मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024
  • कविकिरण न्यौपाने

टोकियो – जापानमा नेपालीको संख्या २ लाख नजिक पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार जापानमा नेपालीको संख्या १ लाख ७६ हजार ३ सय ३६ पुगेको छ । यो तथ्याङ्क सन् २०२३ डिसेम्बर ३१ सम्मको हो ।

त्यसयता जनवरीदेखि अप्रिलसम्म ४ महिनाको अवधिमा नेपालीहरू जापान आउने क्रम झनै बाक्लिएको छ । जापानका लागी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका अनुसार १४ हजार जना नेपालीको त्यसबाहेक भिसाको प्रक्रिया पूरा भई जापान आउने अन्तिम तयारीमा रहेको जापनिज अधिकारीले आफूलाई जानकारी गराएको बताउँछन् ।

जापानमा नेपालीको संख्या बढेसँगै समस्या पनि ह्वात्तै बढेको राजदूत डा. सुवेदीको भोगाई छ । ‘अहिले सबैभन्दा बढी चाप भनेको पासपोर्ट बनाउन आउनेको छ । त्यसबाहेक पनि सीमित स्रोत साधनको बावजुद पनि हरेक नेपालीको सुखदुःखमा हामी जहिले पनिसँगै छौं,’ डा. सुवेदीले भने ।

नेपालीको सहजताको लागी बिभिन्न सुविधाहरू प्रदान गर्न जापानको विभिन्न शहरहरुमा घुम्ती सेवा सञ्चालन गरिएका छन् । टोकियोमा एनआरएनए जापानसँगको सहकार्यमा पासपोर्ट बनाउन अभियान नै चलाएका छौं । १ महिनाको म्याद बाँकी रहेको पासपोर्ट बनाउन जो कोही सिँधै राजदुतावासमा आउन सकिने राजदूत डा. सुवेदी बताउँछन् ।

जापानमा अहिले नेपालीहरूका घरेलु हिंसा बढेका साथै जापान आउने सबैलाई आउनासाथ भने जस्तो नहुने हुँदा डिप्रेसनमा जाने र आत्महत्यासम्म गर्न पुगेका धेरै घटना आइरहेको हुँदा जापानमा रहेका नेपालीका संघसंस्थाले त्यसको न्यूनीकरण गर्न कार्यक्रम गर्न पर्ने बताउँदै त्यसको लागी राजदूतावास सहकार्य गर्न जहिले पनि तत्पर रहेको डा. सुवेदीको भनाई छ ।

पछिल्लो तथ्याङ्क अनुसार जापानमा बस्ने नेपालीहरूलाई भिसाको आधारमा हेर्दा सबै भन्दा धेरै विद्यार्थी रहेका छन् । त्यसपछि क्रमशः डिपेन्डेन्ट परिवार, इन्जिनियर तथा अन्तर्राष्ट्रिय सेवा, कुक लगायतका विशेष दक्षताका व्यक्तिहरू, स्थायी बसोबास गर्नेहरू, निर्दिष्ट सीपका कामदारहरू, प्रशिक्षार्थी कामदारहरू, जापानी नागरिकका परिवारहरू पर्दछन् ।

गत वर्षसम्म जापानमा अध्ययन गर्ने कुल विदेशीहरूमा चीन, भियतनामपछि नेपालीहरू तेस्रो स्थानमा थिए भने यो वर्ष भियतनामलाई तेस्रो पार्दै नेपाली विद्यार्थीहरूको संख्या दोस्रो भएको छ । २०१३ को अन्त्य सम्ममा जापानमा बसोबास गर्ने नेपालीको संख्या ३१ हजार ५ सय ३७ मात्र थियो । हाल यो संख्या बढेर २ लाखको हाराहारीका पुगेको हो ।

जापानको नागोयालाई कर्मथलो बनाएर सामाजिक क्रियाकलापमा क्रियाशील दीपक कार्कीकाअनुसार नेपालीले नेपालीलाई नै ठग्ने गरेका छन् । नागोया क्षेत्रमा यतिबेला हुन्डी मार्फत पैसा नेपाल पठाइ दिन्छु भन्दै धेरै रकम सङ्कलन गरी हुण्डी वाला सम्पर्कविहीन भएको तथ्य बाहिर आएको छ । ‘नेपालबाट विद्यार्थी भिसामा जापान आउनेहरूलाई वैधानिक रुपमा नेपाल पैसा पठाउँदा भिसामा समस्या आउँछ भन्दै पैसा संकलन गरिएको पीडितहरूले बताएको कार्कीको भनाई छ । ‘नागोयामा नेपालीले सञ्चालन गरेका होस्टेलहरूमा भेडाबाख्रा जस्तै विद्यार्थी कोचिएको छ,’ उनले भने, ‘हामीले स्थानीय प्रशासनसँग पनि कुरा गरेका छौं, गल्ती गर्ने जो कोहीलाई छोडिँदैन ।’

टोकियोमा बस्दै आएकी एनआरएनए जापानकी निवर्तमान उपाध्यक्ष संगीता अधिकारी (सुवेदी)का अनुसार जापानमा महिलाका समस्या धेरै छन् । ‘कति कुरा त अझ भन्न नै मिल्दैन,’ उनले भनिन्, ‘प्रत्येक दिन आफूलाई ४ ५ वटा समस्यामा परेका महिला दिदीबहिनीको कल आउँछ । जुन मैले सामाजिक सञ्जालहरूबाट पनि बताइरहेको छु ।’

अझ जापानमा नेपाली बाट नेपाली नै पीडित छन्, हालै मात्र विद्यार्थीहरूलाई एउटै कोठामा कोचेर राखेको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको छ । अधिकारी भन्छिन्, ‘होस्टेलमा एसी, पंखा छैन, बाथरुममा चुक्कुल छैन, दर्दनाक छ महिलाको अवस्था ।’ अधिकारीका अनुसार जापानमा लिभिङ्ग टुगेदरको समस्या झनै विकराल छ । ‘हालैमात्र एक जनाले ५ वटा गल्डफेण्ड बनाएर पैसा सापटी लिने गरेको तथ्य बाहिर आयो,’ उनले भनिन्, ‘पछि बुझ्दा उसको नेपालमा विवाह भएर एक सन्तान समेत भएको पाइयो ।’

सामाजिक अभियन्ता समेत रहेकी अधिकारीकाअनुसार हुण्डीका समस्या त्यस्तै छ । जसका चिनेजानेका बाटै नेपालीहरू ठगिएका छन् । ‘बल्लतल्ल दुःख गरेर केही पैसा नेपाल पठाउन खोज्यो, राम्रो रेटको प्रलोभनमा हुण्डी (जुन वैधानिक छैन) बालाले पैसा नेपालमा नदिई लापत्ता हुन्छ । यस्ता पीडितहरू अनगिन्ती छन्,’ उनले भनिन्।

जापानमा सामाजिक गतिविधिको लागि खोलिएका एनआरएनए लगायत धेरैसंघसंस्थाहरु छन् । उनीहरु र जापानमा रहेको नेपाली राजदूतावास अनि नेपाल सरकारको बेलैमा त्यसतर्फ ध्यान जान आवश्यक छ । अन्यथा यस्ता समस्याले अझैँ विकराल रूप लिने देखिन्छ ।

तपाईको प्रतिक्रिया