Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

जापान वरपरको सुरक्षा वातावरण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर : प्रधानमन्त्री इशिबा

टोकियो – जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार संसद्को दुवै सदनबाट बहुमत प्राप्त गर्दै उनी औपचारिक रुपमा प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री इशिबाले मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताएका छन् । यद्यपि उनले कुनै विशेष खतराको नाम उल्लेख गर्नुभएन । ‘हाम्रो मुलुक वरपरको सुरक्षाको वातावरण दोस्रो विश्वयुद्धको समाप्तिपछिको सबैभन्दा गम्भीर छ,’ प्रधानमन्त्रीका रूपमा अनुमोदन भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले भने ।

६७ वर्षीय इशिबा पूर्व रक्षामन्त्री हुन् । उनले पहिले चीनको द्रुत सैन्य निर्माण, उत्तर कोरियाली मिसाइल प्रक्षेपण र अन्य सुरक्षा खतराको सामना गर्न एसियाली नाटो सिर्जना गर्न आह्वान गरेका थिए । उनले अगाडि भने, ‘जापान-अमेरिका गठबन्धनलाई आधार बनाएर हामी जापान र यस क्षेत्रको शान्तिलाई साकार गर्न कूटनीति र रक्षाको प्रयोग गर्दै मित्रवत् र समान विचारधारा भएका देशहरूको दायरा विस्तार गर्नेछौँ ।’

अर्थतन्त्रका सन्दर्भमा जापान बैंकको अत्यन्त खुकुलो नीतिबाट बाहिरिन समर्थन गर्ने इशिबाले आफ्ना पूर्ववर्ती फुमियो किशिदाको कामलाई व्यापक रूपमा जारी राख्ने बताए । ‘जापानी अर्थतन्त्र अपस्फीतिबाट बाहिर निस्कने कि ननिस्कने भन्ने सङ्घारमा छ, म अपस्फीति अन्त्य गर्नलाई प्राथमिकता दिन्छु र हाम्रो अर्थतन्त्र र वित्तीय नीतिहरूलाई अगाडि बढाउनेछु,’ उनले भने ।सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतीहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताए । उनले पाँच प्रमुख चुनौतीहरूको सामना गर्नुपर्नेछ ।

  • सुरक्षा खतराहरू
  • सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)मा भएका काण्डहरू
  • मन्द अर्थतन्त्र
  • बुढ्यौली जनसंख्या
  • जलवायु नीति

सुरक्षा चुनौतीका रूपमा चीनको आक्रामक गतिविधि र उत्तर कोरियाको मिसाइल परीक्षणहरूले जापानमा तनाव बढाएको छ । इशिबाले जापानको रक्षा क्षमतामा वृद्धि र एशियाली नेटोको परिकल्पना अघि सारेका छन् ।

एलडीपी काण्डहरूबारे आफू जानकार रहेको बताउँदै इशिबाले पार्टीलाई न्यायपूर्ण र निष्पक्ष बनाउने प्रतिबद्धता जनाएका छन् । आर्थिक मन्दीलाई सुधार गर्न उनले बैंक अफ जापानको नीतिलाई समर्थन गर्दै कर्पोरेट कर वृद्धि गर्न सुझाव दिएका छन् । जापानको बुढ्यौली जनसंख्यालाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रमा पुनरुत्थानलाई आफ्नो जीवनको काम भनेका छन् ।

जलवायु नीतिमा इशिबाले नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्दै २०५० सम्म कार्बन तटस्थता लक्ष्य राखेका छन्, तर जापानको निर्भरता जीवाश्म इन्धनमा उच्च रहेकोले थप चुनौतीहरू रहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया