Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

मानिस जब आफू बलियो हुन सक्दैन् या सम्पन्नता हुन सक्दैन त्यतिबेला मान्छेले शत्रु भएपनि आफ्ना आफन्तहरुकै नाम लिने रहेछ । एउटा गरिब भतिजले धनी काकाको नाम लिएर आफ्नो गरिबी भुल्छ केहि क्षण भएपनि । समाजमा धनी र सम्पन्नताको नाम लिँदै त्यो त मेरै छिमेकी हो, मेरै दाई हो, भाई हो, मामा काका हो यस्तै गफगाफ सुनिन्छ समाजमा । तर जब त्यो गरिब धनी बन्दछ अनि उसले कहिल्यै भन्दैन त्यो गरिब मेरो आफन्त हो, भाई, भतिज,काका मामा हो भनेर ।

देश यतिबेला राष्ट्रबादको नाराले खोक्रिरहेको छ । हामी भन्छौं या जताततै सुनिन्छ वीर भक्ति थापा जन्मेको देश हो हाम्रो, वीर गोर्खालीहरुको भूमि हो नेपाल । बुद्ध जन्मेको पबित्र भूमि । सगरमाथा हाम्रै देशमा छ । संसारका नाम चलेका वीर गोर्खालीहरु हौं हामी । हामी वीर छौं संसारका कसैसामु झुकेका छैनौ आजसम्म पनि ।

इतिहासका सकारात्मक कदमहरुलाई सहि पथ प्रदर्शकहरुलाई अंकित गर्दै मिठो सपनामै भुलिरहेछौं हामी । सकारात्मक इतिहासको हवाला दिदै गर्दा तितो र बिषाक्त वर्तमानमा बाँचिरहेका छौं हामी । राष्ट्रियता र राष्ट्रवादको आडम्बरले मदहोस् बनिरहेका हुन्छौ दिनानुदिन । अझैं देश छाडेर परदेशिनेहरु त नेपाली भएकोमा गर्व गर्दै सगरमाथाको देशको मान्छे बुद्ध भूमिको मान्छे भन्दै पटकपटक विदेशी चिल्ला सडकहरुमा फुस्रा पैतालासहित नेपाली झण्डा लिएर बिज्ञापन गरिरहेका पनि हुन्छौं ।

पर्यटन प्रबर्द्धनको हिसाबले परदेशमा देशलाई चिनाउनु एक अर्थमा सहि पनि हो तर, त्यहि पर्यटनहरु देशमा जाँदा एअरपोर्टबाट ठगिन सुरु हुन्छ । देशको राजनीतिक खिचातानीको परिणाम पर्यटकहरुमा पर्ने गर्छ । अझै कहिले कँहि त पर्यटकहरुको लुटपाट र हत्या भएको समाचारहरु आउँने गर्छन् कैंयौ मिडियाहरुमा । सडकभरि जताततै फोहोरमैला, अव्यवस्थित शहर, अस्वस्थ्य खानपिन आदि ईत्यादि कुराहरुले समग्र नेपाल जाने पर्यटनहरुको कस्तो छाप पर्ला यो एउटा गम्भिर चुनौति बनेको छ देशको लागि ।

                मोहनप्रसाद खतिवडा

देश छोडेर विदेशीनेहरुले जति धेरै राष्ट्रबादको वकालत गरिरहन्छन् देशमा हुनेहरुले सायद त्यति धेरै नगर्लान् पनि । सायद राजनीतिक चिल्ला भाषण, झुटा काम र आश्वासनले निम्त्याएको बितृष्णा पनि हुन सक्ला यो । तर जबसम्म देशको समग्र बिकास उन्नति प्रगति हुँदैन । त्यसबेलासम्म राष्ट्रियता र राष्ट्रबादले खासै ठूलो महत्व राख्दो रहेनछ पनि ।

संसार २१औं शताब्दीको घोडेदौडमा दौडिरहेको छ । कसले दौड जित्ने होडबाजीमा लागिरहेका छन् विश्वका नेतृत्वहरु । आफ्नो राष्ट्र र राष्ट्रबादलाई समयको महत्व, शताब्दीको माग, देशको सुरक्षा राष्ट्रको उन्नति र प्रगतिसँगै जोड्न सकेमात्र राष्ट्र र राष्ट्रियता बलियो हुने रहेछ यो शताब्दीमा चैं ।

देशका सबल नेतृत्वले परचक्रीसँग अंकमाल गरिरहँदा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको रक्षा, आफ्नो मुलुकको स्वार्थसिद्ध साध्न सकेमात्र देश अघि बढ्ने कुरा संसारका केहि मुलुकहरुले दोश्रो मुलुकसँग सन्धि सम्झौता गर्दा देखाईसकेका छन् भने सायद हाल चलिरहेको एमसीसीको मुद्दा पनि यसै अन्तर्गत पर्ने केहि जानकारहरुले बताईरहेका छन् ।

पङ्तिकार जापानमा बिगत केहि बर्षदेखि रहँदै–बस्दै गर्दा यस देशको आर्थिक उन्नति, भौतिक संरचना, बिकासका उच्च संरचनाहरु, राज्यबाट आफ्ना नागरिकहरुको सम्पूर्ण जीउधनको सुरक्षा या राज्य जनताप्रति पूर्ण ईमान्दार अनि जनता पनि राज्यप्रति शत प्रतिशत बफादार भईरहँदा मात्र साँच्चै देश देश भन्न लायक र घर जस्तै लाग्दो रहेछ भन्ने पूर्ण अनुमान लगाउँन सकिन्छ नै ।

जापानीहरु देशप्रति शत प्रतिशत बफादार रहन्छन्, भन्छन्- ‘म जापानी नागरिक हुँ यसैमा गर्व लाग्छ ।’ ‘संसारकै अब्बल आफ्नो पासपोर्टमा प्रति गर्व गर्छन् । रोजगारीको लागि युवा अरु देश पठाउँनु भनेको देश झन् झन् गरिब हुँदै जानु हो एकअर्थमा राष्ट्रबाद कमजोर बन्नु हो भन्छन्’ जापानी प्रोफेसर होरागुचि पनि । देशभित्रै आफ्ना नागरिकलाई रोजगारी श्रृजना गरि नपुग जनशक्ति जबसम्म देशले अर्को मुलुकबाट भित्र्याउँन सक्दैन या युवाशक्तिलाई आर्थिक रुपान्तरणमा लगाउँन सक्दैन तबसम्म राष्ट्रियता सँधै अपरिपक्व नै हुन्छ नै ।

यो बलियाहरुको युग हो, विकसितहरुको युग हो, अनि सम्पन्नताको शताब्दी हो । अब यहाँ कमजोरीहरुलाई कुनै रामराज्य जस्तो छुट या आममाफी पनि छैन । सदियौंदेखि गरिबहरु धनीको चक्रब्यूहमा परि घरखेत परिवार अनि देशै गुमाएका प्रशस्त उदाहरणहरु पाईन्छन् पनि । राष्ट्र–राष्ट्रबाद र राष्ट्रियता पनि यहि प्रक्रिया न हो । यो शक्ति, सम्पन्नताको समय हो जो समय र समाजको पौठेजोरीमा विजय हुन् सक्दैनन् तिनीहरु नै डाईनोसर जस्तै बिलाएर जानेछन् ।

अब सोचौं अनि भनौं- मेरो देश, म नेपाली, म राष्ट्रवादी भनिरहँदा हामी के साँच्चै यस्ता कुराहरुमा दुँनिया देखेर बुझेर भनिरहेका छौ या मन बहकाउन परदेशमा देशको गन्थन मात्रै गरिरहन्छौं त ! अन्त्यमा एक पटक फेरि छातीमा हात राखेर भनौं- म मेरो देश र मेरो राष्ट्रियता बलियो नै छ त ?     (हाल टोकियोमा रहेका लेखक खतिवडा पूर्वपत्रकार हुन्)

तपाईको प्रतिक्रिया