भारु ५ हजारबाट जापानको रोजगारीयात्रा शुरु गरेका गुल्मी आँपचौर अर्जेवा गाबिसका प्रेम सापकोटा अहिले आफ्नै मिहिनेतको कमाईबाट टोकियोमा दुइवटा रेष्टुरेन्टका मालिक छन् । उनको टोकियोको ओता-कुमा पर्ने ओमोरी-कामाता क्षेत्रमा एउटा र ओता-कु कै ओकायामामा अर्को कोपिला नामको रेष्टुरेन्टबाट सन्तोषजनक कमाई भईरहेको उनी बताउँछन् । सन् २००६ बाट रेष्टुरेन्ट ब्यवसायमा हात हालेका सापकोटा मालिक हुँदा र मजदुर छँदाको अनुभव यसरी सुनाए । “कामदार छँदा नेपालमा बुवाको निधन भएको खबर आयो, बिदा दिएर नेपाल पठाउनुपर्छ भनेर मालिकले थाहा नै दिएन, धेरैपछि मात्र थाहा दियो । ढिला भईसकेकोले बुवाको परम्परागत सँस्कारका लागि तत्काल नेपाल जान नसकेकोमा अहिले पनि मलाई पश्चातापले पिरोल्छ । आफै ब्यवसाय शुरु गरेको केहि बर्षपछि फ़ेरि आमाको निधन भएको खबर आयो, त्यतिबेला खबर पाएको २४ घण्टाभित्रै नेपाल पुग्न सकें ।’
ब्यवसाय शुरु गर्नु अघिसम्म उनी १३ बर्षसम्म जापानमा कुककारुपमा काम गरे । खाना पकाउने कलामा लामो समयसम्म काम गरेको अनुभव र सीपलाई आफैले उपयोग गरेर ब्यवसायिक क्यारिएर बनाउने सोंच अनुसार उनी यो ब्यवसाय रोजेको बताउँछन् । “आफुले जानेको बिषयमा धेरै आत्मबिश्वास हुने भएकैले मैले यो ब्यवसाय रोजेको हुँ । अहिले आएर ठिकै गरेजस्तो लाग्छ । ग्राहकहरुलाई सन्तुष्ट बनाउन सकेको छु । मान्छे सँधैभरि कामदारमा सीमित हुन चाहन्न, त्यसैले नेपालीहरुको यति धेरै रेष्टुरेन्ट खुलेका हुन् । तर जापानी ग्राहकको मन जित्न त्यति सजिलो छैन । स्वाद मात्र मीठो भएर हुँदैन, राम्रो सर्भिस, सरसफाई, शिष्ट बोलीब्यवहार, ग्राहकको स्वभाव हेरेर भलाकुसारी वार्तालाप, मिजासिलो र प्रसन्न मुद्रा जस्ता कुराले ग्राहकको मन जित्न सकिन्छ । एकफेरा आएपछि उनीहरुलाई फेरि पनि जाउँ जाउँ लाग्ने बनाउनका लागि निकै मिहिनेत गर्नुपर्छ । जुन कुरा मलाई यो क्षेत्रको ३२ बर्षको अनुभवले सिकाएको हो । ग्राहक खुशी भए भने उनीहरुले नै हाम्रो बिज्ञापन (कुचीकोमी) गरेर हिड्ने गर्दछन् यो नै जापानीहरुको बिशिष्ट स्वभाव हो ।
जिन्दगीको धेरैजसो हिस्सा बिदेशमा बिताउनुपरेकोमा भने उनलाई पश्चाताप छ । यसको कारण उनले पढ्न पाएनन् रे । यसबारे पुराना कुरा खोतल्दै उनी भन्छन्-“गाउँमा स्कुलै थिएन । आमाले मामाघर गएर पढ्न सल्लाह दिनुहुन्थ्यो । सँधै मामाघर बसेर पढ्न पनि सजिलो कुरा थिएन । कि त बाबाको सल्लाहअनुसार दैनिक ३ घण्टा लगाएर पल्लो गाउँमा गएर पढ्नुपथ्र्यो । यी दुवै कुरा मेरा लागि स्वीकार्य थिएन । त्यतिबेला गाउँका युवाहरु असाध्यै लाहुर जाने चलन थियो । पढाईको मेसो नमिलेपछि १६ बर्षमै लाहुर खान दिल्ली हानिएँ । १२ बर्षसम्म दिल्लीमा रेष्टुरेन्ट लाईनमा काम गरें । काममा पोख्त भएपछि मालिकले मासिक ५ हजार भारु तलब दिने शर्तमा मलाई जापान ल्यायो । म सन् १९९२ मा जापान आएको हुँ । साहुको रेष्टुरेन्ट नागोयामा थियो । त्यस क्षेत्रका अन्य नेपालीहरुसंग सम्पर्क बढ्दै गयो, उनीहरुले थोरै तलब पाईने इन्डियन रेष्टुरेन्टको काम छोडेर मासिक ५५, ६० मान तलब पाईने टोयोटा कम्पनीमा काम गर्न सल्लाह दिन्थे । तर मैलै त्यतातिर ध्यान दिएन ।’
छोरीको नामबाट रेष्टुरेन्टको नाम कोपिला जुराएका सापकोटाले रेष्टुरेन्ट ब्यवसायको भबिष्य बजारमा चलेको हल्लाजस्तो संकटमा परेको कुरालाई भने ठाडै अस्विकार गरे । किनभने मान्छेलाई दिनदिनै खाना खानैपर्छ, खाना दैनिक उपभोग्य बस्तुमा पर्ने भएको र जापानीहरु सँधै एकैखालको खाना नखाने स्वभावका हुने भएकाले सबै कुराको उचित ब्यवस्थापन र सन्तुलन मिलाएर राम्रो सर्भिस दिएर ग्राहक खुशी पार्न सक्ने हो भने रेष्टुरेन्ट ब्यवसायको अझै भबिष्य राम्रो भएको उनको दाबी छ । “सबैले प्रयोग गर्ने मसला एउटै हो त्यसबाट फरक फरक स्वाद निकाल्ने हो, आफ्ना ग्राहकको माग अनुसारको स्वाद निकाल्न र उनीहरुको चाहनाअनुसारको सेवा उपलब्ध गराउन सकिएन भने जापानीहरु फर्केर आउँदैनन् तर उनीहरुले कहिल्यै कुरा काट्दैनन्’-सापकोटाले भने ।
“दिल्लीको नोकरीको कमाईबाट गाउँकै ठूलाबडा मान्छे प्रधानपञ्चको घर किने, केहि जमिन जोडें । त्यसपछिको जापानको कमाईले बुटवलको मणिग्राममा घरजग्गा किनेर त्यहाँ बसाई सरेको छु । बच्चाबच्ची पढाउन र यसो नेपाल गएको बेलामा झोला फाल्न मिल्ने काठमाडौंमा पनि सानो घर छ । यतिका बर्ष बिदेशमा हराउन परेकोमा आत्माग्लानी त भईहाल्छ नि । नेपालमै गएर केहि गर्न पाए हुँदो हो भन्ने त लाग्छ तर अब यता सिष्टममा चल्ने बानी परिसक्यो, उता गएर सबै कुरा भनेजस्तो फटाफट काम हुँदैन, अनि चित्त बुझ्दैन । हाम्रो देशको सबै क्षेत्रमा सिष्टम बसिसकेको छैन, त्यसैले घुलमिल हुन त गाह्रो पर्छ, बन्दब्यापार तथा ब्यवसाय गर्ने कुरा त झन टाढाको कुरा हो । त्यसो भनेर सँधै यहाँ बस्न त कहाँ सकिएला र ? काम गर्न सकूञ्जेल काम गरेर रिटायर्ड जीवन बुटवलतिरै बिताउनुपर्ला भन्ने सोंच बनाएको छु । तर बूढेसकालमा आम्दानीको श्रोत हुने हिसाबले अहिले नै कुनै ब्यवसायमा भने लगानी गर्ने बिचार गरेको छु ।’
१ छोरा र २ छोरीको हेरचाह एवं शिक्षादिक्षाको जिम्मेवारी काठमाडौंमा रहेकी श्रीमतीलाइ सुम्पेर आफु एक्लै जापानमा रेष्टुरेन्ट ब्यवसाय चलाएर बसेका सापकोटा समग्रमा आफु सन्तुष्ट र खुशी रहेको बताउँछन् । “धेरै ठूलो सपना देखेको छैन । मैले जति मिहिनेत गरेको छु त्यति पाएको छु । शिक्षादिक्षाको अभावमा मैले बिदेशमा खानुपरेको बाउन्न ठक्कर र त्रिपन्न हण्डर आफ्ना सन्तान र अबको पुस्तालाई भोग्न नपरोस् । आफ्ना सन्तानहरु देशभित्रै सम्मानजनक ढंगले संघर्ष गरेर देशकै लागि केहि गर्न सक्ने सक्षम ब्यक्ति बन्न सकून् भन्ने चाहना छ । त्यसका लागि राम्रो शिक्षादिक्षा दिलाउन कुनै कसुर बाँकी नराख्ने मेरो अठोट छ । हाम्रो पुस्ताले लाहुर खान परे पनि अबको पुस्ताले देशका लागि केहि गरेर देखाउनुपर्छँ – सापकोटाले भने ।
जापानी समुदायमा पनि सापकोटा उत्तिकै घुलमिल छन् । आफ्नो टोलछिमेकमा हुने सानाठुला सबै कार्यक्रमहरुमा उनी सक्रिय सहभागी हुन्छन् । बरु नेपाली जमघटमा उनी त्यति भेटिदैनन् । नेपाली कार्यक्रमहरुमा पनि उनलाई जान मन नभएको त कहाँ हो र ? शानिबार आइतवार फुर्सद निकाल्न हम्मेहम्मे पर्छ रे । आफु नहुँदा ग्राहक फ़र्कने भएकोले रेष्टुरेन्टलाई उनी एकहाते भैंसीजस्तै लाग्छ रे । जापानमा बसेर जापानीहरुसंग सक्दो घुलमिल हुनुपर्ने उनको मान्यता छ, त्यसैले त उनलाई उनी बस्ने वार्ड ओता-कुले कदरपत्रबाट सम्मानसमेत गरेको छ । उक्त वार्डमा रहेका ९ सय रेष्टुरेन्ट ब्यवसायीहरुबाट ९ जना छानिएकोमा उनी एक्लो बिदेशीलाई ओता कु (वार्ड) ले सम्मान गरेको हो ।
नम्र, मिलनसार र सहयोगी स्वभाव भएका सापकोटा जापानमा आएको भूकम्प र सुनामीपछि कामबिशेषले नेपाल गएका थिए रे । फ़र्कदा उनका स्थायी ग्राहकहरुले डराएर भागेको आरोप लगाएकोले अझै पनि त्यसको स्पष्टिकरण दिनु परिरहेको उनी बताउँछन् । ***