Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो- पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने महान लक्षकासाथ लुम्बिनी भ्रमण बर्ष २०१२ मनाउन लागिएको बताए । ’पर्यटनका लागि सबै र सबैका लागि पर्यटन’ भन्ने मुल नाराकासाथ मनाउन लागिएको लुम्बिनी भ्रमण बर्ष सफल पार्न सरकार, स्वदेश तथा डायस्पोरामा रहेका नेपाली जनता र नागरिक समाजका सबै एक भई प्रतिबद्ध हुनुपर्ने बिचार ब्यक्त गरे ।

लुम्बिनी भ्रमण बर्ष २०१२ को प्रबर्द्धन गर्ने सिलसिलामा जापान आएका मन्त्री बिष्टको स्वागतमा एनआरएन जापानले शुक्रबार साँझ नागानोको तातेसिनास्थित रिसोर्ट होटल तातेसिनमा भेटघाटसहितको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बिष्टले लुम्बिनी भ्रमण बर्ष सफल पार्न आम नागरिकमा सचेतना अभियान चलाउन आवश्यक रहेको बताए । नेपालको पर्यटकीय महत्वबारे स्पष्ट पार्न हामीले अझ धेरै काम गर्न बाँकी छ, लुम्बिनी भ्रमण बर्षको अवसरमा हामी क्रमश सबै कामहरु योजनाबद्ध ढंगले सम्पादन गर्दै जाने छौं- मन्त्री बिष्टले भने- ‘१ पटक लुम्बिनी जाऊँ’ अभियानमार्फत सरकारले जनचेतना कार्यक्रम शुरु गरिसकेको छ, आम नागरिकलाई सजग र सचेत गराउँदै पर्यटक गाईडलाई स्तरिय प्रशिक्षणको ब्यवस्था गरी पर्यटक भनेका पाहुन हुन् र तिनीहरुलाई सभ्य, शिष्ट र सम्मानजनक ब्यवहारका साथै ३ वटा ‘सु’ अर्थात सुरक्षा, सुबिधा र सुग्घरसफामा ध्यान दिनुपर्दछ’ – उनले भने । यसका साथै मन्त्री बिष्टले लुम्बिनी सम्बन्धि नकरात्मक प्रचारलाई चिर्दै लुम्बिनी भ्रमण बर्षको प्रचारका लागि नेपालका ठूला राजनेताको जापान भ्रमण गराई उनीहरुमार्फत जापानका सरकार र यहाँका जनताको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसंगमा मन्त्री बिष्टले एनेकपा माओबादीभित्रको अन्तरद्वन्द्वले शान्ति र संबिधानमा कुनै असर नपर्ने र पार्टी पनि नफुट्ने ठोकुवा गरे । उनले भने ‘ढुक्क हुनुहोस् पार्टी फ़ुट्दैन, हदै भयो भने सानो हिस्सा चोइटिएर जान सक्छ । त्यसले पार्टी जीवनमा कुनै असर पर्दैन । सेना समायोजन प्रक्रिया लगभग सकिएको अवस्था छ । पहिचानसहितको राज्यको पुनर्संरचना, कार्यकारी राष्ट्रपतिय शासन प्रणाली, समावेशी र समानुपातिक निर्वाचन प्रणाली भएको संबिधान जेठ १४ भित्र निर्माण हुन्छ’ – मन्त्री बिष्टले भने ।

यसैगरी सो समारोहमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले लुम्बिनी भ्रमण बर्षलाई सफल पार्न प्रभावकारी कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बिचार ब्यक्त गरे । कार्यक्रममा लुम्बिनी भ्रमण बर्षका लागि सद्भावना दूत तथा नेपालका लागि जापानका पूर्व राजदूत तात्सुनो मिजुनोले नेपाल जापान बिच रही आएको सम्बन्धलाई थप सुदृढ पार्दै लुम्बिनी भ्रमण बर्ष प्रबर्द्धन गरिनुपर्ने धारणा ब्यक्त गरे ।

‘लुम्बिनी भ्रमण बर्ष-२०१२ र हाम्रो दायित्व’ बिषयक अन्तरक्रिया कार्यक्रममा दूतावासका  उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन आईसीसी कोषाध्यक्ष भवन भट्ट, एनआरएन एशिया प्यासिफिकका उपसंयोजक किरणविक्रम थापालगायतले लुम्बिनी भ्रमण बर्षका सम्बन्धमा आ-आफ्नो बिचार ब्यक्त गरेका थिए भने अन्य सहभागीहरुले तत्सम्बन्धमा बिभिन्न जिज्ञासाहरु राखेका थिए र उनीहरुको जिज्ञासाको मन्त्री बिष्ट र राजदूत डा. भट्टराईले जबाफ दिएका थिए ।

अन्तमा, कार्यक्रमका सभापति एनआरएन जापानका अध्यक्ष ओम गुरुङले समापन मन्तब्य राख्दै लुम्बिनीमा एनआरएन जापानले ५ वटा शौचालय निर्माण गर्ने घोषणा गरे । उपाध्यक्ष चिरिञ्जीवी थापाको सञ्चालन र अर्का उपाध्यक्ष बिष्णुहरि रेग्मीको स्वागत भाषण रहेको सो कार्यक्रममा सल्लाहकार डा. सुदिप अधिकारीले धन्यबाद मन्तब्य राखेका थिए । ***

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया