टोकियो- वर्ल्ड कोशिकी कराँते फ़ेडेरेशनको आयोजनामा जापानको चिवा प्रान्तको उरायासु स्पोर्टस् सेन्टरमा भएको एक प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरुले कास्य र रजत पदक जित्न सफल भएका छन् ।
यही जुनको २५ र २६ मा भएको खेलमा १७ देशका खेलाडीहरुको सहभागिता रहेको थियो । यस खेलमा नेपालको तर्फबाट पहिलो पटक सहभागी भएको हो ।
नेपालको तर्फबाट १८ वर्ष भन्दा कम समूहमा सुक्ष्मा तामाङले काता र कुमोतेमा रजत पदक जितेकी हुन् भने १५ वर्ष कम उमेर समूहमा सुक्ष्मा श्रेष्ठले कास्य पदक हाता पारेकी छिन् ।
सिनओकुवोस्थित नमस्ते गजल रेष्टुरेन्टमा भएको पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्थाका विशेष सल्लाहकार नोवु मोचिजुकीले ५० औं देशमा शाखा रहेको यस खेलमा नेपालका खेलाडीहरुले पहिलो पटक सहभागी भएर पनि पदक जित्न सफल भएकोमा धन्यवाद दिनुभयो । त्यसैगरी उहाँले कल्चरल प्रोग्राममा नेपालको तर्फबाट लाखे नाच प्रस्तुत गरिएकोमा पनि विशेष धन्यवाद दिनुभयो । नेपाली लाखे नाच जापानीहरुले पनि निकै मन पराएर कौतुहलतापूर्वक हेरेको स्मरण गराउनुभयो ।
सिन्धुपाल्चोकका भैरव श्रेष्ठको नेतृत्वमा लाखे नाच पनि प्रस्तुत गरिएको थियो । पत्रकार सम्मेलनमा नेपाल वादो फेडेरेशनका अध्यक्ष सन्जय लामा, प्रशिक्षक अरुणकुमार कार्की, एशिया चिफ प्रशिक्षक कोम्यो मिलन श्रेष्ठ, खेलकूदप्रेमी इन्द्रवहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा खेलमा सहभागी खेलाडीहरुले पनि अा-आफ्नो अनुभव सुनाएका थिए । प्रशिक्षक अरुणकुमार कार्कीले खेलाडीहरुले आफ्नै खर्चमा जापानजस्तो देशसम्म आएर पहिलो पटकमै निकै उत्साहजनक खेल प्रदर्शन गरी पदक जित्न सफल भएकोमा बधाइ तथा सहयोगी सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपाल वादाे फिडेरेशनका अध्यक्ष सन्जय लामाले जापानमा खेल खेलेर खेलाडीहरूले धेरै कुरा सिकेको विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरी पोल्याण्डमा हुने अागामी खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरूलाइ हाैसला दिनुभएको थियो । ***