काठमाडौं – विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आइतबार विरलै देखिने रातो रङको ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेरेका थिए । उक्त पूर्ण चन्द्रग्रहणको बेला चन्द्रमा सामान्यभन्दा बढी रातो, उज्यालो र पृथ्वीको नजिक देखिएको थियो ।
पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देखिएको थियो । यूकेका केही ठाउँहरुमा भने बादलले छेकेको थियो । अब अर्को चन्द्रग्रहण सन् २०२१ मा मे २६ का दिन देखिने छ ।
अमेरिकाको न्यू योर्क राज्यको सिराक्युज विश्वविद्यालयका सहायक प्राध्यापक वाल्टर फ्रिम्यानले भने, ‘पृथ्वीको वायुमण्डलबाट छरिएको थोरै सूर्यको प्रकाश चन्द्रमामा पुग्न जान्छ । त्यो फेरि पृथ्वीको धार वरिपरि वाङ्गिन जान्छ । त्यस्तो बेला देखिने रातो प्रकाश चन्द्रमामा पर्न गएको हामीले स्पष्ट रूपमा देख्न सक्छौँ।’
बीबीसीका अनुसार सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ । यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ ।
पूर्ण चन्द्रग्रहणलाई ‘सुपर ब्लड वुल्फ मुन’को संज्ञा दिनुको पछाडि भने कारण छ । ‘सुपर’ भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था हो । जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ ‘वुल्फ’ भन्ने गरिएको छ ।
हेर्नुहोस् ‘सुपर ब्लड वुल्फ मुन’का मनमोहक तस्बिरहरू :-