Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – टोकियोमा शनिबार नेपालीहरुले वरिष्ठ सञ्चारकर्मी भूषण दाहालसंग अन्तरक्रिया गरेका छन् । सो कार्यक्रममा बोल्दै दाहालले जापानलाई नेपालजस्तै नबनाउन नेपालीहरुसंग आग्रह गरे । जापान जस्तो विकसित मुलुकमा आएर यहाँको राम्रा सँस्कार, सँस्कृति, अनुभव, ज्ञान, सीप हासिल गर्नुका साथै आय आर्जन गरी आफ्नै देशमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उनले विदेशमा बस्ने नेपालीहरुले नेपालको विकासमा प्रत्यक्ष अप्रत्यक्ष टेवा पुर्‍याईरहेको भएता पनि विदेशमै बसेर निर्णायक भूमिका भने खेल्न नसकिने बताए । ‘तसर्थ लामो संघर्षपछि ब्यवस्था परिवर्तन भएता पनि अवस्था परिवर्तन हुन नसकेको यथार्थताको आज हामी सबै साक्षी बसिरहेका छौं’ – उनले भने -‘अवस्था परिवर्तन गर्नका लागि हरेक पाँच वर्षमा हुने आम निर्वाचनमा सक्षम र योग्य प्रतिनिधि छनौट प्रक्रियामा सरिक हुनु आवश्यक छ |’

‘कुल जनसँख्याको करीव २५ प्रतिशतभन्दा बढि नेपाली युवाहरुको हिस्सा मुलुक बाहिर छन्, यो निर्णायक र सचेत मत हो यसको सदुपयोग हुन सक्यो भने योग्य नेतृत्व चयनमा सकारात्मक परिणाम आउन सक्ने देखिन्छ’ – उनले थपे ।

निजी भ्रमणको सिलसिलामा जापान आएका दाहालसंग टोकियोका नेपालीहरुले अन्तरक्रिया गरेका हुन् ।

‘मुलुकप्रति विदेशमा बस्ने नेपालीको चासो, चिन्ता र भूमिका’ बिषयक उक्त अन्तरक्रिया कार्यक्रमको सिटी एक्सप्रेस र समुद्रपारि डट कमले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय समितिका पूर्व उपाध्यक्ष समेत रहेका सिटी एक्सप्रेसका अध्यक्ष महेशकुमार श्रेष्ठको सभापतित्वमा भएको सो अन्तरक्रिया कार्यक्रमको प्रारम्भमा श्रेष्ठले कार्यक्रममा उपस्थित सबैमा हार्दिक स्वागत गर्नुका साथै नजिकै आईरहेको बडा दशैंको उपलक्षमा शुभकामना ब्यक्त गरे । यसैगरी उनले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुको औचित्यबारे प्रकाश पार्दै बिषयवस्तुमा प्रवेश गराएका थिए ।

विषयवस्तुमाथि प्रकाश पार्दै वक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए । जसअनुसार नेपाली ब्यवसायी संघ जापानका उच्चस्तरिय समितिका सदस्य समेत रहेका ब्यवसायी शालिकराम भण्डारीले नेपालको मिडिया क्षेत्र जिम्मेवार एवं सन्तुलित बन्न नसक्दा नकारात्मक बिषयवस्तुले बढि प्राथमिकता पाएको जसले गर्दा नेपाली समुदायमा चरम निराशा उत्पन्न गराएको धारणा ब्यक्त गर्दै यसको सुधार हुनुपर्नेमा जोड दिए । यसैगरी एनआरएन जापानका उपाध्यक्ष सुभाष लामिछानेले युवा बेरोजगार समस्या हल गर्न उनीहरुलाई उद्यमशिलतातर्फ प्रोत्साहित गर्दै स्वदेशमै सुरक्षित भविष्यको आशा जगाउन राज्यले तदअनुरुपको नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा ब्यक्त गरे । यसैगरी एभरेष्ट इन्टरनेशनल स्कुलका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले जापानको शिक्षा नीतिका राम्रा पक्षहरुबाट नेपालले पनि सिक्न सकिने विचार ब्यक्त गर्दै जापानमा भएका नेपाली नानीबाबुहरुका लागि नेपाली पाठ्यक्रमअनुसारको गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित एभरेष्ट इन्टरनेशनल स्कुलका साथै जापानमा पछिल्ला समयमा अन्य इन्टरनेशनल स्कुलहरु पनि खुल्ने क्रम जारी रहेको बताए । अन्यत्रका नेपाली डायस्पोरामा पनि यो मोडेल उपयोगी हुन सक्ने उनको धारणा थियो । यसैगरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन शेरचनले जापानमा ठूलो संख्याका नेपालीहरु रेष्टुरेन्ट ब्यवसायमा संलग्न रहेको बताउँदै रेष्टुरेन्ट ब्यवसायबाट आर्जित सीप, अनुभव र दक्षताको उपयोग गरी नेपालमा पनि ब्यवसायको नयाँ नयाँ प्रयोग गर्न सकिने संभावना उच्च रहेको बताए । त्यसका लागि राज्यका सम्बन्धित निकायहरु ब्यवसायीमैत्री हुनुपर्नेमा जोड दिए ।

सञ्चारकर्मी दाहालसंग कार्यक्रममा अन्य सहभागी नेपालीहरुले पनि खुलेर अन्तरक्रिया गरेका थिए । अन्तरक्रिया गर्नेहरुमा गृष्मा पौडेल, गोकर्ण बर्तौला, कमला लम्साल काप्री, देवीलाल भण्डारी, सुवास श्रेष्ठ, भूपिगोविन्द श्रेष्ठ, पत्रकारहरु गोकर्ण अधिकारी, विश्वास आचार्य लगायतका थिए । कार्यक्रमको सहजीकरण भने समुद्रपारि डट कमका प्रधानसम्पादक तिलक मल्लले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाली ब्यवसायी संघ (NBA) जापानका अध्यक्ष विजय थकालीले नजिकै आईरहेको बडा दशैंको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै प्रमुख वक्ता लगायत कार्यक्रममा सहभागी सबैमा धन्यबाद ज्ञापन गरेलगत्तै सभाध्यक्ष श्रेष्ठले कार्यक्रम समापन गरेका थिए ।***

तपाईको प्रतिक्रिया