कैलाली- माओवादी विवाद उत्कर्षमा पुग्दै गर्दा कैलालीमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षबीच धान खोसाखोस भएको छ ।
चुहा गाविसमा विश्वनाथ उप्रेतीको २०५८ मा कब्जा भएको जग्गाको धान कसले लिने भन्ने विवाद भएपछि धान दाइँ नगर्दै खोसाखोस भयो ।
वैद्य पक्षधर मानिने सुनिता चलाउनेले चुहा-६, गुलाराको कब्जा गरिएको विश्वनाथ उप्रेतीको साढे ३ बिघाको करिब ९० क्विन्टल धान १६ गते राति दाहाल पक्षका कार्यकर्ता ल्याएर थ्रेसिंग गरी चौलागार्इं ट्रेडर्समा बेचेको आरोप लगाइन् ।
उता दाहाल पक्षधर एरिया सेक्रेटरी अजय ढकालले वैद्य पक्षले धान काट्दै बेच्दै गरेपछि करिब १० कट्ठा जग्गाको धान मात्र आफूहरूले ल्याउन पाएको बताए ।
उप्रेतीको जग्गामा लगाइएको करिब १० बिघा जग्गाको धान वैद्य पक्षकाले बिनाजानकारी ५ ट्रली धान बेचिदिएपछि करिब १० कट्ठाको धान आफूले ल्याएको अजय ढकालले बताए ।