शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

आज ८ मार्च, १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको दिन ! विश्वभरिका महिलाहरुको महान् दिन, महिला स्वतन्त्रता र अधिकारको प्रतिक !! नारी गरिमा र महिमा स्मरण गराउने ऐतिहासिक दिन !!!

पंचायती कालरात्रीको चरम दमनका अनगिन्ति चक्रब्यूहहरुका लाठी र अश्रुग्यास अनि पंचायती सुरक्षा बलका घेराहरुलाई चिर्दै र छिचल्दै हाम्रा आमा भाउजु दिदी-बहिनीहरुले यस दिन लैंगिक भेदभावको साथै सबैखाले बर्गीय शोषण र उत्पीडनका बिरुद्ध गरिने गरिएका अनगिन्ति आन्दोलन र आमसभाहरु मेरो मन-मस्तिष्कको स्मृति-पटलमा अझै ताजै छ । पंचायत ढल्यो र ४७ सालमा नयाँ संबिधान बन्यो। अहिले सामन्ती राजतन्त्र ढलेको छ र मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको छ तर बिडम्बना महिला अधिकारका सवालहरु अझैसम्म पनि जंहीको तंही छन्। अर्थात् आधारभूत रुपमा हालसम्म खास परिवर्तन भएकै छैन । मैले होश सम्हालेदेखि अर्थात् समाजमा घट्ने घटनाहरुलाई देख्ने र बुझ्ने भए देखिनै विभिन्न ढंगले महिलाहरुलाई उपयोग गर्ने गरेको देखेको छु । पंचायत व्यवस्था विरोधी आन्दोलनको ठुलो हिस्सा महिलाहरु नै थिए । अझ महिलाहरुलाई अग्रभागमा लामबद्ध बनाएर हरेक आन्दोलन र आमसभाहरुमा प्रयोग गरियो । इतिहासमा नेपाली महिलाहरुले निर्वाह गरेको भूमिका र योगदान अति नै महान्, उच्च र अतुलनीय छ तर बिडम्बना जैले पनि राज्यको नेतृत्वदायी भूमिकाबाट उनीहरुलाई बन्चित गरिएको छ। समग्रमा उनीहरुलाई उपेक्षामा गरिएको अवस्था छ। महिला अधिकारका पक्षमा चर्का चर्का क्रान्तिकारी स्वरहरु सडकका जुलुसहरु, आमसभाहरुमा, अन्तरक्रिया र गोष्ठीका भाषणहरुमा थर्किने गरेका छन् । पत्र-पत्रिका र किताबका पानाहरु नारी मुक्ति र अधिकारका क्रान्तिकारी शब्दजालहरुले रंगिने गर्दछन् । सैद्दान्तिक रुपमा धेरै बहसहरु भए, कानून बने, नियम बने तर ब्यवहारिक रुपमा महिला समस्याहरु एवम् महिला विभेद अझै पनि सामाजिक कुरीतिको रुपमा समाजमा जरो हालेर बिराजमान छ । महिलामाथि हुने सवै प्रकारका विभेदहरु अन्त्य गरी एक सम्मुनत, न्यायिक, समतामुखी एवम् सभ्य समाजको स्थापना गर्नु आजको ज्वलन्त आवश्यकता हो। साँच्चिनै महिलाहरुको सक्रिय भूमिकाविना परिवार र समाजको सर्वाङिण बिकासको कल्पनासम्म पनि गर्न सकिंदैन। त्यसैले अब बन्ने संबिधानमा महिला अधिकारका कुराहरुलाई प्राथमिकता दिनु आजको टड्कारो आवश्यकता हो।

मानब सभ्यताको प्रारम्भिक चरणमा नारीजातिलाई उच्च स्थान र महत्व दिएको पाइन्छ । हाम्रै हिन्दु सभ्यताको इतिहासले पनि प्रष्ट पारेको छ कि बैदिक कालमा मातृ शक्तिलाई सर्बाधिक महत्व दिइएको थियो । त्यस बेला जेष्ठ महिलाहरु गणको नेता वा थकाली हुन्थे र गोत्र पनि उनिहरुकै नामबाट राखिने गरिन्थ्यो । अदितिबाट आदित्य गोत्र, दितिबाट दैत्य गोत्र, दानुबाट दानव र बसुधाबाट बासुदेव गोत्र परम्परा चलेको द्रिश्टान्त पाईन्छ । अझ गार्गी, मैत्री, घोष र लोपमुद्रा जस्ता विदूषीहरुले नारी क्षमता र गरिमा लाई उच्च स्थानमा राखेका थिए । गार्गीले त्यस वैदिक कालका सम्पूर्ण प्रख्यात ज्ञानी, महात्मा पुरुष ऋषि-महर्षिहरुलाइ ज्ञान,दर्शन एवम् शास्त्रार्थमा हराएर श्रेष्ठता कायम गरेको इतिहास छ । गार्गी, मैत्री, घोष र लोपमुद्रा चार विदूषिहरुलाई वैदिक कालका चार स्तम्भका रुपमा लिइन्थ्यो । प्राचीन् कालमा नारीहरुले निर्माण गरेका इतिहासहरुबाट यो प्रस्ट हुन्छ कि नारी जातिको योग्यता, क्षमता र महिमा गरिमामय एवम् अनूकरणीय रहेकोछ । त्यसैले त प्रचीन हिन्दू सभ्यता “यत्र नर्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता” भन्ने आदर्शमा आधारित् थियो ।

मानव सभ्यताको विकासको क्रममा पुरुषले मातृ सत्तालाई छलकपटपूर्वक बिस्थापित गर्दै पितृ सत्ताको स्थापना गरेपछि नारीजातिलाई पुरुष भन्दा हीन मानिन थालियो र सामाजिक, साँस्कृतिक, आर्थिक एवम् मनोबैज्ञानीक रुपमा असाहय र कमजोर बनाउने काम भयो । पुरुष नियन्त्रित एकांकी सभ्यताको विकासको क्रम संगै नारीजातिमाथि घोर अपमान र अत्याचारका श्रृँखलाहरु पनि बढ्दै गए । त्यस उपरान्त महिलाहरुलाई पुरुषले आफू अधिनस्थ सम्पतिको रुपमा बुझ्ने र तदनुरुपको व्यवहारको साथै खरिद बिक्रि गरिने चेतनाविहिन जड बस्तुको रुपमा लिन थाल्यो । पुरुषले जति पत्नी ल्याउन सक्यो ऊ तेतिनै शक्तिशाली र वैभवपूर्ण मानिने र कतिपय ठाऊंमा त पत्नी हत्यालाईसमेत अपराध नमानिने सम्मका विकृत सभ्यताको ईतिहास छ । विभिन्न बहानामा महिलाहरुलाई लिलाम गरिएका कथाहरु हाम्रा धार्मिक ग्रन्थहरुमा पाईन्छ । अम्बा, अम्बिका, अम्बालिका, सीता र द्रौपदीहरुको पनि आफ्नो इच्छाअनुसार स्वयम्बर भएको थिएन । स्व-इच्छाले आफ्नो वर चुन्ने अधिकार सम्म पनि तत्कालिन राजकुमारीहरुलाई समेत थिएन भने सर्वसाधारण नारीहरुको हालत कस्तो थियो होला ? बाहु-बल र पराक्रमका तथाकथित प्रदर्शनीका नाममा कन्याहरुको लिलामी हुने गर्थ्यो । महाभारतका महारथी भिष्म पितामहले आफ्नो बाहुबलमा आफ्नो भाइको लागि काशीराजका पुत्री अम्बा, अम्बिका र अम्बलिकाको अपहरण गरेका थिए भने अर्जुनले आफ्नो वीरता प्रदर्शन गरी राजा द्रुपद पुत्री द्रौपदीलाई जितेका थिए । रामायणमा पनि राजा जनकले शिवधनु उचाल्न सक्नेसँग आफ्नी पुत्री सीताको बिवाह गराउने भनी लिलामी प्रदर्शनी राखी सीतालाई रामको हातमा सुम्पेका थिए । यसरि ईतिहासका सबै पाटाहरुको अध्ययनबाट सबै शास्त्र र शिक्षा तथा सम्पूर्ण सभ्यता पुरुषजाति एक्लैले बिकसित गर्ने दुस्साहस गरेको पुष्टि हुन्छ ।
मानिसका सबै जाति, सम्पूर्ण जीवन, संस्कृति र सभ्यताहरुको विकासमा महिलाहरुको समान भूमिकाको अभाव रह्यो र नारी प्रबृत्तिको प्रभावको अभाव एवम् पुरुष एकांकी चरित्र एवम् प्रवृत्तिको कारणले अहिले सम्मका बिकसित मानव सभ्यताहरू खोटपूर्ण र क्रूर हुन पुगे । पुरुषहरु प्राय: हिंसात्मक, आक्रामक र क्रोधात्मक प्रवृत्तिका हुन्छन । शान्त,प्रेम,माया, करुणा, निर्मल, कोमल, सहनशीलता, धैर्यता, माधुर्यता,सहृदयता जस्ता अनगिन्ति शौन्दर्यका अनुपम नारी गुणको अभावमा मानव सभ्यता अपाङ्ग मात्र भएन हिंसात्मक घटना र घातक प्रवृत्तिको बिकासले विश्व नै अशान्त वनेको छ र मान्छे मान्छे संगै डराउनु पर्ने अवस्था श्रिजना भएको छ । यसले मानव सभ्यतालाई नै ठुलो चुनौती दिएको छ ।

वास्तबमा नारी र पुरुषहरु एकै होइनन् । यी दुवै एक अर्काका परिपुरक हुन् । कुनै एकको अभावमा अर्को अपाङ्ग अर्थात् अर्थबिहिन हुन्छ । यो सारा प्रकृति नै स्त्री र पुरुष गुणले युक्त छ । नारी प्रबृत्ति र पुरुष प्रवृत्तिको सन्तुलनमा यो सारा ब्रह्माण्ड चलेको हुंदा मानव सभ्यता पनि यी दुई प्रवृत्तिको समान प्रभावबिना सन्तुलित रहन सक्दैन । धर्मशास्त्र अनुसार भगवानहरुलाई पनि अर्धनारिश्वरको रुपमा पुजिने गर्छ र आधा नारी र आधा पुरुष रुपको भगवानहरुका तस्बिरहरु धर्म ग्रन्थहरुमा छापिनुका पछाडि कुनै पनि महान व्यक्ति हुन नारी प्रबृत्ति र पुरुष प्रवृत्तिको सन्तुलित संयोजनको महत्वलाई अर्थ्याइनु हो । हिन्दूहरुका आराध्य देव शिव भगवानलाई शिव र शक्ति अर्थात् पुरुष र नारी प्रवृत्ति अर्थात अर्धनारिश्वरको रुपमा लिइंने गरिन्छ ।

हिजो पितृसत्तात्मक सामन्तबादले महिलाहरुलाई दासीको रुपमा, चेतना विहिन जड बस्तुको रुपमा परिभाषित गर्दै तदनुरूप ब्यवहार गरेको थियो भने आज पनि पितृसत्ताको जगमा उभिएको विकृत पूंजीबादी विश्व-व्यवस्थाले नारी स्वतन्त्रताको नाममा विकृत संस्क्रितिलाई पुनर्स्थापित गर्दै उपभोगको साधनको रुपमा उपयोग गरिरहेको छ ।

ममतामयी नारीत्व र मातृत्वको अनुपम प्राकृतिक गुणलाई संरक्षण, सम्बर्धन र सम्मानका लागि संबिधानमा समुचित व्यवस्थापन गरेर मानव सभ्यताको विकासमा छुटेको गरिमामय ऐतिहसिक कडीलाई जोडेर सन्तुलित तथा सार्थक मानव सभ्यता निर्माण र बिकासको लागि सचेत सम्पूर्ण पुरुष नारी एक भएर लागौं ! सबै खाले शोषण उत्पीडन रहित उच्च, सुन्दर र सम्मुन्नत समतामुलक नयाँ सभ्यता निर्माणको महान दिशामा बैज्ञानिक ढंगले अघि बढौं !! ***

 

 

तपाईको प्रतिक्रिया