सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाडौं – लोक-सँस्कृति देशको चिनारी पनि हो । यसले देशको समग्रता मात्रै होइन, नागरिकको भावलाई समेत बोल्छ । यही नागरिकको भाव बोल्ने मध्येको एक ‘लोक दोहोरी’ क्षेत्र यतिखेर शब्दका कारण होस्, गायकीका कारण होस् या त्यसमा अभिनय गर्ने मोडलका कारण- एकप्रकारको बदनामजस्तै देखिएको छ । तर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर मौलिकता नहराएको तर्क गर्छिन् । सयौं कलाकारहरूले मौलिक लोकगीत गाइरहँदा उनीहरूका गीतबारे सञ्चारमाध्यममा चर्चा नभएको उनको गुनासो छ । यसै सन्दर्भमा अध्यक्ष मगरसँग नेपाली लोक दोहोरीको अवस्था, सुधार्नुपर्ने पक्ष र भएको कामबारे समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ, यो अवधिको अनुभव कस्तो रहृयो र सम्झनलायक कामहरु के के गर्नुभयो ?
सामाजिक संस्था भएकाले कार्यसम्पादन चुनौतीपूर्ण छ । अग्रज, समकक्षी र अनुजहरुको माग सम्बोधन गर्नुको साथसाथै चित्त पनि बुझाउनुपर्ने भएकाले धेरै चुनौती छ भन्ने मेरो अनुभव रहृयो । यो एक वर्षको अवधिमा मैले गरेका सबै कामहरु सम्झाउन सक्छु कि सक्दैन तर सन्तोषजनक कामहरु भने भएका छन् । दोहोरी गीतको जगेर्नाका लागि प्रतिष्ठानलाई सहर केन्द्रित बनाईनु हुँदैन गाउँगाउँमा लैजानुपर्छ र मौलिक नवकलाकारहरु जो गाउँमा लुकेर बसेका प्रतिभाहरुलाई अवसर दिनुपर्छ भनेर लागेको संस्था हो यो । ३-३ महिनामा हामी घुम्ती बैठक गर्छौ। पहिलो घुम्ती बैठक कास्की जिल्लाको मादी गाउँपालिकास्थित तान्तिङ होमस्टेमा सम्पन्न गरेका थियौं । त्यहाँ हामीले अग्रजहरु संस्थागत रुपमा आवद्ध नभएका तर, लोक संगीतमा एकदमै ठूलो योगदान पुर्‍याउनुभएका अग्रजहरुलाई सम्मानार्थ सदस्यता प्रदान गरेर संस्थामा आबद्ध गराएका थियौं । मेरो कार्यसमिति आइसकेपछि वर्षमा एक जना स्रष्टाको सांगीतिक साँझ अथवा एकल साँझ गरिने योजना ल्याएका थियौं । त्यो अन्तर्गत हामीले आदरणीय नारायण रायमाझीज्यूको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न गरेका छौं । यसबाट सम्झनलायक काम चाँही के भएको छ भने- यस साँझबाट बचेको रकममा थपेर १० लाखको सामाजिक सहायता कोष पनि खडा गरेका छौं । हामीसंग कलाकार कल्याणकारी अक्षय कोष पनि छ, त्यो कोषको नियमावलीमा चाँही संस्थामा आबद्ध कलाकारहरुको मात्रै सहयोग गर्ने भन्ने छ । अब हामी समाजप्रति पनि उत्तरदायी छौं भन्ने सन्देश प्रवाह गर्न विपत्तिमा परेका अन्यलाई पनि सामाजिक सहायता कोषबाट सहयोग गर्ने भएका छौं । अग्रजहरुबाटै सुरु भएको लोक दोहोरी रनिङ शिल्ड प्रतियोगिता पनि सम्पन्न गरिसकेका छौं । यसबाहेक अरु अरु नियमित कार्यक्रम पनि गर्दै जानेछौं ।

लोक दोहोरी क्षेत्र यतिखेर शब्दका कारण होस्, गायकीका कारण होस् या त्यसमा अभिनय गर्ने मोडलका कारण होस् एकप्रकारको बदनामजस्तै देखिएको छ, यसबारे के भन्नुहुन्छ ?
यसमा मेरो धारणा फरक छ । विकृतितिर मात्रै हेर्ने, एक-दुई जना कलाकारले गाएको लाइभ दोहोरीलाई हेरेर विकृति मात्रै देख्ने यो भएन । मौलिक गीत संगीतमा लागेका कलाकार, मौलिक गीत पनि युट्यूबमा आइरहेका छन् । मौलिक गीतका लागि जीवन नै दिएका कलाकारहरु पनि यहि क्षेत्रमा हुनुहुन्छ तर, उहाँहरुको बिषय कहिल्यै पनि उठान हुँदैन । गीत पनि सुनिँदैन । यसले के हुँदैछ भने मौलिक गीत गाउने कलाकारलाई अझै निरुत्साहित गर्दैछौं र बजारमा मौलिक गीतहरुलाई हेरेकै छैनौं । सालैजो, कौडा, टप्पा, ठेट लोक गीत आइरहेका छन् । दोहोरीमा पनि कति राम्रा मौलिक गीत छन्, हेर्नुहोस् त कति धेरै लगानी गरेर गाउँमा गएर आमाबुबा दिदीबहिनीलाई जम्मा गराएर मौलिक पहिरनमा कस्तो राम्रा राम्रा गीत-भिडियोहरु आइरहेका छन् । तर जतिखेर पनि हामी दोहोरी बिग्रियो भनिरहेका हुन्छौं, तर बिग्रेको छैन । मौलिक गीतसंगीत सँधै ओझेलमा पर्छ । मौलिक गीतले प्राथमिकता नपाएको अवस्था भने हो ।

उसो भए मौलिक लोकगीतलाई छाँयामा पारिएको हो ?
एकदमै, मौलिक लोकगीत र लोकदोहोरीहरु आइरहेका छन् । सयौं साथीहरूले मौलिक लोकगीत गाइरहनुभएको छ । तर, उहाँहरूका गीतबारे सञ्चारमाध्यममा चर्चा भइरहेको छैन । म त युट्युबमा मौलिक गीत मात्रै देख्छु । तर, प्रश्न लोकगीत छाडा भयो भन्ने कुरा मात्रै आउँछ । म आफै आश्चर्यमा छु ।

लोक दोहोरीमा दोहोरो अर्थ लाग्ने शब्द प्राथमिकतामा पर्दै आएको देखिन्छ, त्यस्ता गीतहरुले नै झन बढि चर्चा पाउने गरेका छन्, यसलाई कतिले जायज र कतिले विकृति भनेका छन्, प्रतिष्ठान के भन्छ ?
मेरो नेतृत्वपछि द्विअर्थी लाग्ने गीतहरु सार्वजनिक भएका छैनन् । केही समयअगाडि बजारमा अश्लील र द्विअर्थी गीतसंगीत धेरै थिए । सस्तो चर्चा र युट्युबबाट आम्दानीको लोभमा यो भएको हो । समाजको ध्यान अलिक बढी नकारात्मकतिर जाँदोरहेछ । युट्यूबमा राम्रा मौलिक गीत थुप्रै छन् । तर त्यो कसैको प्राथमिकतामा पर्दैन । नराम्रो र विवादित भयो भने सबैको ध्यान जान्छ । मिडिया तथा सामाजिक सञ्जालमा यस्तैको बढी चर्चा हुँदोरहेछ । यो एउटा कल्चर जस्तो पनि भएको छ । अहिले नराम्रो गीतसंगीतमा विस्तारै कमी आएको छ । मेरो बिचारमा लोक गीतलाई नङ्ग्याएर किन पेट पाल्नुपर्‍यो जस्तो लाग्छ । त्यसले इज्जत दिन्छ त ? मेरो प्रश्न यही हो । अहिले चाँही नवकलाकारहरुलाई पनि के लागिराखेको छ भने अब एकछिन भाइरल भएर यस्ता द्विअर्थी गीत गाएर यो क्षेत्रमा टिक्न सकिँदैन । र मर्ने बेलामा सम्मानित कलाकार भएर मर्न पाइँदैन भन्ने कुराको अनुभूत गरिसक्नुभएको छ जस्तो लाग्छ ।

पछिल्लो समयमा गीत सिर्जना गर्दा भाका चोरी हुने गरेको समस्या निकै आउने गरेको छ, यसमा प्रतिष्ठानले के सोच्दै छ ?
पछिल्लो पुस्ताको भोगाइहरु नजिकबाट नियाल्दा कस्तो देखियो भने गाउँमा आफू सानो छँदा रेडियो नेपालमा बजेको भाकाहरु सुने उनीहरुले । अनि पुराना गीतहरु भिडियो नहुने, युट्यूबमा नहुने भएकाले अहिलेका भाइबहिनीहरुको मानसपटल चाँही रेडियो नेपालमा सुनेका भाकाहरु गुञ्जिराख्ने अनि आफूले लय सिर्जना गर्नेबेलामा ती भाकाहरु गाउँमा सुनेको जस्तो लाग्यो । गाउँबाट काठमाडौं आएको नयाँ सर्जकहरुलाई गाउँतिर यस्तो भाका थियो, यसरी गाउँथे भन्ने लाग्यो तर, रेडियो नेपालमा पुराना सर्जकहरुले गाउनुभएको हो भन्ने चेतना नभएको जस्तो देखिन्छ । मैले पनि त्यो भोगिराखेको हो । अहिले बजारमा आउने नयाँ गीतहरुमा यो गीत त फलानो दाइले पहिल्यै गाउनुभएको हो नी ! भनेर भनेको देखिन्छ । ती सर्जकले चाँही होइन मैले गोरखाबाट लिएर आएको भन्नुहुन्छ । यो समस्या चाँही छ र यस्तो गर्नुहुँदैन, नयाँले पुराना सर्जकहरुको सिर्जना चोर्नुहुँदैन । यदी यसो गरेको खण्डमा दोहोरी गीत प्रतिष्ठानको विकृति न्यूनिकरण विभागले सजग गराउँदै आईरहेको छ । पुराना अग्रजहरुको सिर्जना नचोरिकन उहाँहरुको मानमर्दन नहुने गरी लोक दोहोरी क्षेत्रका पुरानालाई सम्मान गर्दै नयाँलाई प्रोत्साहन गर्ने काम गरिरहेका छौं । नयाँ भाइबहिनीहरुलाई भाका चोरी नगर्न पनि सचेत गराउँदै आईरहेका छौं ।

कला साहित्यको जगेर्नाभन्दा व्यवसायिक हुने तडकभडकका कारण लोकदोहोरीमाथि प्रश्न उठाइएको हो कि ?
केही हदसम्म यसको प्रभाव परेको छ । लाइभ दोहोरी गाउँदा साथीहरू बन्द कोठाभित्र गाउनुहुन्छ । उस्तै उमेर समूहका साथीहरूबीच गाउँदा केही उच्छृङ्खल शब्द आउँछन् । तर, मासमा गाउने हो भने त्यस्ता शब्द आउँदैनन् । बन्द कोठाभित्र गाइने लाइभ दोहोरी रेकर्ड गरेर बाहिर ल्याउन थालेपछि थोरै विकृति आएको हो । तर, यो पनि विस्तारै न्युनिकरण हुँदै छ । बन्द कोठाभित्र गाइएको लोकदोहोरी बाहिर नल्याऊँ भन्न पनि नसकिने रहेछ । कलाकारको लगानी त्यहाँ नहुँदोरहेछ । लगानी अर्कैको हुँदोरहेछ । लगानीकर्ताले भ्युजको लोभमा कलाकारको मुखबाट फुत्किएको नराम्रा शब्दलाई हाइलाइट गरेर बजारमा ल्याउनुहुँदो रहेछ । यो कुरा म अहिले बुझिरहेको छु । एउटा उमेरमा जस्तो गाए पनि राम्रो लाग्छ । तर, अब हामी प्रतिष्ठित भएर बाँच्नुपर्छ । त्यसैले शब्द छनोटमा ध्यान दिन म कलाकारहरूलाई आग्रह गर्छु ।

प्रवासबाट पनि धेरै कलाकारहरुले गीत सार्वजनिक गरिरहेका छन्, यसले विदेशमा नेपाल र नेपाली सँस्कृति चिनाउन भूमिका खेलिरहेको हुन्छ, उहाँहरुको कर्मलाई कसरी लिनुभएको छ ?
त्यहाँ जाँदाखेरि वा नेपालबाट पनि उहाँहरुको कर्म हेर्दा असाध्यै खुशी लाग्छ । नेपाली मौलिक लोक संगीतले जहाँ भएपनि कति मन जित्दोरहेछ । नेपाली माटोको संगीतले चाँही सबैलाई बाँधेर राखेको छ । हामी जुन देश भएपनि, जसरी त्यहाँको वातावरणमा रमाउन कोशिस गरेपनि हाम्रै मौलिक लोक संगीतले नछोड्ने रहेछ । जहाँ गएपनि आफ्नै पहिचानमा रमाउन मन लाग्दोरहेछ भन्ने अनुभव गर्छु, मलाई असाध्यै खुशी लाग्छ । पुरुषले दौरा सुरुवाल र महिलाले गुन्युचोलीमा नेपाली मौलिक लोकदोहोरी गाउँदा दर्शक-श्रोताले असाध्यै माया गर्नुहुन्छ । नेपाली मनलाई नेपाली पन भएको गीतसंगीत र सँस्कृतिले नै छुन्छ । विदेशमा त जहिले पनि मौलिक नेपाली लोकगीत नै खोजिन्छ । अतः धेरै कलाकारहरु उत्पादन भइराखेको मौलिक गीत संगीतलाई उहाँहरुले एकदमै आत्मसाथ गरेर ध्यान दिनुभएको, गीत रेकर्ड गराइराख्नु भएको, भिडियोमा लगानी गरिराख्नुभएको र आफू कलाकार बन्ने कोशिस गरिराख्नुभएको देख्दा गर्व लाग्छ ।

नेपालमा कतिपय राम्रै चलेका कलाहरु पनि विदेश पलायन भइरहेको देखिन्छ नि ?
एउटा क्षेत्रमा एक-दुई दशक बिताइसकेपछि कस्तो हुन्छ भने- एकछिन चाँही आराम गर्नुपर्छ होला, प्राइभेट लाइफ बिताउनुपर्छ होला भन्ने हिसाबले नै साथीहरु विदेश गएका हुन्छन् । तर हाम्रो बुझाई चाहीँ ओ हो ! फलानो नेपाल बस्नै नसकेर गयो भन्ने हुन्छ । तर त्यस्तो होइन किनभने नेपालमै बस्नुपर्छ भन्ने त छैन नि ! मैले यतिसम्म काम गरे अब विदेश जाऊ न त भन्ने सोच हुन्छ । हरेक मानिसको जिन्दगी जिउने आ-आफ्नो तरिका हुन्छ । त्यो सोच अनुसार उहाँहरू हराउनुभएको हो । अतिरञ्जित गरिनु भएन ।

तपाईका गीतको संख्या निकै कम छ, पछिल्लो समयमा त आउन छोड्यो, किन ?
अब संस्थाको नेतृत्वमा आइसकेपछि संस्था हाँक्न पनि पर्‍यो । जिल्ला, प्रदेश धाउन पनि पर्‍यो । कार्यक्रमहरु पनि गर्नुपर्‍यो त्यसमा ध्यान दिँदाखेरि आफ्नो अफिसियल गीतहरु अपेक्षा गरेजति निकाल्न मैले सकिरहेकी छैन । अब चाँही तुरुन्तै दुईवटा जति गीतहरु आउँदैछन्, ढुक्क हुनुभए हुन्छ यो २०८१ सालमा मेरो नयाँ गीतहरु पक्कै आउने छन् ।

अन्त्यमा, जापान लगायत विदेशमा रहेका नेपाली र सर्जक-कलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?
जापानमा बस्ने कलाकार, सर्जक र संगीतकर्मीहरुलाई एकदमै धेरै सम्झिराखेको छु । अनुशासित देश, असाध्यै धेरै श्रद्धा गर्न मन लाग्ने देश जापान हो । त्यहाँका नागरिकहरुको अनुशासन देख्दाखेरि मलाई अत्यन्तै खुशी लाग्छ । त्यस्तो देशमा गएर नेपाली दाजुभाइ दिदीबहिनीहरु बस्नुभएको छ । अझै नेपाली लोक गीत गाउने कलाकारहरुको त झन् धेरै सम्झना आउँछ । उहाँहरुले गर्नुभएको त्यो दुःख अनि कलाकारितालाई दिनुभएको समय, त्यसमाथि लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई गर्नुभएको माया देख्दा धेरै खुशी लाग्छ । गएको तीजमा म जापान गएकी थिएँ । त्यहाँ रहेका नेपालीहरुले गरेको प्रगती र नेपाली संगीतप्रतिको लगाव देख्दा साँच्चै नेपाली हुनुमा गर्व लाग्छ । प्रतिष्ठानको जापान शाखा र त्यसमा आबद्ध हुनुभएका समस्त साथीहरु अनि जापानवासी सम्पूर्ण नेपालीहरुलाई धेरै सम्झिएकी छु । माटोको सुगन्ध बोकेको नेपाली मौलिक गीत-संगीतलाई धेरै धेरै माया दिईरहनुभएको छ, दिईनै रहनुहुने छ भन्ने बिश्वास लिएकी छु । ***

तपाईको प्रतिक्रिया