किन हो पछिल्लो समय केपी शर्मा ओलीको हाउभाउ र भाषण गर्ने शैली निकै फरक देखिन्थ्यो । उनले विभिन्न आवाज निकालेर क्यारिकेचर गर्न समेत भ्याए । प्रधानमन्त्रीको हाउभाउ र क्यारिकेचर देख्दा लाज लागेर शरीरको हड्डीमै काउकुती लागेजस्तो हुन्थ्यो । देशको एकजना कार्यकारी प्रधानमन्त्रीको तहबाट यो सबै कुरा आवश्यक थियो त ? शतप्रतिशत थिएन, किनकी उनी नेकपा नामको दलको नेता थिए । उनी प्रधानमन्त्री त सिंगो देशको थिए । तर उनले आफू प्रधानमन्त्री हुँ भन्ने कुरा नै बिर्सिएको भान हुन्थ्यो । बरु जातका आधारमा ‘अब प्रचण्डलाई झाँक्रीले पनि बचाउन नसक्ने’ भन्दै निम्छरो राजनीतिक संस्कार प्रदर्शन गरिरहेका थिए । उनको भाष्य निकै ‘स्ट्रेसफूल’ थियो ।
जे होस् ओलीको उखान टुक्काको विशाल साम्राज्य कसैले ध्वस्त बनाउन चाहिँ सक्दैन । ओलीले संविधानमाथि जुन प्रहार गरे त्यो गल्तीको माफी त भगवान पशुपतिनाथको शिरमा सुनको गजुर हालिदिएर मात्रै हैन हिरामोतीकै गजुर हालिदिएर पनि मिल्दैन । भगवान् पशुपतिनाथ मान्छेले सुन्ने गरी बोल्नुहुन्न । धेरैले पुकार्छन्, र आम जनताबाट धार्मिक आस्थाको फाइदा लिन खोज्छन् । तर भन्नैपर्छ भगवान् पशुपतिनाथले माफ नदिएका पात्रहरू यो देशमा धेरै छन् । म त्यतातिर कुरा मोडेर यो लेखलाई थप क्रिटिकल बनाउन चाहन्न । सरी !
तर छक्कै पर्ने कुरा छ । केपी ओलीका कार्यकर्ताहरू कार्यकर्ता हैनन् सुगा भइसकेका थिए । ओलीले जे भन्यो, जस्तो बन्यो त्यसैको सिको गरेर त्यही नै अन्तिम सत्य हो भन्दै थिए । लिखित संविधान हाम्रो हातमा थियो, तर तिनीहरू नाइजेरियाको उदाहरण पेश गर्दथे । ओलीले जहाँजहाँ भाषण गरेर जे-जे भन्छन्, जस्तो भाष्य र लवजमा आफ्ना कुरा गर्छन्, सहभागी मानिसहरूले परर्र ताली पिटेर गलल हाँस्ने गरेका थिए । मानौं कि हाँस्नु नै संगठित कार्यकर्ता हुनुको प्रमाण हो । वास्तवमा ओलीलाई गलत बाटोतर्फ उक्साउन ऊर्जा दिने तिनै खलपात्रहरू थिए ।
ओलीले १४ वर्षको जेलजीवनका बारेमा कुरा गरिराख्छन् । जेलभित्र बसेर ओलीले सिकेको, अध्ययन गरेको लोकतन्त्र फगत यही उखान टुक्कासंग मिस्सिएको अट्टहास हाँसो मात्र थियो त ? हैन भने राजनीतिमा विचार/दर्शन प्रधान हुने हैन र ? जबजकै कुरा पनि उनको मुखबाट अहिलेसम्म एकपटक सुन्न पाइएको छैन । ओलीले पछिल्लो समय बाटोमा आफ्नो शरीरको डमी मूर्ति बनाएर कुनै प्रदर्शनीमा राखिएको कलात्मक वस्तु जस्तो खडा गराएका थिए । के ओलीलाई आफू महात्मा गान्धी जस्तै महान बनेको भ्रम थियो ?
कुशल सारंगीबादक एवं लोकगायक स्वर्गीय तीर्थबहादुर गन्धर्वले गाउनुभएको एउटा कालजयी लोकगीत ‘बल्ल पर्यौ निरमाया माकुरी जालैमा’ भन्ने बोलको गीतमा निकै छलकपट गरेर झुक्याइरहेकी प्रेमिका अन्ततः प्रेमीकै पञ्जामा परेको सन्देश छ । यहाँ पनि प्रधानमन्त्री ओली अन्ततः संविधानकै जालमा परेका छन् । केपी ओलीलाई बा भन्नेहरूलाई यतिखेर भन्नैपर्छ, ‘बल्ल पर्यौ केपी बा माकुरी जालैमा !’
अँ, एउटा कुरामा चाहिँ ओलीलाई धन्यवाद दिनै पर्छ । उनकै असंवैधानिक कदमका कारण हरेक मान्छे यहाँ वकिल बराबरको तर्क गर्ने भैसके । अब त म पनि सानोतिनो वकिल बराबरको तर्क पेश गर्ने भैसकें । जसअनुरूप मैले ३ हप्ताअगाडि नै सामाजिक सञ्जाल फेसबूक र टि्वटरमा एउटा स्टाटस पोस्ट गरेको थिएँ ‘संसद् पुनर्स्थापित भएरै छाड्छ । यदि भएन भने मेरो कान काटेर पिपलको पातमा राख्दिन्छु ल । मगरको छोराको प्रतिबद्धता नै भयो ।’ नभन्दै संसद् पुनर्स्थापित भयो । मैले कान काटेर पिपलको पातमा राख्नु परेन । मलाई लाग्दैन मेरो कान काट्नबाट जोगाउका लागि मात्र सर्वोच्च अदालतले यति महत्वपूर्ण निर्णय लिएको हो । किनकी मेरो कानभन्दा संविधानको सर्वोच्चता ठूलो हो ।
भावनात्मक कुरा यहीं छाडौं । अब व्यवहारिक कुरा गरौं । प्रतिनिधि सभा पुनर्स्थापनासँगै अब काम चलाउ प्रधानमन्त्री केपी ओलीसंग नैतिकताको आधारमा राजीनामा दिनुबाहेक अरू विकल्प देख्दिनँ । सबै कुरा थाहा पाउने म शेरबहादुर देउवाको ज्योतिषी त हैन तर अब ओलीसँग अरू विकल्प छैन । ओलीसँगै संविधान विपरितको काममा भाग लिने र ठप्पा लगाउने राष्ट्रपतिले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यदि उनीहरूले यसो गरेनन् भने महाअभियोग लगाएर तुरुन्तै हटाउनु पर्दछ ।
केपी ओलीले अब मेरो कमजोरी भयो, मैले गल्ती गरेँ भन्दै नेपाली जनतासंग माफी माग्नुपर्छ । तर उनले त्यसो गर्लान् भनेर सोच्नु हिमालमा आगलागी हुनुजस्तै हो । यो महान् काम उहाँबाट सम्भव छैन । यसो हुँदा अब उनले मन्त्रीहरूसँग बिदा माग्दै अन्तिमपटक मन्त्रिपरिषद्को अन्तिम बैठक डाक्न सक्छन् । जे भयो भयो, हाम्रो राजनीति सकिएको छैन भनेर मुख अमिलो पार्न सक्छन् । राजनीतिक वैधता पनि ओलीसँग अब बाँकी छैन । राजनीतिमा विचार र संगठनको बल प्रधान हो नै तर नैतिक बल पनि मुख्य हो । केपी ओलीले जब प्रतिनिधि सभा भंग गरेर लोकतान्त्रिक गणतन्त्रको कुर्ची भाँच्न खोजे त्यस दिनदेखि नै उनीसँग नैतिक बल रहेन ।
नेकपा विभाजन गर्न संसदीय दलमा र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत चाहिन्छ । उनले संसद् अपहरणको काण्ड रचे । उनको सपना बीचमा नै तुहियो । संसदीय दलमा पुगे पनि केन्द्रीय कमिटीमा केपी ओलीको ४० प्रतिशत संख्या पुग्दैन ।
अब ओलीले प्रधानमन्त्री पदबाट पहिले र त्यसपछि अध्यक्ष पदबाट राजीनामा दिएर नेकपा एकतालाई पुस ५ अघिकै स्थानमा लाने विकल्पमात्र बाँकी देखिन्छ । तर ओलीले त्यसो गर्ने छैनन् । अर्कोतर्फ वाम एकताका नाममा केपी ओलीसँग कुनैपनि रूपमा एकता नहुने प्रचण्डले बताइसकेका छन् । बरु आफैले विघटन गरेको प्रतिनिधि सभामा जान ओलीले लाज मान्ने छैनन् । अलिकति नैतिकता छ भने लाज मात्र हैन महालाज हुनुपर्छ । हिजोसम्मको भाषण सुन्दा उनलाई आफूले गलत गरिरहेको छु भन्ने जिरो प्रतिशत पनि आभाष थिएन । बरू झन् भन्दा झन् जंगिएर आरोप प्रत्यारोपमा उत्रिएका थिए । उनको त्यस प्रकारको हीनताबोध बिहान मुहार चित्रका कारण उनी टसमस हुने छाँटकाँटमै थिएनन् । धेरैले सेना परिचालन हुन्छ, संकटकाल लाग्छ भनिरहेको थिए । तर मलाई भने सर्वोच्च अदालतप्रति भरोसा थियो । किनकी राजालाई साथ नदिएको नेपाली सेनाले राजनीतिक, नैतिक, संवैधानिक र विश्वासको महासंकटमा परेका प्रधानमन्त्रीलाई काँध थाप्ला भन्ने विश्वास राजनीति नबुझेका सतही मानिसहरूले मात्र गर्ने हो । कुनै जमानमा राजाको चमक-धमक चल्दाको बखतमा समेत सर्वोच्चले शाही आयोग नै खारेज गरिदिएको बलियो नजिर हाम्रोमाझ उपस्थित थियो । के केपी ओलीको शक्ति राजाको भन्दा विशाल थियो र ? पक्कै पनि थिएन । केपी ओलीको जरा र हाँगा केवल प्रतिनिधि सभासँग गाँसिएको थियो । र त्यो जरा र हाँगाका नाममा जनताले पठाएका वारेसहरू संसदका नाममा उपस्थित भएका थिए ।
अहिले ओली खेमाका मानिसहरूले अब सासंद किनबेच हुन्छ भनेर ठाडै भन्न थालेका छन् । र हिजोको दिनमा पार्टी फुटाउनका लागि संसद समेत अपहरण गर्न पछाडि नपरेको कुरा उनीहरूले बिर्सिएका छन् । राजनीति फोहोरी खेल त हैन तर शासकहरूले फोहोरी बनाउने हुन् । केपी ओली जसले प्रतिनिधि सभा विघटन गरेर अस्थिरताको बीजारोपण गरे उनैले स्थिरताको गीत गाउनु सूर्य चिन्ह मेरो हो भने जस्तै हो । वास्तवमा सूर्य चिन्ह त आकाशको हो ।
नागरिकहरूलाई चिडियाखाना पुर्याउने धम्की दिए । म नै राज्य हुँ, मबाहेक अरू सबै प्रजा हुन् भन्ने भ्रम पाले । अन्ततः केपी ओलीको जन्मदिनकै शुभ साइतमा सर्वोच्च अदालतको उपहार उपलब्ध भयो । भन्नै मन लागेको छ, अब तेरा क्या होगा टोपबहादुर ? किसने किसका नमक खाया है ?
नागरिक अधिकारकर्मी देवेन्द्रराज पाण्डेको भनाइ जस्तै सर्वोच्चले संवैधानिक मर्म, मान्यता कायम गर्न गराउनमा आफू सँच्चिकै सर्वोच्च रहेको सावित गर्यो । आफ्नो मर्यादाको रक्षा गर्यो । अब असंवैधानिक कार्य गर्ने/गराउने राजकीय पदाधिकारीहरूले आ-आफ्नो मर्यादाको रक्षा गर्ने पालो हो । किनकी काकाको लाहुर भैरहवासम्म भन्ने एउटा चर्चित उखान छ । आज ठीक त्यस्तै भएको छ । केपी ओलीको असंवैधानिक कदमको यात्रा सर्वोच्च अदालतसम्म पुगेर टुंगिएको छ । उनको दम्भ, अहंकार र आत्मकेन्द्रित फोहोरी राजनीतिमाथि ‘संवैधानिक ब्रेक’ लागेको छ ।
ओलीको यस प्रकारको जघन्य अपराधलाई लगाम लगाउन नागरिक समाजको पनि निकै ठूलो भूमिका रहेको छ । उनीहरू बधाईका पात्र छन् । संसारभरी राजनीतिक आन्दोलनको विश्वसनीयता मानिसहरूले नागरिक आन्दोलनमा पुगेर खोज्ने गर्छन् । यो मान्यता नेपालमा पनि स्थापित भएको छ ।
देशको परिस्थिति के होला, कसो होला भनेर मानिसहरू सडकमा सेनाले तालिम गर्दा पनि डराइरहेको स्थिति थियो तर अन्ततः संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै लोकतन्त्रको फेरि एकपटक जीत भएको छ । संवैधानिक सर्वोच्चताको रक्षा भएको छ । जनतालाई न्याय मिलेको छ । संसद् विघटन गर्ने निर्णय बदरको फैसला गर्ने सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी धन्यवादका पात्र छन् । नेपालको संविधानका पक्षमा गरिएको फैसला नेपाली इतिहासले सदैव स्मरण गरिरहने छ ।
न्याय मरेको छैन भन्ने आभास नेपाली जनताको मनमा पुनः पलाएको छ । अब न्याय नपाए गोरखा हैन सर्वोच्च अदालत जाऔं भन्न सकिने भएको छ । प्रतिनिधि सभा विघटन बदरको फैसलाले कुनै एक शासकको चाहनाले नेपाली राज्यको शक्ति सन्तुलनलाई हल्लाउन सक्दैन भन्ने नजिर पनि स्थापित गरेको छ । यो नजिर अबका अरू शासकका निम्ति पनि हो । प्रतिनिधि सभा भंग गरेर ओली त्यतिमै रोकिएका थिएनन् । अस्तिका दिनसम्म आफ्नो चाकडी गर्नेहरूलाई राजनीतिक नियुक्तिको तोफा दिन ओली लागिरहे । प्रतिनिधि सभा विघटन गरेपछि उनले संवैधानिक निकायमा नियुक्ति गर्नेदेखि अरू पनि थुप्रै नियुक्ति गरेका छन् । संसदीय सुनुवाइ विनाका ती नियुक्तिहरू पनि अब क्रमश खारेज गरिनुपर्दछ । ***