Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

बुधबार विहान दश बजेतिर नारायणगढ पुग्दा शहिदचोकस्थित लक्ष्मीनारायण वस्त्रालय वरीपरी मान्छेको भीड थियो । भीड छिचोल्न नसकिएका कारण सवारी साधनलाई निर्वाधरुपमा सञ्चालन हुन समेत हम्मे हम्मे भयो । वरीपरी प्रहरीको उपस्थिति थियो । अधिकांश रमितेहरु कोहि घरका छतबाट त कोहि सडकमै बसेर रमिता हेरिरहेका थिए । होहल्लाका बीचमा भर्खरै नारायणगढ छिर्ने जो कोहिलाई यो रमिता के को भनेर छुट्याउन गाह्रो भयो । शहिदचोकमा के भएको हो र के हुँदैछ भन्ने कुरो भीडबाटै शुरु भएर भीडमै हराउँथ्यो ।

लक्ष्मीनारायण वस्त्रालयले राजस्व छली गरेको भन्ने सुराकीको आधारमा राजस्व अनुसन्धान विभागको टोली सो पसलमा आइ अनुसन्धान गर्न खोज्दा स्थानीय व्यवसायी, छरछिमेक र उनका आफन्तले विरोध जनाउने क्रममा त्यो भीड जम्मा भएको रहेछ । यहि क्रममा विभागको अनुसन्धान टोलीले पसल शिल समेत गरिदिएछन् । तर यसरी छापा मार्न आउँदा आफूहरुलाई जानकारी गराएर मात्रै आउनुपर्ने र उद्योगी व्यवसायीको संगठन उद्योग वाणिज्य संघसंग समन्वय गरेर मात्रै आउनुपर्ने त्यहाँ उपस्थित व्यावसायीको भनाई थियो ।अझ टोलीले पसलका साहुसंग दश लाख घुस मागेको भन्ने हल्ला समेत भीडमा चल्यो । एकछिनसम्म आफैले सिल गरेको वष्त्रालय र वरीपरीको क्षेत्र अब राजस्वका कर्मचारीको अधिनमा रहेन । व्यापारी र त्यहाँ उपस्थित उद्योग वाणिज्य संघ नारायणगढका केहि पदाधिकारीहरुको व्यापक विरोध भएपछि आफैले लगाएको सील पनि राजस्वको टोलीले खोलिदियो । नियन्त्रणमा लिएर पोकोपुन्तुरो पारेको कागजात पनि उनीहरुलाई नै जिम्मा लाइदियो । अनि भिडबाट राजस्वका टोलीलाई जिउँदै जलाउने उनीहरुका घरमा आगो लगाइदिनेसम्मका धम्की आउन थालेपछि टोली त्यहि कतै शरण लिएर बस्यो । समयक्रमसंगै भिड बाक्लिदै थियो । सडक नारायणगढका स्थानिय व्यापारी र बजार गर्न आएका र्सवसाधारणले भरिन थालेपछि प्रहरी पनि सशंकित बन्यो । प्रहरी र राजस्वका टोलीलाई लक्षित गरेर ढुंगा वर्षिन थाले । प्रहरीले पनि अश्रुग्याँस र हवाई फायर गरेर भिडलाई तितर वितर गर्ने प्रयास गरयो । त्यो भिडले पुलचोक पुगेर रोकिराखेको राजस्वको गाडीमा आगजनी गरे । गाडीमा जल्दै गरेको आगो निभाउन भरतपुर नगरपालिकाबाट आएको दमकललाई समेत भिडले ढुंगा हानेर लखेट्यो । दमकल समेत तोडफोड भयो । आगो निभाउन आएका दमकल चालक र त्यहाँका कर्मचारी भिडको ढुंगा खाँदै ज्यान जोगाएर दमकल सहित भागे ।

अनि बजार एक्कासी रणभूमि भयो । सडकभरि ढुंगा इट्टा छरिन थाले । समाचार संकलन गर्न गएका पत्रकार र घरघरमा बसेका सर्बसाधारण पनि अश्रुग्याँसको प्रहारले आँखा मिच्न थाले । केहि बेरपछि गणेश हल नजिकै रहेको प्रहरी बिटमाथि पनि त्यहि भिडले रिस पोख्यो । बिट पनि आगोले दनदनी जल्यो । जलेको बिटमाथि पनि भिडले ढुंगा हानिरहयो । लाग्थ्यो, राजस्वका टोली नै त्यहि बिट हो । अनि नारायणगढको बजार नारायणगढकै मान्छेलाई जिम्मा लगाएर प्रहरी भागेपछि स्थिति सम्हालिदै गयो । यतिबेला चाहि नारायणगढ शान्त छ, तर एउटा अशान्ति र अराजक शैलीको आलो घाउ लिएर ।

यो घटनाक्रमले के देखायो भने नारायणगढबासीलाई पनि अराजकताले छोएछ । राजस्व विभागको अनुसन्धान गर्ने शैलीको विरोध के आगजनी गरेरै गर्नुपर्छ ? कर्मचारीले घुस खाएको र मागेको विरोधको समाधान प्रहरी बिट जलाएर हुन्छ – अनि र्सवसाधारणलाई सास्ती दिदैमा र प्रहरीमाथि ढुंगा बर्साउंदैमा राजस्व छलीको आरोप मत्थर पार्न सकिन्छ ? यदि यसो होइन भने त्यो अराजक भिडलाई किन साथ दिए नारायणगढबासीले ?

लक्ष्मीनारायण वस्त्रालयका मालिक लक्ष्मीनारायण श्रेष्ठ नारायणगढका प्रतिष्ठित कपडा व्यापारी हुन् । उनकै पसलबाट धेरै चितवनवासीले कपडा किनेर लगाउँछन् । सर्बसाधारणले कपडा किन्दा त्यो कपडा नारायणगढसम्म ल्याउँदासम्मको विक्री मूल्य जोडेर पैसा तिर्नुपर्छ । कर, घरभाडा लगायत अन्य खर्च समेतलाई जोडेर पसलेले बिक्री मूल्य निर्धारण गर्छन् । नारायणगढमा पाईने नुनदेखि सुनसम्मको भाउ यसरी नै तय गरिन्छ । तर नारायणगढमा पाइने सामानहरु कसरी आएका छन् र यी सामान प्रयोग गरेवापत सर्बसाधारणदेखि मुलुकसम्मलाई के कस्तो फाइदा भएको छ भन्ने बारे कमैलाई मात्र थाहा छ । हरेक व्यापारीले सामान वेचेर कमाएको नाफा र त्यो सामान पसलसम्म ल्याउँदाको प्रक्रिया र परिणामलाई आधार मानेर राज्यलाई कर बुझाउनुपर्छ । यो हेर्ने निकाय भनेको जिल्लामा आन्तरिक राजस्व कार्यालय हो । उसले हेर्न नसकेमा केन्द्रमा विभागले हो । यहि विवरण हेर्ने सवालमा नै बुधबार नारायणगढमा त्यो अराजक स्थितिको सिर्जना भएको हो ।

सर्बसाधारणलाई सामान बेच्ने र सामान ल्याउने सवालमा अधिकांश व्यापारीले राजस्व छल्ने गरेको आरोप लाग्दै आएको छ । राजस्वका कर्मचारी पनि व्यापारीसंग मिलेर यस्तो धन्दामा संलग्न भएको भन्ने सुनिन्छ । जब उनीहरुबीच कुरा मिल्दैन अर्थात् राजस्व छली गरेवापत राजस्वका कर्मचारीले भनेजति रकम व्यापारीले उनीहरुलाई दिन सक्दैनन्, उनीहरु अनुसन्धान र छापाको शैली अपनाएर पसलेहरुमाथि धावा बोल्छन् । अनि यस्ता घटना बाहिर आउँछन् । सकेसम्म कागज मिलाएर व्यापारी र राजस्वका कर्मचारीले राज्यलाई खोक्रो बनाउँछन् । नसके एकापसमा आरोप प्रत्यारोप गरेर घटना सडकमा निस्कन्छ । सर्बसाधारण जनता चाहि सँधैं मारमा । उनीहरुबीच कुरो मिले आफैलाई पैसाको घाटा । कुरो नमिलेर घटना बाहिर उही सँधैं सबैको जस्तो सडक सास्ती ।
लक्ष्मीनारायण बष्त्रालयले राज्यको नीति नियमअनुसार नियमित कर बुझाइरहेको पनि हुनसक्छ । राजस्वका कर्मचारीले असल नियतले नै वस्त्रालयमाथि शंका गरी अनुसन्धानका लागि शिल लगाएको पनि हुनसक्छ । तर न राजस्वका कर्मचारीको असल नियत सर्बसाधारणले जान्ने मौका पाए, न त वस्त्रालय राज्यका नीति नियम अनुसार चलेको भन्ने र्सवसाधारणलाई जानकारी प्राप्त भयो । साँच्चै लक्ष्मीनारायणले कर छलेकै थियो भने आफ्नो अनुसन्धानलाई फितलो पार्दै आफैले लगाएको शील किन तोडे राजस्वका टोलीले – अनि लक्ष्मीनारायणको पनि नियत सफा थियो भने राजस्वका टोलीले गरेको अनुसन्धानलाई प्रभावित गर्ने किसिमले आगजनी गर्नेदेखि टोलीलाई बन्धक बनाउने घटनासम्म नारायणगढवासी किन साक्षी भए ?
अनुसन्धान र छापा भन्ने कार्य सम्बन्धित व्यापारी र यसका संघसंगठनलाई जानकारी दिएर गरियो भने प्रभावकारी हुँदैन । तँ चोर होस्, तँलाई पक्रन आउँछु भनेर प्रहरी आयो भने चोर घरमै बस्छ कि कुलेलम ठोक्छ ? यो सबैले जान्ने कुरो हो । यहाँ भन्न खोजिएको बाजा बजाएर र झ्याली पिटेर गरेको अनुसन्धान पटक्कै प्रभावकारी हुँदैन भन्ने हो । यदि सम्बन्धित व्यापारी र यसका संघसंगठनलाई जानकारी दिएर अनुसन्धान गर्ने शैली राजस्वको छ भने यसो गर्न हुँदैन । यो शैली बदलिनुपर्छ । साथसाथै राजस्वका हरेक निकायका कार्यशैली पनि पारदर्शी हुनुपर्छ । आफ्नो स्वार्थका लागि मात्रै व्यापारी र कर्मचारीबीच कागज मिलाएर खाने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । यसो गरियो भने मात्रै व्यापारीले पनि सहि तरिकाले व्यापार गर्न सकछन्, अनि राजस्वको अनुसन्धान पनि प्रभावकारी र पारदर्शी बन्न सक्छ ।
घटना घटिसकेपछि उद्योग वाणिज्य संघले आगजनी र तोडफोडमा व्यापारीको संलग्नता नभएको भनिरहँदा यस्तो दण्डहिनतालाई प्रश्रय दिने आफ्नै व्यापारी र भीडको पहिचान गर्न किन सकिरहेको छैन – किनभने भीडले निकालेका आवाज सँधैं राम्रा र हाम्रा मात्रै होइनन् भन्ने कुरो सच्चा व्यवसायीले बुझ्नसक्नुपर्छ । होइन भने नारायणगढमा भएको अराजकतालाई जिम्मा लिन सक्नुपर्छ । ***

 

 

 

 

तपाईको प्रतिक्रिया