Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

मनमा एउटा खुल्दुली लागिरहन्छ, अँ साँच्चै हामी नेपालीहरुले फेसबुकभरी अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई लेखेका बधाई सन्देशहरु उनले हेर्लान पढ्लान् बुझ्लान् कि के गर्लान् १ यस्तै यस्तै चलन छ हामी नेपालीहरुमा हिजोआज प्रायः सम्बन्धित सरोकार राख्ने या आफूसँग प्रत्यक्ष गाँसिने बिषयबस्तुसँग चाँसो गुनासो अनि खोजबिन गर्दा त राम्रै हुन सक्ला, उक्त समय अर्थपूर्ण नै रहला तर यस्ता सरोकार या सम्बन्ध नै नभएका बिषबस्तुहरुमा हामी नेपालीहरु मात्रै चाँसो दिने हौला कि अन्य देशका युवाहरु पनि होलान् । जान्ने ईच्छा लागिरहन्छ मनभरि ।

यसरी लेखिरँहदा खुशीका बिम्बहरु त ठीकै हुन् तर आँशूका सागरहरु पनि छताछुल्ल पोखिदिन्छौं । सकारात्मक सन्देश मिल्छ त राम्रै होला तर कहिले कँहि लासका तस्विरहरु, चित्ता जलाउँदै गरेका सेल्फिहरु पनि पोष्ट्याईदिन्छौ र पो । खुशीका साथै मनको आबेग या कुण्ठा पोख्ने गतिलो माध्ययम बनेको छ हिजोआज फेसबुक । यसै माध्ययमलाई सहि प्रयोग गर्नेहरुले समाजमा राम्रै परिचय पनि नबनाएका होईनन् तर, गलत प्रयोग गर्नेहरु यहिबाट नाङ्गिएका पनि छन् समाजमा ।

सत्ता शक्ति अनि सम्पत्तिको समिकरण मिलिरहँदा पनि हामी नेपालीहरुलाई भने बर्षौ देखि पिसोलिरहेको छ फोहोरी राजनीतिले । कतै यहि समिकरण मिल्दा स्वर्ग जस्तै बनेको छ मरुभूमि पनि । आज २१औं शताब्दीमा पनि हामी सुस्ताईरहेछौं । दुनिया बेजोड कुदिरहेको छ । हामी अरुहरुको गुणगानमा घण्टौ गफिन्छौं । अरुको राम्रो काममा बहुत लोभिन्छौं पनि । अनि अर्काकै प्रगतिको प्रशंसा र गुणगान गरेर कहिल्यै थाक्दैनौं पनि । जसरी अरुहरुको कुरा काट्दा रमाईलो मान्छौ त्यो भन्दा अझ मज्जा त साथीभाईको गुणगानमै समय बिताईदिन्छौं । अरुहरुकै गुणगानमा घण्टौ खर्चिनु भन्दा उसका सबल र सकारात्मक पक्षहरुलाई पछ्याएर आफू पनि अघि बढ्ने हिम्मत किन गर्दै गर्दैनौं ।

नुनको सोझो त गर्नै पर्छ जहाँ जहिले जसरि रहे पनि तर नखाएको नुनको पनि ब्याज तिरिरहन्छौ हामी । भैंगो अमेरिकामा बस्नेहरुले त नवनियुक्त राष्ट्रपतिलाई बधाई सन्देशहरु सन्जालहरुमा चढाईदिए ठिकै छ तर हामी नेपालमै बस्नेहरु पनि धमाधम बधाईका सन्देशहरु चढाईरहेका छौं । ईतिहासले दासहरुको उन्मूलन भईसकेको भन्दै गर्दा हामीहरु अझै पनि ठूला बलिया र राम्राहरुका दास झैं बनिरहेका त छैनौं कतै । निर्बल, गरिब अनि नराम्राहरुलाई मान्छे नगन्ने मानसिक रोगी त बन्दै छैनौं हामी ।

हुनसक्छ यो कुनै देशप्रतिको बितृण्णा होला,संस्कार प्रतिको अस्वीकृति होला,राजनीतिप्रतिको घृणा होला अनि बिचारप्रतिको बेमेल पनि हुन सक्छ । एकातिर देशमा धेरै राजनितीक प्रणालीहरु परिबर्तन भईसक्दा पनि संस्कार परिवर्तन हुन नसक्नु,बिकाश नहुनु,जनताको जीवनस्तर उठ्न नसक्नु, शिक्षा, स्वास्थ्य र रोजगारका सपना देखाउँदै जनमत लुटुरहनु भने अर्कातिर छिमेकी साथै अरु देशहरुले हाम्रा आँखै अ गाडी नसोचेको बिकाश गरिरहनुले पनि दमित आकांक्षाहरुलाई मनको स्वतन्त्र बिराशतबाटै वेसरोकारका बिषयबस्तुमा यस्ता बधाईका सन्देशहरु पोखिएका होईनन् कतै ? कागलाई बेल पाक्यो हर्ष न बिस्मत ।

देशमा बसेर नेपाल स्वर्ग हो भन्दै गर्दा किन मनै अमिलो बनेर आँउछ परदेशबाट देश नियालेपछि ।अनि किन देश बिकाश नहुनुमा नेताहरुको उमेरलाई दोष मात्रै दिन्छौ हामी । देश बलियाहरुले धकेलेर या उचालेर अघि बढाउँने जिनिस पनि त होईन। संसारका अघि बढेका देशहरुमा बृद्ध नेताहरुबाटै पनि त यहाँसम्म बिकाश संभब भएका देखिन्छन् । न त नेताको उमेरले रोकिएको छ कुनै देशको बिकाश न त कुनै तन्त्र र बादमा छेकिएको छ देशको प्रगति गर्नेहरुलाई । रैछ ईच्छा शक्ति मात्र गर्नेहरुको लागि ।

एकातिर देशमा भएका नेताहरुको पक्षमा कुनै स्वतन्त्र नेपालीहरुले खुलेर जयजयकार गर्नै नसक्नु या सकारात्मक प्रतिकृया नदिईरहनु भने अर्कोतर्फ राजनीतिमा समर्पित भएका युवाहरुले नेतृत्वको गलत कृयाकलापमाथि औला उठाउन नसक्नु या नकारात्मक टिप्पणी गर्नै र सुन्नै नचाँहनुले पनि देशका युवाहरुको क्षमता र दासतालाई स्पष्ट बुझ्न सकिन्छ । किन निश्चित चक्रब्यूहमा घुमिरहन्छ हाम्रो राजनीति । किन तिनै पात्रहरुलाई पुजिरहन्छन् एक युवा जमात् । किन दोहोरिरहन्छन् चलचित्रमा झैं उहि अनुहारहरु । किन एउटै सिरियल जस्तो कथा लम्बिरहन्छ हाम्रो राजनीतिमा । किन असक्षमहरुको भिड भोगिरहेछौ हामी बर्षौदेखि । किन पल्टाउन सकिरहेका छैनौ यो प्रदुषित राजनीति । गाडी गुडाउन नसक्नेहरुले किन ओगटीरहन्छन् स्टेयरिङ ।

समय बदलिसकेको छ दुनिया फरक धारमा दौडिसकेको छ।हामी भने अझै पनि पुरानै सोंचबाट ग्रसित छौं । संसारको जुन र जतिसुकै बिकशीत राष्ट्रमा गएर बसे पनि किन छोड्न र छोडाउन सकिरहेका छैनौं आडम्बरीपन । किन सिक्न सकिरहेका छैनौ त्यँहाको सभ्य र अनुशासित संस्कारहरुलाई । हामी जहाँ जान्छौ त्यही किन बोकेरै लान्छौं खिया लागेका हँसिया हतौडा, छहारी ताप्न खोज्छौं उहि पुरानो रुखबाट शीतलता अनि त्यहि घामको न्यानो । अँह कहिले बुझेनौं हामीले मानिसले क्षितिज फेर्दा त्यँहाको आकाश फेरिन्छ भनेर, विकसित देशमा खियायुक्त हँसिया हथौडा काम हुन्न भनेर अनि, सुकिसकेका रुखहरुले समाजमा दुर्घटना निम्त्याउँछ भनेर ।

अब पनि सरकार फेरिएर संस्कार फेरियन भने, युवाहरुमा त्यहि नै पुरानो प्रदुषित राजनीति पुस्तान्तरण हुँदै गयो भने, युवाहरुले त्यहि पूरानो हाँगा, मधूरो घाम, खिया लागिसकेको हथौडाहरुको चाँकडीमा भूलिरहे भने सायद देश देशै नरहन सक्छ । पार्टी पार्टी नरहन पनि सक्छ । कैले हुने नेपाली युवाहरु स्वाभलम्बी, कैले देखिने देश देश जस्तै अनि कहिले भरिने हो सर्वहाराका भोकापेटहरु । कहिले पाँउने वा ल्याउँने हो जनताको नेता । कहिले हुने हो मेरो देश नेपाल यता (जापान) जस्तै उता । बाँकी अर्को अंकमा…

  • मोहनप्रसाद खतिवडा -चिवा, जापान
तपाईको प्रतिक्रिया