आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – भोजन खान धेरैलाई सजिलो लाग्छ । तर, भोजन खान नजानेर नै धेरै रोगहरु लाग्ने गर्छ । यो हिसाबले हेर्दा भोजन गर्नु पनि सजिलो काम भने होइन । हामीले खाएको खानाबाट पूर्ण पौष्टिकता प्राप्त गर्नका लागि जेसुकै कुरा पनि धेरैबेरसम्म चपाएर खानुपर्छ ।

खाना खानु जति जरुरी छ त्यति नै चपाउनु पनि महत्वपूर्ण छ । राम्रोसँग चपाएर खाँदा कम खानाले पेट भरिनुका साथै सन्तुष्टि पनि हुने गर्दछ । खानालाई धेरैबेरसम्म चपाएर खाँदा हामीले खानामा कैयौं प्रकारको रस प्राप्त गर्नसक्छौं । जुन हाम्रो पाचन प्रणालीको लागि सहायक हुने गर्छ ।

राम्रोसँग नचपाई खाना निल्दा हाम्रो आँतलाई खाना पचाउने भार थपिन्छ र हाम्रो पाचनप्रक्रिया बिस्तारै बिस्तारै कमजोर बन्न थाल्छ ।

खानालाई धेरैबेर चपाएर खाँदा भोजनको मात्रामा आफैं नियन्त्रण कायम हुन्छ । किनकि धेरैबेर चपाएर खाँदा कम भोजनले पनि भेट भरिन्छ । राम्रोसँग चपाएर आएको एउटा रोटीले पनि चारवटा रोटीको जति पौष्टिकता प्रदान गर्ने गर्दछ । त्यसकारण धेरै खाना खानेभन्दा पनि प्रक्रिया पुर्‍याएर खाना खाने गर्नुपर्छ ।

खाना खाँदा अपनाउनुपर्ने मध्येको एक ‘३२ पटक चपाएर खाना खानुपर्ने’ नियम मात्र बोध गरेर जीवनमा अवलम्बन गर्न सक्ने हो भने शरीरलाई स्वास्थ्य, जिब्रोलाई स्वाद, मनलाई शान्ति र सन्तुष्टिप्राप्त हुन्छ । त्यसैले खाना चपाईचपाई खाऔं, रोग भगाऔं, स्वस्थ रहौं ।

तपाईको प्रतिक्रिया