बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टाेकियाे  – जापानले मिसावट भएको हुन सक्ने आशंकापछि १६ लाखभन्दा धेरै कोभिडविरुद्धको मोडेर्ना खोपको डोज रद्द गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख ६० हजार डोज खोपमा ‘अपरिचित वस्तु’ फेला परेपछि मिसावट भएको हुन सक्ने अनुमान गरिएको हो ।

जापानमा खोप बिक्री तथा वितरण गर्ने ताकेदा फार्माक्युटिकलले सावधानी अपनाउन भनेर मोडेर्ना कम्पनीले नै तीन ब्याज खोपका डोज होल्डमा राख्न लगाएको थियो । स्पेनको ‘म्यानुफ्याक्चरिङ कन्ट्राक्ट साइट’ को मुद्दाका कारण त्यसो गरिएको बताइएको छ तर कम्पनीले थप विस्तृतमा जानकारी दिएको छैन ।

मोडेर्नाले घटनाको स्पष्टिकरण दिँदै भन्यो, ‘आजसम्म सुरक्षा र प्रभावकारीता सम्बन्धी कुनै समस्या देखा परेको छैन । तरपनि आफूहरुले निरीक्षक र ताकेदा कम्पनीसँग सहकार्य गरि घटनाको अनुसन्धान गर्नेछौं ।’ ताकेदा कम्पनीले भने आपतकालीन परीक्षण सञ्चालन गरिसकेपछि अपरिचित वस्तुबारे कुनै थप जानकारी नभएको बताएको छ ।

जापानभरका अन्य सातवटा खोप केन्द्रबाट यस्तै मिसावटका रिपोर्ट आएका छन् जसमा ३९० डोज प्रभावित भएको पत्ता लागेको छ । यसमा स्वास्थ्य मन्त्रालयले प्रभावित खोपको ब्याच नम्बर पनि सार्वजानिक गरेको छ ताकी कसैलाई आफ्नो खोप सम्भावित मिसावट भएको शंका भएमा जाँच गर्न सकिनेछ । जापानमा पछिल्लो समय संक्रमण बढिरहेको छ । र, बुधबार मात्र थप आठ प्रान्तहरुमा आपतकालीन लागु गरिएको छ ।

जापानले फाइजर र एस्ट्राजेनेका खोप पहिले नै प्रयोगका लागि स्वीकृत गराएको थियो । र, मोडेर्ना खोप गत मे महिनादेखि मात्र प्रयोग गर्न थालेको हो । हालसम्म जापानका ४० प्रतिशत जनताले मात्र पूरा डोज खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया