मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसक्दा लोकतान्त्रिक स्थायित्वमा त असर परिरहेको छ नै साथै विकास, निर्माणका काममा समेत नकारात्मक असर परेको छ । राजनीतिक दल शान्ति प्रक्रिया र बिकास निर्माणमा तन, मन, धनले समर्पित हुनुपर्ने घडिमा उल्टै सत्ताकेन्द्रित प्रवृत्तिमा ढल्किएकाले स्थिति अत्यन्तै अन्योलपूर्ण बनेको छ । २०६२/६३ को जनान्दोलनले राजनीतिकरूपमा मुलुकलाई कहाँको कहाँ पुर्याएको स्थिति भए तापनि प्राप्त उपलब्धिको संरक्षण तथा बहुआयामिक उन्नतिका लागि मार्गप्रशस्त नभइसकेको तिक्ततापूर्णस्थिति हामीमाझ छ । मुलुकको सर्वतोमुखी विकासका लागि विदेशमा बसोबास गर्दै आएका नेपालीले अभिरूचि नदेखाएका होइनन् तर तिनको आकाङ्क्षालाई पनि सार्थक तुल्याउने दिशामा अर्थपूर्ण काम भएको पाइँदैन ।
संयुक्त राज्य अमेरिका, युरोप, जापानलगायत विश्वका विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली मातृभूमिमा गच्छे अनुसार योगदान गर्न उत्सुक हुनु राम्रो कुरा हो । केहि समय अगाडि एनआरएनले जापानमा गरेको नेपालमा संयुक्त लगानी सम्बन्धी कार्यक्रममा भएको छलफलले मातृभूमिमा नेपाली लगानी गर्न उत्सुक रहेको देखिन्थ्यो । उनीहरु मातृभूमिप्रति भएको सदभाव र अमिट उत्सुकतालाई गैर आवासीय नेपालीले विभिन्न अवसरमा अनेक कोणबाट प्रकट गर्दै आएका पनि छन् तर अपेक्षा गरिएअनुसार व्यवहारिक धरातलमा योगदान अनूदित हुन सकेको छैन । गैर आवासीय नागरिकबाट मुलुकले अत्यन्तै उपलब्धि हासिल गर्न सक्नेमा शंका रहँदैन । विभिन्न देशका उदाहरणबाट पनि यसको शुभसन्देश पाउन सकिन्छ । भारततर्फ दृष्टि दिँदा पनि बलियो र राम्रो दृष्टान्त के पाइन्छ भने त्यहाँ गैर आवासीय भारतीयले विविध क्षेत्रमा अनेक देन दिइरहेका छन् । गैर आवासीय नेपालीबाट पनि उल्लेख्य योगदान जुट्ने सम्भावना छ । यस सम्भावनालाई विस्तृत फाँट उपलब्ध गराउनेतर्फ काम हुन नसकेको यथार्थचाहिँ स्वीकार्नैपर्छ । झन्डै सात वर्षअघि स्थापित गैर आवासीय नेपाली संघले बारम्बार मातृभूमिप्रतिको आफ्नो अगाध आस्था र आत्मीयता भाव दर्शाउँदै आए तापनि तिनलाई यथेष्ट वातावरण जुटाउन नसकिएको स्थिति छ ।
यसबेला गैर आवासीय नेपालीले दोहोरो नागरिकताको विषयलाई अत्यन्तै महत्वका साथ उठाइरहेका छन् । नेपाली विदेशी नागरिकता लिँदा पनि नेपाली नागरिकता रद्द हुन नहुने तिनको तीव्र माग छ । काम र परिस्थितिले केहि वर्ष मुलुकबाट टाढा रहदैंमा मुलुकप्रति उनीहरु माया प्रेम र सदभाव कहिल्यै नमर्ने उनीहरु बताउँछन् । उनीहरु आफुले कमाएको सम्पति मुलुकको बिकासमा सहि सदुपयोग गर्न र आफ्नो लगानीको सुरक्षा गर्नका लागि सहज वाताबरणको लागि दोहोरो नागरिकताको माग अघि सारि रहेका छन् ।विश्वका धेरै मुलुकले दोहोरो नागरिकतालाई सहज एवं वैध मानेको अवस्थामा यहाँ पनि त्यस्तै मान्यता रहनुपर्ने जिकिर गैर आवासीय नेपालीको छ ।
दोहोरो नागरिकताको विषयलाई अन्योलमै राखिरहनुको सट्टा यस सम्बन्धी व्यापक अध्ययन, अनुसन्धान, बहस, अन्तरक्रिया आदि गरेर ठोस निष्कर्षमा पुग्नु मुलुकको बिकासमा एक कदम अगाडि बढ्नु हो ।
अहिले मुलुकको अर्थतन्त्रमा विदेशमा बस्ने नेपालीको विशिष्ट हात रहेकामा विमति रहँदैन । विप्रेषणले गर्दा खेरि यहाँको अर्थतन्त्रलाई ठूलो ऊर्जा प्राप्त भइरहेको छ । गैर आवासीय नेपालीका धन र प्रविधि मुलुकभित्र ल्याइएका खण्डमा जलस्रोत, पर्यटन, पूर्वाधार विकास, कृषि इत्यादि विभिन्न क्षेत्रमा अभूतपूर्व उन्नतिको सम्भावना रहेकालाई सायदै कसैले अस्वीकार गर्लान् तर यसका लागि उपयुक्त धरातल भने निर्माण हुनैपर्छ । गैर आवासीय ऐन अपुरो रहेको, कतिपय राम्रा पक्ष पनि कार्यावन्यन तहमा सुस्त रहेको जस्ता गुनासालाई मेट्न नसकिने होइन, ऐन अपुरो छ भने पूर्णता दिन केको ढिलाइ ? कार्यान्वयन तहलाई पनि चुस्त बनाउन नसकिने होइन । जहाँसम्म दोहोरो नागरिकताको प्रश्न छ, यसमा व्यापक हिसाबबाट गम्भीर बहस भई आएको निष्कर्षलाई बन्ने संविधानमै प्रत्याभूत गर्न सकिन्छ । मूलकुरो, गैर आवासीय नेपालीलाई मातृभूमिमा योगदान गर्न जे जत्ति सुरम्य परिवेश दिन सकिन्छ, त्यसमा चुक्नु ठिक होइन । गैर आवासीय नेपालीले पनि दोहोरो नागरिकता आदिको विषयलाई केवल दोहोरो लाभ हासिल गर्न सकिने हतियारका रूपमा नलिई सच्चा राष्ट्रभक्तको दायित्व निर्वाह गर्न पुनीत अवसरका रूपमा लिनु जरुरी छ । ***
(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य हुन)