काठमाडौं – अस्ट्रेलियाको मेलबर्नमा पर्ने सेन्ट अल्बन्समा एक नेपाली युवकको आगलागीमा परेर मृत्यु भएको छ । आगलागीमा परेर काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ भत्केपाटी गाम्चाका ३४ वर्षीय विशाल केसीको मृत्यु भएको हो ।
अहिले उनको पोस्टमार्टम र अरू कानुनी प्रक्रिया भइरहेको उनका पारिवारिक सदस्यले बताएका छन् । यो प्रक्रिया सकिएपछि शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइने केसीका आफन्त सुशील बाँस्कोटाले बताए । केसी केही साथीहरूसँग बसिरहेका थिए। उनी बसिरहेकै घरमा आइतबार भएको आगलागीमा परेर उनको निधन भएको हो ।
आगलागीको खबर प्राप्त भएपछि उद्धारका लागि तत्कालै पुगे पनि उनलाई बचाउन नसकिएको अग्निनियन्त्रकले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । केसीका छिमेकीहरूले त्यहाँका सञ्चार माध्यमलाई बताएअनुसार, शनिबार साँझ केसीले साथीहरूसँगै तिहारको रमाइलो गरेका थिए । तर, बिहानै उनी बसेको ठाउँमा आगो लागेपछि भाग्न सकेनन् ।
उद्धारकहरूको प्रयास पनि सफल हुन सकेन । बाँस्कोटाका अनुसार, केसीको विवाह भएको थिएन । उनी १० वर्षअघि अस्ट्रेलिया गएका थिए ।