सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

आयोजना कसले गर्ने, कसरी गर्ने ? वैचारिक छलफ़लमा जुटे नेपालीहरु, जापानीहरुको पनि उत्तिकै चासो र चिन्ता ! 

टोकियो – आइतवार टोकियोमा नेपाल फेष्टिबलका सम्बन्धमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जापानमा नेपालको चिनारी बढाउने मुलभुत उद्देश्यले बिगत ८ वर्षदेखि हुँदै आएको नेपाल फेष्टिबल सबै नेपालीहरुलाई समेटेर अबको सन्दर्भमा के कसरी प्रभावकारी ढंगले सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा वैचारिक छलफल कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो अर्थात सन् २०१३ को नेपाल फेष्टिबल आयोजना गरेको फेष्टिबल उमन कमिटीले उक्त वैचारिक छलफल कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सम्पन्न फेष्टिबलको समीक्षा गरिनुका साथै अबको फेष्टिबल के कसरी गर्दा नेपालको पर्यटन प्रबर्द्धनमा थप प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्ने बिषयमा बिभिन्न सहभागीहरुले आ-आफ़्नो धारणा ब्यक्त गरेका थिए ।

जापानमा नेपाल फेष्टिबलले निरन्तरता पाउँदै आएको भए पनि यसले स्थायी आयोजक पाउन नसकेको सन्दर्भमा अबको फेष्टिबलको आयोजना के कसरी गर्दा प्रभावकरी हुन सक्छ भन्ने बिषयमा छलफल केन्द्रित रह्यो ।

छलफलकाक्रममा बोल्ने वक्ताहरुले महिलाहरुको सक्रियतामा सम्पन्न पछिल्लो फेष्टिबल केहि कमीकमजोरीका बाबजूद तुलनात्मकरुपमा सफल र बिबादरहित रहेकोले यहि उमन कमिटीलाई निरन्तरता दिदैं कमिटीलाई थप बिस्तार गरिनुपर्ने, जापानमा क्रियाशील सबै संघसंस्थाहरुलाई कुनै न कुनैरुपमा समेटिनुपर्ने, सम्पन्न फेष्टिबलमा भएका कमीकमजोरीलाई सुधार गरिनुपर्ने, कार्यक्रमका बिषयवस्तु र प्रस्तुतीकरण जापानीहरुप्रति केन्द्रित गरिनुपर्ने लगायतका सुझावहरु दिएका थिए ।

जापानमा सबै नेपाली अट्न र जुट्न सक्ने साझा एवं गौरव गर्न लायकको महोत्सवकारुपमा फेष्टिबललाई परिष्कृत गरिनुपर्ने, यसो गर्न सकियो भने मात्र जापानमा नेपाली एकताको सन्देश दिन सकिनुका साथै उचित ढंगले मुलुकको चिनारी दिलाउन सकिने छलफलकाक्रममा सहभागीहरुले बताए ।

नेपाल फेष्टिबलको आयोजना गर्नका लागि मौजुदा कमिटीकै संयोजनमा बिभिन्न संघसंस्थाहरुलाई समेत सहभागी गराएर मुल आयोजक कमिटी निर्माण गरिनुपर्ने, जसअर्न्तगत बिभिन्न उपसमितिहरु गठन गरी कार्यबिभाजन गरिनुपर्ने, फेष्टिबलको उचित प्रचारप्रसार गरी जापानीहरुलाई आकर्षित गर्न बिभिन्न स्कुलहरुमा अध्ययनरत नेपाली बिद्यार्थीहरुमार्फत अभियानकैरुपमा विभिन्न कार्यक्रमहरु गरिनुपर्ने लगायतका सुझाव तथा विचारहरु पनि सो अवसरमा ब्यक्त गरियो ।

सो अवसरमा कमिटीकी संयोजक युको ओकामोतो मल्लले गत फेष्टिबलको अनुभव, चुनौती र अबको दायित्व बारेमा प्रकाश पार्दै बिषयमा प्रवेश गराएकी थिईन् भने कमिटीका अन्य सदस्यहरुले फेष्टिबल आयोजना गर्दाका आ-आफ़्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष सुदन थापा, थसेस जापानका अध्यक्ष शरदकुमार गौचन, मातृभूमिका लागि युवा अभियानका अनुज थापा, गायक रामकृष्णबम मल्ल, सर्जक पिताम्बर चापागाईँ ‘पदमपानी’, तमू धींका निबर्तमान अध्यक्ष हर्क गुरुङ, जापानी नागरिकहरु मोरी कोतारो, डा. कोबायासी, कियोहिको मोचिजुकी, अनेसासका अध्यक्ष आलोक चालिसे, शेर्पा समाज जापानका लाक्पा गेल्मु शेर्पा, गुल्मेली समाजका सल्लाहकार समेत रहेका एनआरएन सदस्य बाबुराम भण्डारी, पत्रकार तिलक मल्ललगायतले फेष्टिबलका सम्बन्धमा आ-आफ़्ना धारणा राखेका थिए ।

छलफललाई अझै पेचिलो ढंगले अगाडि बढाउँदै थप निष्कर्षमा पुग्न अर्को महिना पनि फेरि यस्तै कार्यक्रमको आयोजना गरिने बताईएको छ ।***
Nepal Festa 2 Nepal Festa 3 Nepal Festa 4 Nfesta  1

 

 

तपाईको प्रतिक्रिया