शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
टोकियो– टोकियोका गभर्नरले जापान र चीनबीच विवाद भइरहने टापूको भ्रमणको योजना बनाएको समाचार छ ।
हालैका केही दिनयता निकै विवादमा रहेका ती टापूहरूको उहाँले भ्रमण गर्ने योजना बनाउनुभएको आज सार्वजनिक गरिएको समाचारमा जनाइएको छ ।
ती टापू जापानको नै रहेका भन्दै विगतमा निकै कडा भनाइ राख्दै आउनुभएका टोकियोका गभर्नर सिन्तारो इसिहाराको भ्रमणको कार्यक्रम हालै सोही विवादका कारण चिनियाँ नागरिकमाथि गरिएको कारबाहीलगत्तै आएको पनि समाचारमा जनाइएको छ ।
पूर्वी चीन समुद्र (इस्ट चाइना सि) मा पर्ने ती टापूलाई चीन र जापानले आ–आफ्नो दाबी गर्दै आएका छन् । ती टापूलाई चीनमा दियायु र जापानमा सेन्काकु भनिन्छ ।
ती टापूहरू आफ्ना भएको दाबी गर्दै यसै महिनामा दश जना चिनियाँ नागरिकले विना अनुमति विवादास्पद टापूमा पुगेका थिए । ती नागरिकलाई जापानी सीमा सुरक्षा प्रहरीले पक्राउ गरेको थियो ।
चीन र जापानबीच निकै ठूलो तनाव सोही कारणले उत्पन्न भएपछि ती नागरिकलाई जापानले रिहा गरिदिएको थियो । यी दुई देशले ती टापूलाई राष्ट्रियताको विषय बनाउँदै आएका छन् ।
यसैकारणले चीन र जापानमा समय समयमा प्रदर्शन एवम् विरोध कार्यक्रमहरू पनि हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया