन्दर्यहरुलाई प्रचारप्रशारमा ल्याउन सक्ने हो भने घुम्टेको पर्यटकीय सम्भावना अझै बढेर जाने निश्चित छ ।

घुम्टेलाई पर्यटकीय आकर्षण केन्द्र स्थल बनाउन सहयोग पुरयाउने ऐतिहासिक र सामाजिक वस्तुहरुका अतिरिक्त सयौ प्रकारका जीव–जन्तु, चराचुरुङ्गी तथा जडीबुटीहरु हुन् । घुम्टेमा पाइने यी वन्य जन्तुका लागि आरक्षण केन्द्र, जडीबुटी संकलन, प्रशोघन तथा संरक्षण केन्द्र र प्राचीन समयमा खनिएका सुन, तामा, फलाम र स्लेट खानीहरुको खोज अनुसन्धान र संचालन गर्न सकेको खण्डमा पनि यसको महत्व अझै बढेर जाने निश्चित छ । घुम्टेमा डाँफे, मुनाल, काँडेभ्याकुर लगायत सयौ प्रकारका चराचुरुङ्गीहरु र कस्तुरी मृग, घोरल, थार, चितुवा, चरी बाघ, भालु, बनमान्छे समेत यहाँ पाइन्छ भन्ने जनविश्वास छ । जिल्लामा प्रसिद्ध हुक्के नली (गजिङ निगालो), नाङ्ला, डोका, डेली, सोली, मान्द्रा, भकारी आदि बुन्न प्रयोग हुने तिते, मालिङ, गजिङ, ढोडे, बेत आदि निगालाका प्रजातिहरु, लाली, चमेली लगायतका विभिन्न प्रकारका गुराँसका फ़ूलहरु, चाँप, कोइरल आदि सयौं प्रकारका फ़ूलहरु, चिराइतो, पाँचऔले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, सिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीर आदि औषधिजन्य जडीबुटीहरु र चुत्रो, ऐसेलु, काफल, डेम्मर, जामुन, मुसेलेडी, गुयंली, अयंरी, घयंरी, गोलकाँक्री आदि फलफ़ूलहरु समेत यहाँ पाइन्छन् । यहाँ पाइने यी सबै औषधि, फलफ़ूल, खनिज पदार्थ, दारकोकाठ (ठेका कुँद्ने), सिसौ, सिर्मु, रैच, पाङ्ग्रो आदि काठहरु एवम् अन्य उपयोगी वस्तुहरुको सदुपयोग र संरक्षण समयमै गर्न सकेको खण्डमा व्यक्ति, समाज र राष्ट्रको उन्नतिमा ठूलो सहयोग पुग्नेछ । यी विविध प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न एउटा अनुसन्धान केन्द्र सञ्चालन गर्न सकेको खण्डमा विदेशी पर्यटक र आन्तरिक अनुसन्धान कर्ता, विद्यार्थी र वातावरणविद्हरुको आकर्षण बढ्ने देखिन्छ । परम्परित विधिलाई अब वैज्ञानिक प्रविधिमा बदलेर घुम्टेलाई नयाँ अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सकिने सम्भावना पनि छ ।

घुम्टेलाई प्रकृतिले सबै थोक दिएकोे छ भने घुम्टेले गलकोटलाई पालेको छ । यही घुम्टेमा सयौ गोठथरीहरु र भेडीगोठहरु राखेर पशुपालक कृषकहरुले आङ्खनो जीवीको पार्जनका साथै गलकोटलाई नै दूध–घिउ र मासु पुरयाएकाछन् भने दक्षिणबाट उत्तर बहने जलवायुलाई रोकेर समयानुकूल जलवर्षा गराउँनाले त्यहाँका कृषकहरुलाई आत्मनिर्भर गराउँन पनि यसकै योगदान रहेको छ । दाउरा, घाँस, पात, पर्सिम्लादेखि लिएर अन्य दैनिक उपभोग्य बस्तुहरु लगायत सेतोबरुवा, पटुवा, बाँस, ऊन र काठबाट संचालित घरेलु उद्योग (पहाडी कागज, नाम्ला–दाम्ला, मान्द्रा–सोली, काम्ला–घुम र ठेका–ठेकी) हरुका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत यसैले उपलब्ध गराएको छ । घुम्टेले गलकोटवासीलाई मात्र नभइ त्यहाँ पुग्ने जोसुकै पर्यटकलाई मनग्य उपहारहरु दिएर पठाउँछ । घुम्टेको चुचुरोबाट शक्तिशाली दूरविनको सहायताले पूर्वमा स्याङ्जा, कास्की, पर्वत, बागलुङको दक्षिणी भाग, लम्जुङ, गोर्खा, धादिङ र काठमाडौंको थानकोटसम्म, दक्षिणमा गुल्मी, तम्घास, पाल्पा, अर्घाखाँची र तराइका केही भागहरु सहित भारतको गोरखपुरसम्म, उत्तरमा मनाङ, मुस्ताङ, म्याग्दी र उत्तरी हिमश्रृङ्खलाहरुको राम्रो अवलोकन गर्न सकिन्छ भने पश्चिमतर्फ पनि बुर्तिवाङ, ढोरपाटन र डोल्पासम्मका दृश्यहरु अवलोकन गर्न सकिन्छ । गलकोटका १६ वटै गाविसको दृश्यावलोकन घुम्टको चुचुरोबाट खुल्ला आँखाले एकै नजरमा अवलोकन गर्न सकिन्छ । यसरी धार्मिक, सामाजिक र आर्थिक महत्व घुम्टेसँग जोडिएको हुनाले यसलाई आन्तरिक पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिने प्रशस्त आधारहरु छन् ।

वैशाखे पूर्णिमाका दिन घुम्टेमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने परम्परा छँदै छ । यो परम्परालाई निरन्तरता दिंदै यसमा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने हो भने पदमार्गमा सुधार, होमस्टे (बसाइ घर) को व्यवस्था, राज्यको ध्यानाकर्षण र व्यापक प्रचारप्रसारको आवश्यकता देखिन्छ । घुम्टेको धुरीलाई पर्यटनको केन्द्रविन्दु मानेर चारै दशाबाट पर्यटकीय पदमार्ग निर्माण गर्न जरुरी छ । घुम्टेको पूर्व मोहोडाबाट हरिचौर, हटिया, नरेठाटी, दुदिलाभाटी, गाजको दह, भकुण्डेको धुरी हुँदै बागलुङ कालिका, पर्वतको गुप्तेश्वर र पोखरा–काठमाडौंसम्म पूर्वि नाकाको विकास गर्न सकेमा यसको महत्व बढेर जान सक्ने खेखिन्छ । त्यसै गरी घुम्टेको दक्षिणी नाकाका रुपमा मल्म, काडेवास, रिघा, दगा, रेसुङ्गा, रिडी, पाल्पा हुँदै लुम्बिनीसम्म र पश्चिमी नाकाका रुपमा पाण्डवखानी, सिसाखानी, जलजला, सिस्ने हुंदै ढोरपाटन, रुकुम, रोल्पासम्म एवम् उत्तरी नाकाका रुपमा हिल, तारा अर्गल, अमरभूमी हुँदै गलेश्वर, मुक्तिनाथसम्मको क्षेत्रलाई समेट्ने गरी हवाइ सर्वेका आधारमा घुम्टे पुग्ने पैदलमार्गहरु निर्माण गर्न सकेको खण्डमा घुम्टे एउटा अन्तराष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना छ । त्यसै गरी पूर्वपश्चिमको पहाडी लोकमार्गसँग जोडेर बस यात्रा, हवाइ यात्रा, केवलकारको निर्माण, प्यारा गलाइडिङ, रक कलाइमिङ आदि आधुनिक प्रविधिको विकास गर्न सकेको खण्डमा पनि यसको पर्यटकीय महत्व बढ्ने निश्चित छ । यसका लागि सर्वप्रथम पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउन जरुरी छ । २०५७ सालदेखि गलकोटे संघसंस्था, समाजसेवी र घुम्टे प्रेमी कलमजीवीहरु समेत यसको प्रचार प्रशारमा लागेको पाइन्छ । यही २०६९ फागुन २४ गते ‘गलकोटघम्टे पर्यटन विकास केन्द्र, बागलुङ’ को सक्रियतामा हरिचौर–६ टेउवा मोहडाबाट पर्यटन मन्त्रालयका सहसचिव लोकबहादुर खत्रीले ‘घुम्टे पदमार्ग’ को शिलान्यास गर्नुका साथै घुम्टेको धुरीबाट १० बुँदे घोषणा पत्र जारी गरिएको छ । यसको व्यापक प्रचारप्रसार र गुरुयोजना निर्माणमा गलकोटका १६ वटै गाविसका समाजसेवी र बुद्धिजीवीहरु लागिरहेको कुरा गलकोट घम्टे पर्यटन विकास केन्द्रका सचिव राज थापा बताउँछन् । थोरै (१३ लाख) भए पनि राज्यको रकम यसको प्रवद्र्धनमा खर्चिनु र यसको व्यापक प्रचारप्रशारमा एउटा संस्था लागी पर्नुले पनि यसको पर्यटकीय सम्भावनालाई अझै आशालाग्दो गराएको छ ।

यसरी गलकोटको ऐतिहासिक, सामाजिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक विविध पक्षको अध्ययन गर्दै जाने हो र यसका सबै पूर्वाधारहरुको विकास गर्दै गएको खण्डमा गलकोटमा पर्यटकीय विकासका सम्भावनाहरु प्रचुर मात्रामा छन् । यी सम्भावनाको खोजी गर्नेक्रममा ‘गलकोट घुम्टे पर्यटन विकास केन्द्र, बागलुङ’ को पहलमा लालीगुराँस महोत्सव सम्पन्न गर्न लागिएको हो । यो महोत्सवले गलकोट घुम्टेलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुरयाउने नै छ । ***

(लेखक डा. थापा त्रि.वि. का सहप्राध्यापक हुन)    

तपाईको प्रतिक्रिया