Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने पात्रहरु मध्ये म पनि एक हुँ कि जस्तो लाग्छ हिजोआज । नगरौं पनि कसरी ! सञ्जालभरी असरल्ल पोखिएका राजनीतिक दुर्गन्धित फोहोरहरुले गर्दा यो मन थामिनसक्नु हुन्छ । हत्या, लुटपाट, बलात्कारपछि हत्याका समाचार र भिडियोहरुले त बधशाला नै पो भएछ कि मेरो देश ? यस्तै भान पर्न थालेको छ ।

विश्व इतिहासका पानाहरु पल्टाउँने हो भने एउटा ठूलो रक्तपात र क्रान्तिपछि मुलुक फेरिएका प्रशस्त उदाहरणहरु पाईन्छन् । रक्तपात र क्रान्तिपछि पनि मुलुकको मुहार फेरिएन, आम नागरिकहरुको जीवनस्तर जहाँको त्यहि रह्यो । देश अझैं पराईको निर्देशनमा चलिरह्यो, छिमेकिको ईसारामा नेतृत्वको फेरबदल चलिरह्यो, स्वतन्त्र र सबल रुपमा एउटा नेताले नेतृत्व दिनै सकेन । आफ्नै भाईभारदार, नाताकुटुम्ब, परिवारजनको मात्र सम्पन्नता, जीवनस्तर कायापलट गरिरह्यो भने सम्झनुपर्छ त्यो मूलुकमा क्रान्ति सफल भएकै छैन, नेतृत्वहरु परिवर्तन भएकै छैनन् अनि जनता राजनैतिक रुपमा सचेत र शिक्षित बन्नै सकेनन् या थोरै मिठो खान पाँउने आशामा आफ्नो स्वाभिमान गुमाएर नेताको दासी बनिरहे ।

क्रान्तिमा बगेको जनताको रगत अनि जनमतको अपमान गरिरहँदा त्यो मूलुकमा विकास, समृद्धि, सुशासन, प्रशासनिक चुस्तता हुँदै भन्नु हाँस्यास्पद सिवाय केहि हुनै सक्दैन । हिजो जनताका सन्तती बलि चढाई ल्याईएको परिवर्तन संस्थागत हुनै नपाई यो वा त्यो नाममा अनेकौ राजनीतिक वितण्डा मच्चाउँदै पुनः देशमा आन्तरिक द्वन्द निम्त्याउँनुले देश अन्धकारमा जाँदैछ या आम नेपालीहरु पनि अझै कैंयौ पुस्ता यिनै नेतृत्वहरुको दासी बनिरहने संकेत गर्दछ । २१ औं शताब्दीको यो युगमा मुलुक आईपुग्दा पनि आजका युवाहरुमा कुनै राजनैतिक चेतना भरिएको पाईदैन ।

देशमा शैक्षिक जागरण भएपनि तिनै सचेत भनिने युवाहरुबाट पनि एक स्वतन्त्र नागरिक बन्नै नसक्नु या नचाहनुले पनि युवाहरु नेतृत्वको हलि त बनिरहेका त छैनन् प्रश्न उठ्नु स्वभाविक नै हो । देश समृद्ध बन्नको लागि नेता मात्रै होईन त्यहाँका आम नागरिकहरु पनि सचेत हुनु जरुरी रहन्छ नै । यतिखेर देशमा हेर्ने हो भने हरेक सचेत भनिने युवाहरु पनि कुनै पार्टीका कार्यकर्ता बनिरहेका छन्, केहि झारिदेला नेताले र खाउँला भनेर ।

व्यक्तिगत जीवनमा सरोकार राख्ने विषयबस्तु भन्दा नेताको भाषणमा रम्दै आतंक सृजना गर्ने युवाहरुको जमात बढिरहेको पाईन्छ । खाद्यान्न, लत्ताकपडा, रासनको लागि खासै मुलुकमा नेतृत्वले या सचेत युवाहरुले खासै बिरोधका स्वरहरु उठाएको त्यति धेरै देखिन्न पनि ।

पङ्तिकार विगत लगभग एक दशकदेखि जापानी भूमिमा रहेर यहाँको राजनीतिक आवरणलाई नियाल्दै गर्दा कहिल्यै कतै कुनै नागरिकहरुले स्वतन्त्रताको खातिर कुनै सभा जुलुस हड्ताल गरेको देखिएन् । कुनै नागरिक पार्टीका सदस्य थिएनन् । राजनीतिको कुरा गरिरहँदा आफ्नै नेताहरुको नाम पनि थाहा नभएको या अनावश्यक कुराहरु सोच्ने जरुरत नभएको प्रतिकृया दिन्छन् जापानीहरु । नागरिकको सर्वोच्चता रहेको या आफ्ना नागरिकहरुलाई भगवानको रुपमा मान्ने यहाँको मान्यता पाईन्छ । सम्बोधनको हिसाबमा हेर्ने हो भने पनि जनता र प्रधानमंन्त्री दुवैलाई एकै शब्दले सम्बोधन गर्ने गरिन्छ यस देशमा त !

फर्केर आफ्नै देशमा नजर लगाउँने हो भने स्वतन्त्र नागरिक भेटिन्न होला सायद समग्रमा । किन एउटा नागरिक स्वतन्त्र छैन या हुन सक्दैन मेरो देशमा ? किन एउटा डाक्टर कुनै अमुक राजनैतिक दलको सदस्य बन्छ ? किन एउटा वकिलले स्वतन्त्ररुपमा आफ्नो पेशा नगरेर विभिन्न दलको संगठन बनाउँदै हिड्छ ? किन शिक्षकहरु विद्यार्थी नपढाएर पार्टीको झोला बोक्दै हिड्छन् ? किन कर्मचारीहरु पार्टीको सदस्यता हुन्छन् ? मेरो देशमा कुनै यस्तो वर्ग छैन होला जो कुनै राजनितिक दलको भातृसंगठनको सदस्यता नहोस् स्वतन्त्र होस दासी नबनोस् ।

आज छिमेकि देशहरु आकाशमा उड्दै गर्दा हामी पातालमै दिनभरि पार्टीका झण्डा हल्लाउँदै लखतरानपछि कसैको निगाहामा साँझपख एक चुस्कि सोमरसी प्यालाहरुमा अमूल्य जीवन खर्चिरहेछौं । कैयौं बसन्त लगाएर उपलब्ध सर्टिफिकेटहरु कुनै नेताको दुषित बकपत्रसँग दाँउमा लगाईरहेछौं । अनि भन्छौं म त हिमालको देशको मान्छे, वीर गोर्खाली, शिर नझुकाएका हामी तर आज किन आफ्नै देशभित्रै शिर झुकाएर शरणार्थी जस्तै बाँचिरहेका छौं । शिक्षित भनाउँदा हामीहरु किन आफ्नै स्वाभिमानमा बाँच्न सकिरहेका छैनौं । किन नेतृत्वले दिएका झुटा आश्वासन र आशाका पुलिन्दामा यौवन फालिरहेछौं ।
अब बौद्धिक युवाहरु ! छोडिदिऊ नेताको बालुवाको हलुवा बनाउँने आश्वासन अनि लागौं आफू बन्न, परिवार बनाउँन र देश सजाउँन । अब यिनै पुराना अनुहारबाट देश बन्नेछैन । दुनियाका अब्बल देशहरु सडकका चर्का भाषण र शहरका फोहोरि दोहोरिले बनेका थिएनन् र बन्दैनन् पनि ।

  • मोहनप्रसाद खतिवडा  -टोकियो जापान
तपाईको प्रतिक्रिया