शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
IME को अब JRF संग पनि सहकार्य

टोकियो – जापानको युनिडोस कम्पनीद्वारा सञ्चालित क्योदाई रेमिट्यान्ससंगको सहकार्यमा जापानबाट नेपाल लगायत बिश्वब्यापीरुपमा मनि ट्रान्सफरको कारोवार गर्दै आईरहेको आईएमई जापानले आउँदो सेप्टेम्बर १ तारिखदेखि ‘जापान रेमिट फाईनान्स कम्पनी’ (जेआरएफ) संग पनि नयाँ सहकार्य गरी अतिरिक्त सेवा र नयाँ योजनासहित थप कारोबार शुरु गर्ने भएको छ ।

क्योदाईसहित अब आईएमईले जेआरएफ (JRF) संग पनि सहकार्य गर्दै नेपाल लगायत संसारभरि पैसा पठाउने कारोवार बढाउने भएको हो ।

जेआरएफसंगको सहकार्यमा आगामी सेप्टेम्बर १ देखि कारोबार शुरु गरिने आईएमई जापानका निर्देशक राजीव श्रेष्ठले बताउनुभयो ।

जेआरएफसंगको सहकार्यमा हुने कारोवारमा आईएमईले पहिलोचोटी र छैठौंचोटी पैसा पठाउने ग्राहकलाई सेवा शुल्क नलाग्ने घोषणा गरेको छ । यसैगरी आईएमईले नेपालीहरुको महानचाड दशैंतिहारको सुखद उपलक्षमा आफ्ना ग्राहकहरुमध्यबाट भाग्यमानी १ जनालाई नेपाल जाने र आउनका लागि बिबि एअरवेजको एउटा हवाईटिकट उपहार दिने पनि उदघोष गरेको छ ।

जेआरएफसंगको सहकार्यमा अब आईएमई जापानले कर्पोरेट रेमिट्यान्स सेवा पनि प्रदान गर्नुकासाथै बिदेशी मुद्रा विनिमयको सेवासमेत प्रदान गर्ने भएको छ । कर्पोरेट रेमिट्यान्स सेवाबाट अब जापानमा रहेका नेपालीहरुले ब्यक्ति, सँस्था वा कम्पनीको नामबाट अर्को मुलुकमा रहेको ब्यक्ति, सँस्था वा कम्पनीको नाममा रेमिट्यान्स पठाउन सक्ने भएका छन् । यसबाहेक माइक्रो फाइनान्स सेवा पनि क्रमश बिस्तार गर्दै लैजाने कार्यक्रम रहेको आईएमई जापानले जनाएको छ ।

जेआरएफसंग मिलेर कारोवार शुरु गर्नका लागि आईएमई जापानले टोकियोको हामामात्सुचोमा प्रधान कार्यालय स्थापना गरिसकेको छ भने छिट्टै सिनओकुबोमा पनि कार्यालय स्थापना गरी कारोवार शुरु गरिने निर्देशक श्रेष्ठ बताउनुहुन्छ । नयां कारोवारका लागि आइएमई जापानले दर भाउ बुझ्नका लागि 080-4056-4340 र थप जानकारीका लागि 090-6507-8848  मा सम्पर्क गर्न सकिने बताएको छ ।  ***

तपाईको प्रतिक्रिया