समाचार सुन्नुहोस :
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझदेखि नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्नेछ। जसले देशको विभिन्न भागको मौसममा असर पार्नेछ।
महाशाखाले जानकारी दिएअनुसार, यो प्रणालीको प्रभावले धेरैजसो क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ। विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च स्थानहरूमा शुक्रबार अपराह्नबाटै हिमपात सुरु हुने अनुमान गरिएको छ। यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च भागहरूमा पनि केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भागमा, लुम्बिनीका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्नेछ। मौसमविद् विनोद पोखरेलका अनुसार शनिबारसम्म पश्चिमी प्रणालीले प्रभाव देखाउँदै चिसो बढ्नेछ।
महाशाखाले तापक्रम घटेर चिसो तीव्र हुने, हिमपात र वर्षाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र पर्वतारोहणमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।