समाचार सुन्नुहोस :
काठमाडौँ – कतार एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलि (मंगलबार) देखि दैनिक उडान सुरु गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार एअरवेजले सातामा सातै दिन उडान भर्नेछ।
कतार एयरवेजले मंसिर १५ सम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा मार्गमा दैनिक उडान गर्ने गरी विन्टर सेड्युल पेस गरेको थियो। यसअनुसार, एयरलाइन्सले कुल १९ उडानको अनुमति पाएको छ।
हाल, कतार एयरवेजले काठमाडौँबाट दैनिक तीनवटा उडान गर्दै आएको छ। कतार एयरवेजको उडान थपिएपछि भैरहवाबाट उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको संख्या पाँच पुगेको छ।