सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको हो ।

तिनकुने, शान्तिनगर स्थित ज्येष्ठ नागरिकहरुको सेवा केन्द्र (निःसहाय सेवा सदन)सँग समन्वय गरी २ पटक कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य उपचार गरिनुका साथै स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरिएको हो ।

दुखेको स्थानमा (ढाड, कम्मर, कुम, घुँडा आदि भागमा)औषधिको तेलले मालिस गर्ने र सेक्ने चिकित्सा समेत गरिएको थियो । कार्यत्रमबाट ज्येष्ठ नागरिकहरुको स्वास्थ्य समस्याको बारेमा सचेतना भई स्वास्थ्य स्याहार तथा स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौबाट निःशुल्क स्वास्थ्य प्रवर्द्धनात्मक सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष सेवा उपलब्ध गराइन्छ ।

जसअन्तर्गत ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी रसायन चिकित्सा र योगको माध्यमबाट स्वास्थ्य संरक्षण, प्रवर्द्धन र उचित परामर्श दिने गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले जनाएको छ । यो आर्थिक वर्षमा चैत्र मसान्तसम्म यस चिकित्सालयबाट १ हजार ९ सय ४९ जेष्ठ नागरिकले सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया