आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले फिर्ता गरेको गाडी व्यवस्थापन गर्न गृह मन्त्रालयलाई समस्या परेको छ ।
गाडी चढ्ने मानिस नपाउँदा मन्त्रालयलाई समस्या परेको गृह सचिव सुशीलजङ्ग राणाले जानकारी दिए ।
सरकारले पूर्वराजा शाहलाई उपलब्ध गराएको मर्सिडिज गाडी पूर्वराजा शाहले मन्त्रालयलाई फिर्ता गरेको बताइएको छ  ।
व्यवस्थापिका संसद, अर्थ र श्रम सम्बन्ध समितिको आजको बैठकमा सचिव राणाले गाडी व्यवस्थापनमा समस्या परेको जानकारी गराउँदै उनले भने, ‘लामो समयदेखि गाडी त्यत्तिकै थन्काएर राख्दा बिग्रँदो रहेछ ।’
उनका अनुसार हालै मात्र मन्त्रालयले करिब २२ हजार खर्च गरेर एउटा चक्काको ट्युव मर्मतसम्भार गरेको थियो । अन्य मर्मतका लागि रु एक लाख ५० हजारभन्दा बढी खर्च भइसकेको छ ।
एकातर्फ मन्त्रालयलाई उच्च ओहोदाका व्यक्तिलाई सुविधा वापत्को गाडी उपलब्ध गराउन धौधौ परिरहेको छ अर्कातर्फ भएका गाडीलाई पनि व्यवस्थापन गर्न समस्या परिरहेको छ ।
सचिव राणाले सर्वोच्चको हालैको आदेशपछि मन्त्रालयले सुविधावापत् उपलब्ध गराउँदै आएको गाडीमध्ये एकमात्र फिर्ता हुन बाँकी रहेको जानकारी दिए । पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई उपलब्ध गराएको दुईवटामध्ये एक गाडी फिर्ता हुन बाँकी छ ।
चार वर्षदेखि नयाँ गाडी खरिद नभएको बैठकमा जानकारी दिँदै सचिव राणाले सरकारी गाडीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको बताए ।
सरकारले सुविधावापत् उपलब्ध गराउने सरकारी गाडीलाई व्यवस्थित गराउन मन्त्रालयले प्रतिवेदन तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको उहाँले जानकारी दिए ।
बैठकमा सरकारले सुविधावापत् उपलब्ध गराउँदै आएका सरकारी गाडी निजी काममा प्रयोग भएकामा सभासद्हरूले आपत्ति जनाए ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौडेलले सरकारी गाडी कुनै मन्त्रालयमा धेरै कुनैमा कम भएको बताउँदै यसलाई व्यवस्थित बनाउन लागिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया