शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

साउदी अरब र लेबननबीचको शीतयुद्ध चर्कदै गएको छ । दुवै राष्ट्र एक अर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिएपछि तनाव बढेको हो ।

लेबननका हिज्बुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले आफ्नो मुलुकविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।  यसअघि गत साता लेबननका प्रधानमन्त्री साद उल हरिरीले साउदीस्थित रियादमा पत्रकार सम्मेलनमार्फत आफुलाई सुरक्षा जोखिम रहेको भन्दै पदबाट राजीनामा दिएका थिए ।

सो राजीनामा साउदीकै निर्देशनमा आएको र साउदीले दबाबपूर्वक सो निर्णय लिन हिरिरीलाई बाध्य बनाएको हुनसक्ने लेबननको आरोप छ । नसरल्लाहले हरिरिको इच्छा विपरित साउदी अरबले उनलाई रोकिराखेको दावी गरे । यस्तै लेबनन विरुद्ध इजरायललाई उक्साएको र युद्धका लागि उसलाई अरबौं दिने तयारी साउदीको रहेको भन्दै नेता नसरल्लाहले साउदीले युद्धको संकेत गरेको बताए ।

नेता नसरल्लाहको आरोपमाथि साउदी अरबले तत्काल प्रतिक्रिया नजनाएपनि लेबननले यसअघि लगाएका अन्य आरोपलाई उसले खण्डन गर्दै आएको छ । साउदी इरानको कट्टर विरोधी मुलुक हो भने लेबननलाई इरानको समर्थन प्राप्त छ ।

तपाईको प्रतिक्रिया