बाहिरको तापक्रम माइनस चालिस डिग्री सेल्सियस थियो । ठमेलको पसलमा किनेको नर्थफेसको डाउन ज्याकेट र ऊनको काने टोपी लगाएर बिहान छ बजे काममा निस्के । बस स्टप सम्म पुग्नको लागि दश मिनेट जति हिड्नु पर्थ्यो । चार दिन अघि झरेको हिउँ बाटोमा जस्ताको तस्तै थियो । कतै कतै हिउँ सोहोरेको फुटपाथ खोलाभित्र लेउ लागेको ढुङ्गा भन्दा चिप्लो थियो ।
गंगटो झैँ ढलफल ढलफल गर्दै बाटो नाप्दै थिए । केहीबेरमै आँखी भौ र परेला भारी भएजस्तो लाग्यो । हात लगेर छाम्दा पो थाहापाएँ परेलामा त आइस जमिसकेको रैछ । त्यसपछि घरि घरि परेला र आँखिभौ पुछ्दै बस स्टप सम्म पुगे ।
बिहान चार बजे नै निन्द्राले छोडेको थियो।बस स्टपमा समयभन्दा अघि नै पुगेछु । बस छुट्ला भन्ने डर थियो मनमा। बस छुट्दा भर्खर पाएको जागिर फुत्केला भन्ने अर्को ठुलो डर । त्यहाँ पुग्दा अनुहारको मांशपेसीले छोएको नथापाउने भैसकेको थियो ।
तोकिएको समय भन्दा ढिलो आयो । जोडसंग सिरेटो चल्यो । अनुहारमा एकैचोटी हजारौं बारुलाहरुले चिलेजस्तो भयो । मुटु थुरुरु काँप्यो । तलमाथिका दाँत एकापसमा ठोकिएर कट्कट् बज्न थाले । बस स्टप नजिकैको घरको मुलढोका बाहिर कुनामा भित्तोतिर फर्केर धेरैबेर उभिए । पाँच मिनेट कुरेपछि बल्ल बस आयो । बस खाली थियो ।
नेपालबाट एडमन्टन, क्यानाडा झरेको १५ दिन जति भएको थियो । एउटा पेट्रोल पम्पमा काम पाएको थिए । डाउनटाउनमा थियो डेरा । लगभग बत्तीस किलोमिटर दक्षिणमा पर्दथ्यो काम गर्ने थलो । बिहान सात बजे नै काममा पुगिसक्नु पर्दथ्यो ।
नयाँ ठाँउ । नयाँ काम । नयाँ अनुभव । मन पुलकित नै थियो । तर त्यो दिनको चिसोको पहिलो अनुभवले दिमागको नक्सा नै बदलिदियो । कामबाट फर्केपछी म भन्दा एक दुइ बर्ष अघि पुगेका साथीहरुलाई फोन गरे र जाडोको अनुभब सुनाए । उनीहरु हाँस्नु हाँसे ।
‘दाँया बाँया हैन, खुरुक्क लाइसेन्स निकालेर गाडी किन’, एक मिनेटको हाँसो रोकिए पछि कमलले भने । आँफुले गाडी किनिसकेका थिए । मेरो लागि कोठा खोज्ने र ग्रोसरी गर्ने लगायतका कामहरुमा सहायोग पनि उनैले गरेका थिए ।
त्यसैदिन उनले गाडी सिकाउने एउटा इन्डियनको फोन नम्बर दिए । ज्यानमारा जाडोयाम सकिदै गर्दा मैले पनि रजिस्ट्रीबाट अनलाइन जाँच दिएर लिखित पास गरे। नेपालको लाईसेन्स बुझाएपछि रोड टेस्टमा जान दिन्थ्यो । मैले पनि नेपालको नागरिकको सुविधालाई प्रयोग गरेर मोटरसाइकलको लाइसेन्समा कारको एउटा टिकमार्क थप गराएको थिए ।
फोन गरेको तिस मिनेट नहुदै गाडी सिकाउने मान्छे घरबाहिर आएर फोन गर्यो । दुइसय डलरको चेक समातेपछि मलाई स्टेरिंगमा हात राख्न दियो । त्यो दिन उसले अति नरम स्वरमा बोल्दै सिकायो । एउटै खुट्टाले ब्रेक र एक्सिलेटर हान्न सिकायो। दाँया बाँया हेर्न, मिरर चेक गर्न सिकायो । यो सबै भित्रि बाटोमा गराएको थियो । बाटो खालि थियो । करिब चालिस मिनेटपछि एउटा नोटबुकमा मेरो नामको इनिसियल गर्न लगायो र आफ्नो खातामा एक घण्टा जोड्यो ।
अर्को दिनदेखि उसले सिकाउने भन्दा कैयौ गुणा बढी हेपाहा प्रबिधि देखायो । एकपल्ट उसले राइट टर्न भन्दा मैले लेफ्ट झुक्किएर लेफ्ट टर्न गरेछु । ऊ आफैले ब्रेक थिचेर ‘अरे भाई तु सुन्ता किऊ नही, लेफ्ट राइट भी समझ नही आँता, तुझ्से कुछ नही होनेवाला नही हें’ भन्दै राता आँखाले हेर्यो ।
त्यो दिन रिसले मेरो बोलि नै कम्पित भएको थियो। मैले भने ‘गिभ मि माई मनी ब्याक । आई एम डन विथ यु ।’ मेरो पैसा फिर्ता गरिनस भने पुलिसलाई रिपोर्ट गर्छु सम्म भने । ‘अरे भाई आप इत्ना घुस्सा किउ कर्तेहो, सब ठिक होजायगा । चलाओ चलाओ’ भन्न थाल्यो।एक घण्टासम्म केहि नबोलि सिधा सिधा बाटो मात्रै गाडी चलाए ।
अर्को दिनदेखि उसले गाडी सिकाउने भन्दा आफ्नो काममा मलाई ड्राइभर बनाएर डुलायो । कहिले बैंकमा पैसो डिपोजिट गर्न त कहिले उसका आफन्तहरु भेट्न । त्यसपछि कमललाई फोन गरे । ‘तिमीले भनेको मान्छे ठिक रैनछ । कस्तो मान्छेसंग सम्पर्क गरायौ भनेर गुनासो पोखे। उनले आँफुसंग पनि झगडा परेको तर रोड टेस्ट लिने मान्छेसंग उसको लिंक हुने हुदा अलि सजिलो हुनसक्छ भने। पहिलो पल्ट थाहा भयो कि दलालको सेटिंङ्ग संसारको जुनसुकै कुनामा पुगे पनि हुदो रैछ ।
पहिलो पल्ट रोड टेस्ट लिने इन्डियन नै थियो । गाडी राम्रै चलाएको थिए। पहिलो इन्टरसेक्सनमै ‘अरे यार इत्ना सुन्दर लड्की भी नही देखा’ भन्दै जेब्रा क्रसिङ्गको पारीपट्टी पोलको छेउमा उभिएकी केटीलाई देखायो । मलाई त्यतिबेलै थाहा भयो कि खसोखास फेल भए किनभने पैदलयात्रीलाई नरोकेको खण्डमा सिधै फेल हुन्थ्यो। नभन्दै त्यहि कारणले म फेल भए ।
उसैदिन अर्को दिनको लागि रोड टेस्ट बुक गर्न लगाए। एकातिर समयको बर्बाद अर्कोतिर पैसो । अर्को दिन दुइदिन पछि रोड टेस्ट लिने रुटमै एकघन्टा जति चलाएर बल्ल रोड टेस्टमा गए । पहिलेको भन्दा आत्मविश्वास झन् घटेको थियो । डराई डराई चलाउदा झन् धेरै सानातिना गल्ति हुन गए । तर यो पल्ट भने बल्ल बल्ल पास भैयो ।
त्यसपछि भयो गाडी खोज्ने कर्म । न गाडीको ब्रान्डको बारेमा थाहा छ न साइज र मोडेल। पहिला गएका साथीहरु धेरैले सेकेण्डहेन्ड होन्डा, टोयोटा र हुन्डाईका गाडीहरु चढेका थिए । उनीहरुले नै किजिजी नामक वेबसाइटमा मलाई गाडी खोज्न सिकाए । डिलरहरुमा पुराना गाडीहरु पनि महँगा थिए । झन् नयाँको त कुरै छोडौ । क्रेडिट हिस्ट्री नबनिसकेको हुदा कारको लागि ऋणपनि नपाउने ।
झन्डै झन्डै महिनादिन खोजेपछि दुई हजार सेकेन्डहेन्ड निसान कम्पनीको ‘मुरानो’ घर अगाडी खडा गरे । जम्मा जम्मी त्यसको मूल्य साढे पाँच हजार क्यानेडियन डलर पर्यो। त्यो बेला त्यति नगद पैसो मेरो लागि ठुलै रकम थियो । नेपालमै स्कुल पढाएर कमाएको पैसोले काम गर्यो ।
अब सुन्नुस्, सुरुसुरुमा गाडी चलाउदाको अनुभब। दुई चार दिन गाडी घरै छोडेर बसमा चढेर काममा गए । नजिक ग्रोसरी गर्न जाँदा अनुभबी साथीहरुलाई साथमा राखेर हिडाले केहिदिन । त्यसपछि अलि कन्फीडेन्स बढ्यो र काममा लैजान थाले। नेपालमा हान्ने गोरुले झैँ एकोहोरो सिधा अगाडी मात्र हेरेर चलाउने बानि बसेको काँधमाथि टाउको घुम्दै घुम्दैन । सुरु सुरुमा लेन चेञ्ज गर्दा थुप्रै पल्ट माझि औला देखेको छु । शुरु शुरुमा त के भनेको होला भन्ने सम्म थाहा थिएँन । पछि पछि थाहा हुदै गयो गाडी चलाउने बेला माझी औलाको कति महत्व हुन्छ ।
फेरी आयो अर्को फसाद । काममा पहिलोपल्ट गाडी लगेर फर्केको दिन पार्किङ्ग गर्दा मेरो गाडीले छिमेकोको गाडीलाई हिपमा किस गर्यो । सेतो होन्डासिभिक नयाँ गाडी परेछ । यस्तो अवस्थामा के गर्ने भन्ने सम्म हेक्का भएन । त्यो दिन डरले गाडी बाटोको छेउमा लगेर पार्क गरे। तिन दिनपछि गाडीको मालिकले थाहा पाए छ। मेरो गाडीको अगाडी पनि थोरै स्क्र्याच भएको थियो । देखिहाल्यो । सरासर आएर ढोका हान्यो ।
भियतनामी मुलको मान्छे रहेछ । ‘तुरुन्त गाडीको मर्मत गर्ने पैसा दे’ भन्न थाल्यो । मैले ‘मेरो गाडीले हैन, मलाई थाहा छैन’, भने । उसले रिसाउदै पुलिस रिपोर्ट गर्छु भन्न थाल्यो। पुलिसको कुरा सुन्दै डर लाग्यो । नियम कानुन केहि थाहा थिएन । मैले कति पैसा लाग्छ भनेर सोधे। उसले ’बोडिसपमा गएर सोधेर आउछु’ भन्दै बाहिर गयो ।
मेरो कोठा भन्दा ठिक तल एउटा इन्डियन केटा बस्दथ्यो। हेर्दै स्मार्ट थियो। फेरी फेरी नयाँ गाडी चलाउथ्यो । पहिले कहिले नबोलेको भएपनि उसलाई भेटेर सबै कुरा सुनाए । ऊ बाहिर निस्केर मेरो गाडी हेर्यो र भन्यो, ‘अगर उस्ने हन्ड्रेड से ज्यादा मांगा न बोल्ना कि, जावो पुलिश को रिपोर्ट करो । तुमे कुछ नही होगा ।’
थोरै नदेखिने दाग लागेको थियो उसको गाडीमा। आधा घन्टामा स्टिमेट गरेको कागज लियर आयो र मलाई दियो । त्यसमा आठसय डलर लाग्ने देखाएको थियो । ‘आई डन्ट पे दिस मच मोनी, गो टु रिपोर्ट द पोलिस’ मैले भने । उसले मलाई निकै घुरेर हेर्यो र मेरो हातबाट कागज तानेर आफ्नो कोठातिर गयो । त्यो दिन डरै डरमा बित्यो । रातभरी निन्द्रा लागेन । अर्को दिनभर पुलिस नआएपछि बल्ल ढुक्क भयो । तर त्यसलाई भेट्दा भने पछिसम्म मन झसङ्ग हुन्थ्यो । त्यो घ
टना भएको १५ दिनमा अर्को तनाव आइलाग्यो । १०९ स्ट्रीट हुदै साउथबाट घर जादै थिए । झमक्क रात पर्ने बेला भएपनि स्ट्रीट लाइटले गर्दा बाटो उज्यालो नै थियो । १०७ एभेन्युबाट राइट मोडेर १०८ स्ट्रीटमा लेफ्ट जानु पर्ने थियो । बाटो खालि देखेर राइट मोद्दा बित्तिकै दोस्रो लेनमा जादै थिए एक्कासी वेस्टतर्फबाट गाडी ठोक्किएला झैँ गरेर एकदम नजिकै आयो । मैले स्टेरिंङ्ग व्हिल अलि ज्यादै मोडेछु क्यारे गाडी बाटो छोडेर सडक छेउको रुखमा गएर ठोक्कियो। रुख धेरै ठुलो नभएकोले सडक पेटीमा ढल्यो । त्यसपछि गाडी झन्डै अगाडीको बिजुलीको पोलमा गएर ठोक्किएन । कसो कसो गरेर गाडी बाटोमा झारेर अगाडी एउटा प्लाजाको पार्किङ्ग लगेर रोके ।
अगाडिको बम्पर र साइडलाइट सबै झाराम्झुरुम भएको थियो । ‘के गर्ने, कसो गर्ने एकछिन अलमलमा परे । अत्यधिक चिसोले गर्दा ओरिपरि चरामुसोसम्म थिएन । इमर्जेन्सी नम्बरमा पुलिसलाई कल गरे । घाइते तथा अर्को गाडीसंग ठोकिएको दुर्घटना नभएकोले गर्दा लोकल पुलिस चौकीमा गएर रिपोर्ट गर्न भन्यो ।
बुढीलाई फोन गरेर सबै विवरण सुनाए । त्यसपछि १०६ स्ट्रिटमा भएको पुलिस चौकी गएर घटनाको बारेमा बताए । त्यो बेला म कति नर्भस भएको थिए त्यो अझैपनि मेरो मानसपटलमा ताजै छ । सायद मेरो मनोदशा देखेर हो कि पुलिसले पनि एक हजार भन्दा तलको ड्यामेज रहेछ । रिपोर्ट गर्न पर्दैन भन्यो । त्यसपछि गाडी घरमा लागिन । अलि टाडै भित्रि बाटोको छेउमा लगेर पार्क गरे । घरको पार्किङ्गमा लगेर अरुलाई दशा देखाउन लाज लाग्यो ।
गाडीको तेस्रो पार्टी इन्सुरेन्स गराएको थिए सस्तो पर्ने भएकोले । मर्मतखर्च आफैले ब्योहोर्न पर्ने भयो । जम्मा जम्मी तिन हजार डलर खर्च लाग्ने भयो । पाँचहजारमा किनेको गाडी महिना दिन नहुदै तिनहजार तिरेर मर्मत गरे । मेरो गाडी चड्ने रहरको पनि मर्मत भएको अनुभव गरे ! कैयौ दिनसम्म त्यो रुख ढलेको ठाँउबाट उठेन । नहटाउदा सम्म मनमा डर भैरह्यो कतै पुलिसले फोन गरेर फाइन ठोक्छ कि भन्ने। करिब पाँच बर्षजति त्यहि गाडीले मेरो साथ् दियो ।
अहिलेपनि हिउँ परेकोबेला गाडी चलाउदा त्यो दिनको घटना सम्झिन्छु । अनि मनमनै भन्ने गर्छु- विदेशका बाटा चिल्ला मात्र हैन, चिप्ला पनि हुदारहेछन । मन्त्री मात्र होइन पजेरो चड्ने, भाँडा माझ्ने पनि बिएमडब्लुमै गुड्दारहेछन् ।
- दिलिप पौडेल – टोरोन्टो, क्यानाडा