मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारीहरुको आज सभापति सुशील कोइरालाको निवासमा बसेको अनौपचारिक बैठकले तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्या प्रकरणका बारेमा पार्टीले लिएको अडान र मागमा कायम नै रहने निर्णय गरेको छ ।
पार्टीले मृतक पौडेललाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने, पौडेलमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने, उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपनर्पे माग हिजो राखेको थियो ।
सो माग पूरा नभए भोलि सोमबार नेपाल बन्दको आहृवान काँग्रेसले गरिसकेको छ । सरकारले ती मागमध्ये रु १० लाख क्षतिपूर्ति दिने र घटनाका बारेमा न्यायिक आयोग गठन गर्ने माग पूरा गरिसकेको छ ।
हत्याको मुद्दा लागि चितवन कारागारमा रहँदा गत मङ्सिर २० गते कारागारभित्रै आक्रमणमा परी घाइते भएका पौडेलको उपचारका क्रममा हिजो निधन भएको थियो ।
यस घटनालाई लिएर आज पनि राजधानीका त्रिचन्द्र क्याम्पस अगाडि नेपाल विद्यार्थी सङ्घका छात्रछात्राहरुले एक घन्टा यातायात अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया