काठमाडाैं – सरकारले गुठी विधेयक फिर्ता लिएपनि माइतीघर मण्डलमा विशाल प्रदर्शन गरिएको छ । जनआन्दोलनको झल्को दिने गरी माइतीघर मण्डलमा भएकाे प्रदर्शनमा उपत्यकाका तीन जिल्लाका हजाराैं बासिन्दा सहभागी थिए ।१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो । उक्त खबरदारी सभामा सहभागीहरू विभिन्न पहिरनमा थिए । उनीहरू आ-आफ्नो संस्कृति झल्किने झाँकी समेत प्रस्तुत गरेका थिए । कोही शंख फुकिरहेका थिए भने कोही नाचिरहेका थिए । सरकार र गुठी विधेयकविरुद्ध चर्का नाराबाजी पनि भएका थिए ।कतिपयले जनआन्दोलनपछि पहिलो पटक माइतीघर पुगेको बताए । उनीहरूको भनाइ थियो- ‘सरकारले हाम्रो संस्कृति मास्न लागेकाले आन्दोलनमा आएका हौं ।’ सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन् । उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ‘फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन् ।सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन् । सरकारले जनतालाई भ्रम फैलाएको र उत्ततेजित गर्दै गुठी विधेयकविरुद्ध माहौल सिर्जना गरेको आरोप लगाएको थियो ।सरकारले आन्दोलनमा उत्रेका गुठियार र सम्पदा प्रेमीहरुलाई प्रयोग गरेको भाषा आपत्तिजनक र जनभावनाको विपरित भएको भन्दै पूर्व निर्धारित विरोधसभालाई खबरदारी सभामा परिणत गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार