Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

टोकियो – यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई दिइने भएको छ । हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

उनीहरूले विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियान चलाइरहेका छन् । उक्त संस्था सन् १९५६ मा स्थापना भएको हो । पारमाणविक हतियारले कस्तो असर पुर्‍याउँछ भन्ने कुराको आफूहरू नै साक्षी रहेको बताउँदै उक्त संस्थाले आणविक हतियार कहिल्यै प्रयोग गर्न नहुने कुराको वकालत गर्दै आएको छ ।

झन्डै ८० वर्षअघि दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको थियो । ६ अगस्ट १९४५ मा जापानी समय अनुसार बिहानको आठ बजे हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो । ८० हजारभन्दा बढी मानिसले तत्कालै ज्यान गुमाए। त्यसको तीन दिनपछि ९ अगस्टमा नागासाकीमा अर्को बम खसालियो।

नागासाकीको त्यो विपदमा ४० हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो। मानव इतिहासकै सबैभन्दा भयंकर, नयाँ तथा क्रूर घटनाका कारण जापानी सम्राट् हिरोहितोले १५ अगस्टमा रेडियो सन्देशमार्फत आत्मसमर्पण गरेको घोषणा गरेका थिए । तापको राप र रेडियो विकिरणका कारण कालान्तरमा हिरोसिमामा १ लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो। नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन्।

पहिलो पटक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो। यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ। अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने अक्टोबर १४ मा घोषणा हुने भएको छ।

गत वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिएको थियो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।***

तपाईको प्रतिक्रिया