शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

DSCF2948काठमाडौं – कथाकार अर्जुन दुङमेन राईको पहिलो कथाकृति ‘घुम्तीबीचका पर्खालहरू’ विमोचन भएको छ । सङ्ग्रहमा अदृश्य बाबुको दृष्टि, यो जूनीको प्रेम, मुग्लानेको पिडा, ड्राईभर माइलो, खेर गएको कसम, भोगाइ र सूर्यास्त गरि जम्मा ७ वटा कथाहरू संग्रहित छन् । उक्त कृतिको विमोचन डा. कृष्णहरि बरालको हातबाट ०६९ पौष ७ गते शनिबार सुम्निमा हल कोटेश्वर काठमाडौंमा भएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू कृष्ण धरावासी विशिष्ट अतिथि, श्रवण मुकारुङ विशेष अतिथि, राष्ट्रगान रचनाकार ब्याकुल माइला अतिथिकारुपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । यसैगरी, त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक आर.एम. डंगोलले कृति समालोचना गर्नुभएको थियो । कृति समिक्षा गर्दै उहाँले भन्नुभयो- “दुङमेनका कथाहरू वर्तमान परिवेश र वास्तबिकता साथै जनजीवनमा घटेका वा घट्न सक्ने घटनामा आधारित रहेका छन् । जति नै अदृश्य घटनाहरू भएपनि पछि आएर यथार्थ पत्ता लाग्ने, बिदेशमा गएर युद्धभूमि इराकमा रहँदा जोखिमपूर्ण जीवन सामना गरि स्वदेश सकुसल फर्कन सकेपनि आफ्नो देशको वर्तमान परिस्थितिले गर्दा स्वदेशमै आफ्नो ज्यान गुमाउनुपर्ने जस्ता तथ्यहरूलाई कथाकारले कथामा राम्रोसंग छर्लङ्ग पारेका छन् ।”

त्यसैगरी, कथामा दु:ख र संघर्षबाट उन्मुक्ति हुँदै अन्ततिर आएर सकारात्मक हुँदै आउनु कथाकारको राम्रो पक्ष हो भन्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले टिप्पणी गर्नुभयो ।

साहित्यका अन्य थुप्रै विधाहरू हुँदाहुँदै एकैपटक सरासर कथा विधामा प्रवेश गर्नु कथाकारको साहस हो भने चुनौती पनि उत्तिकै मात्रामा हुनेछन् भनी अर्का साहित्यकार वक्ता श्रवण मुकारुङले सुझाब दिनुभयो । कथा सङ्ग्रह ‘घुम्तीबीचका पर्खालहरू’ सङ्ग्रहको नामै काफी रहेको र जीवनमा अनेकौ पर्खालहरू, अप्ठ्याराहरू पार गर्दै जानुपर्छ भन्ने सङ्ग्रहको सकारात्मक पक्ष हुन् भनी डा.कृष्णहरि बरालले टिप्पणी गर्नुभएको थियो । नेपाली साहित्यको क्षेत्रमा कथाकार दुङमेनको जिम्मेवारी बढेको बताउँदै उक्त जिम्मेवारीहरू पूरा गर्दै जान राष्ट्रसर्जक ब्याकुल माइलाले कथाकारलाई शुभकामना ब्यक्त गर्नुभयो । 20121222_150213

उक्त विमोचन कार्यक्रममा कलात्मक र साहित्यिक खुराकहरू थप्न हाँस्य बाल कलाकार अङ्गुर बिकेलले विश्वध्वस्त हुन्छ भन्ने भ्रामक प्रचार प्रसार सम्बन्धि ब्यङ्ग्यात्मक कमेडी गरेकी थिइन् । महेश थापा र सन्देश राईले गीत गाएर सुनाएका थिए भने जीवन दाहाल र आशिका थपलियाले मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए ।

उक्त कृतिको प्रकाशन अनिता नेम्बाङले गर्नुभएको हो भने प्रकाशक नेम्बाङ स्वयंले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कथाकारले आफ्नो प्रकाशित कथाकृति र नेपाली साहित्यप्रति आफ्नो धारणा ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । चर्चित गीतकार तथा कलाकार डम्बर बिकेलको कलात्मक सञ्चालनले कार्यक्रम उत्कृष्ट हुन पुगेको थियो । ***DSCF2947

तपाईको प्रतिक्रिया